
एजेन्सी । टेस्लाले दोस्रो त्रैमासिकमा सवारी साधनको डेलिभरी र उत्पादनको स्तर वाल स्ट्रिटको अपेक्षाभन्दा धेरै बढी भएको रिपोर्ट सार्वजनिक गरेको छ ।
इलोन मस्कको यो अटो निर्माता कम्पनीले सवारी बिक्रीमा लगातार भइरहेको वार्षिक गिरावटबाट तंग्रिने प्रयास गरिरहेको छ ।
दोस्रो त्रैमासिकका मुख्य तथ्यांकहरू यस प्रकार छन्ः सवारी साधनको कुल डेलिभरी ४ लाख ८० हजार १ सय २६ र कुल उत्पादन ४ लाख ५१ हजार ७ सय ५८ रहेको छ ।
स्ट्रिट एकाउन्टको सहमतिका अनुसार, विश्लेषकहरूले करिब ४ लाख ६ हजार ६ सय डेलिभरीको अपेक्षा गरेका थिए । टेस्लाले गत साता प्रकाशित गरेको कम्पनीको आफ्नै प्रक्षेपणमा भने ४ लाख ६ हजार २४ डेलिभरी हुने अनुमान गरिएको थियो ।
बलियो रिपोर्टका बाबजुद बिहीबार मस्कको ईभी निर्माता कम्पनीको सेयर करिब ७.४९ प्रतिशतले घट्यो । सेयर बजारमा यो लगभग एक वर्षयताकै खराब दिन थियो र विगतका तीनवटा त्रैमासिक डेलिभरी रिपोर्टहरूमा पनि कम्पनीको सेयर लगातार ओरालो लागेको छ ।
गत वर्षको सोही अवधिमा टेस्लाले करिब ३ लाख ८४ हजार डेलिभरी रिपोर्ट गरेको थियो भने सन् २०२६ को पहिलो त्रैमासिकमा यो संख्या ३ लाख ५८ हजार २३ थियो । बिहीबारको तथ्यांकले अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत र पहिलो त्रैमासिकको तुलनामा ३४ प्रतिशतले डेलिभरीमा वृद्धि भएको देखाएको छ ।
टेस्लाले क्षेत्र वा व्यक्तिगत मोडलका आधारमा डेलिभरीको यकिन विवरण नदिए पनि कम्पनीले आफ्नो आधारभूत मोडल ३ सेडान र सबैभन्दा लोकप्रिय मोडल वाई एसयूभीले कुल डेलिभरीको ९७ प्रतिशत अर्थात् ४ लाख ६७ हजार ७ सय ६२ हिस्सा ओगटेको बताएको छ ।
डेलिभरीलाई टेस्लाले बिक्रीको नजिकको तथ्यांक मान्छ यद्यपि सेयरधनीहरूसँगको संवादमा यसलाई स्पष्ट रूपमा परिभाषित भने गरिएको छैन ।
टेस्लाले सवारी साधनको बिक्रीमा भएको लगातार वार्षिक गिरावटबाट पार पाउने प्रयास गरिरहेको छ । यस गिरावटको कारण आंशिक रूपमा विश्वका सबैभन्दा धनी व्यक्ति मस्कप्रति उपभोक्ताहरूको असन्तुष्टि र अमेरिकी संघीय कर छुटको अन्त्य हो ।
मस्कको उत्तेजक राजनीतिक टिप्पणी, युरोपका आप्रवासी विरोधी चरमपन्थीहरूको समर्थन र संघीय जनशक्ति कटौती गर्न ट्रम्प प्रशासनसँगको उनको सहकार्यले केही सम्भावित ईभी खरिदकर्ताहरूलाई टाढा धकेलेको छ ।
यसैबीच बीवाईडी, नियो र साओमी जस्ता चिनियाँ अटो निर्माताहरूले बजारमा धेरै सस्तो र उच्च प्रविधियुक्त ईभीहरू ल्याएका छन् । टेस्लाले दक्षिण कोरियाको हुन्डाई मोटर ग्रुप र फक्सवागन लगायतका युरोपेली ईभी निर्माताहरूबाट पनि बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
बिक्री बढाउन टेस्लाले आफ्का मोडल ३ र मोडल वाईका सस्तो संस्करणहरू बिक्री गर्न थालेको छ । हालै कम्पनीले फुल सेल्फ–ड्राइभिङ ब्रान्ड नाममा आफ्नो ड्राइभर असिस्टेन्स प्रणालीलाई केही युरोपेली बजारहरूमा उपलब्ध गराएको छ ।
यस त्रैमासिकमा कम्पनीका लागि सबैभन्दा ठूलो राहत इरानमा भएको युद्धका कारण अकासिएको इन्धनको मूल्य हुनसक्छ । वर्षको पहिलो ६ महिनामा युरोपेली कार खरिदकर्ताहरूले टेस्ला र अन्य ईभीहरू बढी खरिद गरे ।
