इरानका मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि समारोह सुरु

175
Shares

एजेन्सी । इरानका मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको पार्थिव शरीर शुक्रबार तेहरानको एउटा विशाल हलमा राखिएको छ । त्यहाँ धर्मगुरुहरू, अधिकारीहरू, विदेशी पाहुनाहरू र अन्य शोकाकुल मानिसहरूले उनको ३७ वर्षको शासनपछि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चार महिनाको युद्धको सुरुवातमा फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणमा मारिएका खामेनेईका लागि इरानले एक हप्ता लामो विशाल शवयात्रा आयोजना गरिरहेको छ । त्यो इस्लामिक गणतन्त्रको ईश्वरतान्त्रिक राज्य र क्रान्तिकारी जोशप्रति सार्वजनिक भक्ति प्रदर्शन गर्ने एउटा माध्यम हो ।

खामेनेईको शरीरलाई बिहीबार देशको सबैभन्दा पवित्र तीर्थस्थल रहेको मसादमा अन्त्येष्टि गरिनुअघि इरान र इराकका महान सिया केन्द्रहरू कोम, नजफ र कर्बलामा लगिने अपेक्षा गरिएको थियो ।

बिहीबार ढिलो गरी उनको कफिन रुँदै गरेका समर्थकहरूको भीडमा सार्वजनिक गरिएको थियो जहाँ मानिसहरू शोक गीतको तालमा हल्लिँदै र आफ्नो टाउको पिट्दै थिए भने शव बोकेको खटबाट भीडमा फूलहरू फ्याँकिँदै थियो । शुक्रबार उनको कफिन र उनीसँगै मारिएका परिवारका सदस्यहरूको कफिनलाई उनका पूर्ववर्ती आयातोल्लाह रुहोल्लाह खोमेनीको सम्मानमा निर्माण गरिएको विशाल प्रार्थना हलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

यो अन्त्येष्टि इरानका लागि महत्त्वपूर्ण मोडमा आएको छ जहाँ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थन प्राप्त धर्मगुरु शासकहरूले आफ्ना सबैभन्दा ठूला र शक्तिशाली शत्रुहरू विरुद्धको अस्तित्वको लडाइँबाट बाँचेको महसुस गरिरहेका छन् ।

तर, सन् १९७९ को क्रान्तिको झण्डै पाँच दशकपछि र खामेनेईको अन्त्येष्टिको पूर्वसन्ध्यामा राष्ट्रिय एकताका सबै आधिकारिक उद्घोषका बावजुद इस्लामिक गणतन्त्र यसअघि विरलै मात्र यस्तो आन्तरिक रूपमा विभाजित भएको थियो । धर्मगुरु नेतृत्वको समर्थन निकै कमजोर रहेको विश्लेषकहरू बताउँछन् र नयाँ सर्वोच्च नेता, खामेनेईका छोरा मोज्तबा खामेनेई, आफ्ना बुवा मारिएको आक्रमणमा घाइते भएदेखि कुनै पनि नयाँ तस्बिरमा देखिएका छैनन् ।

वर्षौंदेखिको कडा प्रतिबन्धले अर्थतन्त्रलाई अपांग बनाएको छ भने देशभरि भइरहेका विशाल विरोध प्रदर्शनहरूलाई सुरक्षा बलहरूले बढ्दो बल प्रयोग गरेर दबाएका छन् जसको उत्कर्ष जनवरीमा हजारौं प्रदर्शनकारीहरूको हत्यामा भएको थियो ।

ती गहिरा समस्याहरूलाई यस हप्ता किनारा लगाइएको छ र अधिकारीहरूले राज्यको शक्ति र जनसमर्थनको प्रदर्शन गर्दै अन्त्येष्टिमा सहभागी हुन लाखौं शोकाकुल मानिसहरूलाई परिचालन गरेका छन् । तेहरानका सडकहरू कडा नियन्त्रणमा थिए जहाँ मुख्य सडकहरूमा सेना र प्रहरीका सवारी साधनहरू लामबद्ध थिए भने प्रहरी र कालो शर्ट लगाएका स्वयंसेवक बासिज अर्धसैनिक बलका सदस्यहरूले मोटरसाइकलमा गस्ती गरिरहेका थिए ।

इरानले अमेरिका र इजरायलयलाई अन्त्येष्टिको समयमा कुनै पनि आक्रमण नगर्न चेतावनी दिएको छ ।

शुक्रबार पर्खिरहेका भीडको हात–हातबाट माथि उठाइँदै कफिनहरू आइपुगेपछि तिनलाई प्रार्थना हलमा सेतो रङको सिँढीदार मञ्चमा राखिएको थियो । त्यसको पछाडि कलात्मक टायलले बनेको उच्च मेहराब थियो र दायाँ–बायाँ राष्ट्रिय तथा कालो शोक झण्डाहरू थिए ।