अमेरिका र इरानबीचको कमजोर युद्धविराम र द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्ने कूटनीतिक प्रयासका कारण तेलको मूल्य अहिले फेब्रुअरीमा युद्ध सुरु हुनुभन्दा अघिको अवस्थामा फर्किएको छ ।
एलिक्स पार्टनर्सका प्रबन्ध निर्देशक ड्यान हर्सका अनुसार, अमेरिकामा कार खरिदकर्ताहरू पूर्ण विद्युतीय सवारी साधनबाट टाढिएर हाइब्रिड गाडीहरूतर्फ आकर्षित भइरहेका छन् । हर्सले भने, ‘हाम्रो देश ठूलो छ र मानिसहरू एकअर्काबाट टाढा बस्छन् । युरोपको तुलनामा जहाँ चार्जिङ पूर्वाधार राम्रो छ र मानिसहरूले त्यति टाढा गाडी चलाउनु पर्दैन, यहाँको अवस्था फरक छ ।’
वर्षको पछिल्लो ५ महिनामा मुद्रास्फीति, परिवर्तनशील व्यापार नीति, चिप्स र अन्य पाटपुर्जाको बढ्दो लागत अमेरिकी अटो निर्माताहरूका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ, उनले थपे ।
मस्कले टेस्लालाई आफ्नो सेमी इलेक्ट्रिक ट्रकको उत्पादन र बिक्री बढाउन र चालकविहीन साइबरक्याबको उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । कम्पनीले आफ्नो अप्टिमस ह्युमनोइड रोबोटको उत्पादन पनि सुरु गर्ने तयारी गरिरहेको छ ।
पहिलो त्रैमासिकको लगानीकर्ता अपडेटमा कम्पनीले आफ्नो सवारी पोर्टफोलियोलाई अनुकूलन गरिरहेको र पूर्ण स्वायत्त भविष्यका लागि डिजाइन गरिएका सवारी साधनहरूमा जोड दिइरहेको बताएको थियो । कम्पनीले यस वर्ष साइबरक्याब र टेस्ला सेमी दुवैको ठूलो मात्रामा उत्पादन हुने अपेक्षा गरेको छ ।
टेस्लाले गत जनवरीमा आफ्नो प्रमुख मोडल एस र एक्स सवारी साधनहरूको उत्पादन रोक्ने र क्यालिफोर्नियाको फ्रिमोन्टमा रहेको ती कारखानाका लाइनहरू अप्टिमस युनिटहरू बनाउन प्रयोग गर्ने बताएको थियो ।
सौर्य ऊर्जा जडान र ब्याट्री ऊर्जा भण्डारण प्रणाली बिक्री गर्ने आफ्नो ऊर्जा व्यवसायमा टेस्लाले सन् २०२६ को दोस्रो त्रैमासिकमा १३.५ गिगावाट प्रतिघण्टा प्रयोगमा ल्याएको छ जबकि एक वर्षअघि यो ९.६ गिगावाट प्रतिघण्टा थियो । विश्लेषकहरूले १३.३ गिगावाट प्रतिघण्टाको अपेक्षा गरेका थिए ।
आईपीओ फाइलिङका अनुसार एक्सएआईको स्वामित्व रहेको मस्कको स्पेसएक्सले अप्रिलमा २६ करोड ९० लाख डलर मूल्यको टेस्ला मेगाप्याकहरू खरिद गरेको थियो । स्पेसएक्सले टेनेसीको मेम्फिस र आसपासका क्षेत्रमा रहेका आफ्ना धेरै बिजुली खपत हुने डेटा सेन्टरहरूको लागत घटाउन ती मेगाप्याकहरू प्रयोग गरिरहेको छ ।
दोस्रो त्रैमासिकको डेलिभरी रिपोर्टमा टेस्लाले सम्बन्धित पक्षहरूबीचको लेनदेनले यो बलियो तथ्यांकमा योगदान पुर्याएको हो वा होइन भन्ने खुलाएको छैन । गत वर्ष स्पेसएक्सले टेस्ला साइबरट्रकहरू खरिद गर्न १३ करोड १० लाख डलर खर्च गरेको थियो ।
केली ब्लु बुकका अनुसार, यो रकम सन् २०२५ मा टेस्लाले बिक्री गरेको २० हजार २ सय ३७ साइबरट्रकहरूको ठूलो हिस्सा थियो । टेस्लाले जुलाई २२ मा बजार बन्द भएपछि आफ्नो दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ ।






प्रतिक्रिया