इस्लामका पैगम्बर मोहम्मदको वंशज भएको दाबी गर्ने धर्मगुरुहरूले लगाउने कालो पगडी, कफिनमाथि पट्याइएको चेकर स्कार्फमा राखिएको थियो जुन इरानमा जुझारू क्रान्तिकारी आदर्श र प्यालेस्टिनीहरूसँगको एक्यबद्धताको प्रतीक हो ।

रुस र चीनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको थियो । अन्त्येष्टिका लागि इराक, आर्मेनिया र पाकिस्तानका शीर्ष राजनीतिज्ञहरू तेहरान आइपुगेका छन् । इजरायली आक्रमणमा मारिएका इरानका नजिकका लेबननी सहयोगी हिजबुल्लाह नेता हसन नसरल्लाह र वरिष्ठ कमान्डर इमाद मुगनियाका परिवारहरूले समारोहमा भाग लिएका थिए ।
इरानका आफ्नै राजनीतिक नेताहरू राष्ट्रपति, संसद्का सभामुख, विदेशमन्त्री र अन्यहरू शुक्रबार बिहान रुन र प्रार्थना गर्न त्यहाँ पुगेका थिए ।

इरानको ईश्वरतान्त्रिक प्रणालीमा खामेनेई राज्य प्रमुख र क्रान्तिकारी आन्दोलनका नेता मात्र नभई नवौं शताब्दीमा बेपत्ता भएका सिया इस्लामका १२ औं इमामको पृथ्वीमा प्रतिनिधि पनि थिए । शत्रुको आक्रमणमा भएको उनको मृत्युले सियाहरूको शहादत र शोकको शक्तिशाली परम्परालाई बल पुर्याउँछ जसमा जुलुसमा हिँड्नेहरूले आफ्नो छाती पिट्ने गर्छन् ।

उनको मृत्युपछि शहरका सडकहरूमा झुण्डिएका कालो शोक झण्डाहरूमा सातौं शताब्दीमा सिया धर्मका तेस्रो इमाम होसैनको शहादतलाई सन्दर्भ बनाइएको छ जसमा त्यो शक्तिशाली प्रतीक प्रस्ट देखिन्थ्यो ।

मध्य तेहरानमा रातभरि एक बासिज सदस्यको नेतृत्वमा भीड रुँदै र नारा लगाउँदै उभिएको थियो भने अरूले दिवंगत खामेनेईका पोस्टरहरू बाँडिरहेका थिए । ‘ईश्वरले चाहनुभयो भने उनको रगतको बदला लिएर त्यसको लागि न्याय मागेर र हाम्रो नेताको रगतको बदला बाँकी नरहने कुरा सुनिश्चित गरेर मात्र जनताको यो दुःख अलिकति कम हुन सक्छ,’ आफ्ना सहपाठीहरूसँग अन्त्येष्टि कार्यक्रममा सहभागी हुन इस्फहानबाट आएकी १८ वर्षीया छात्रा मोबिना रजाघीले भनिन् ।

खामेनेईसँगै मारिएका र उनको कफिनको छेउमै राखिएकाहरूमा उनकी छोरी, ज्वाइँ र नातिनीका साथै उनका छोरा मोज्तबाकी पत्नी थिए ।

इस्लाममा मृत्यु भएको एक दिनभित्र अन्त्येष्टि गरिनुपर्ने मान्यता छ तर युद्धको समयमा ठूलो अन्त्येष्टि गर्दा हुने जोखिमका कारण गत महिनाको अन्तरिम युद्धविराम सम्झौता नभएसम्म यसलाई स्थगित गरिएको थियो ।

होटलहरूले ५० प्रतिशत छुट दिइरहेका छन्, विद्यालय, मस्जिद र खेलकुद हलहरू शोकाकुल मानिसहरूलाई बस्नका लागि तयार पारिएका छन् भने बस र रेल नेटवर्कहरू मुख्य कार्यक्रमहरूका लागि डाइभर्ट गरिएका छन् । सोमबार मध्य तेहरानमा अधिकारीहरूले दाबी गरे अनुसारको विशाल शवयात्रापछि, पार्थिव अवशेषहरूलाई मंगलबार समारोहका लागि इरानको सिया पदानुक्रमको केन्द्र मानिने सहर कोममा लगिनेछ ।

त्यसपछि बुधबार इराकका पवित्र शहरहरू नजफ र कर्बलामा समारोहहरू आयोजना गरिनेछ जसमा इरानको क्षेत्रीय सिया प्रोक्सी सञ्जालका प्रमुख व्यक्तिहरूको सहभागिता रहनेछ । अर्को शवयात्रापछि बिहीबार उनलाई इरानमा ठूलो श्रद्धाका पात्र मानिने इमाम रेजाको समाधिस्थल नजिकै मसादमा गाडिनेछ ।