निखारिँदै गएका मेस्सी, उमेरलाई चुनौती दिँदै नकुदिकनै खेल जित्ने जादुगर

210
Shares

एजेन्सी । ६ वटा विश्वकप प्रतियोगिताहरूमा लियोनल मेस्सीले १९ गोल गरिसकेका छन् ।

खेलाडीको उमेर ढल्किँदै जाँदा प्रदर्शन र गति खस्कन्छ भन्ने परम्परागत धारणा मेस्सीको हकमा लागू हुँदैन । उनी कति समयसम्म खेलिरहन सक्छन् भन्ने प्रश्न अब सान्दर्भिक छैन । बरु प्रश्न यो छ– उनी उमेरसँगै झन् कसरी उत्कृष्ट बन्दै गइरहेका छन् ?

अस्ट्रिया विरुद्धको खेलमा नवौं मिनेटमा पेनाल्टी मिस गरे पनि उनले दुई गोल गर्दै मिरोस्लाभ क्लोसको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोडिदिए । त्यसपछि जोर्डन विरुद्ध बेन्चबाट मैदान प्रवेश गर्दै उनले उत्कृष्ट फ्रि–किक मार्फत गोल गरे ।

अस्ट्रिया विरुद्धको त्यो कीर्तिमानी गोललाई ध्यान दिएर हेर्नुहोस् । मेस्सीले टचलाइन नजिकै बल प्राप्त गर्छन् । उनी न त ड्रिबल गर्छन्, न त तीव्र गतिमा दौडिन्छन् । उनले पहिलो ट्यापमै बललाई मैदानको अर्कोतर्फ पास दिन्छन् जहाँ चार विरुद्ध दुईको अवस्था सिर्जना हुन्छ ।

बल खुट्टाबाट नछुट्दै उनी डि–बक्सको नजिक पुगिसकेका हुन्छन् । मेस्सी मैदानमा सही ठाउँमा चुपचाप उभिनु नै फुटबल मैदानको सबैभन्दा खतरनाक कुरा हो ।

धेरैजसो खेलाडी पहिले दौडिन्छन् र त्यसपछि बललाई नियन्त्रण गर्छन् । तर, मेस्सी यसरी दौडिन्छन् कि मानौं त्यहाँ बल नै छैन । बललाई नियन्त्रण गर्न उनलाई कुनै अतिरिक्त ऊर्जा वा प्रयास चाहिँदैन ।

पूर्ण गतिमा हुँदा पनि उनी त्यति नै सहज देखिन्छन् जति अन्य खेलाडी बल बिना दौडिँदा देखिन्छन् ।

जोआओ पेड्रोले रियो फर्डिनान्डसँग भनेका छन्, ‘उनलाई बुझ्न गाह्रो छ । उनी अग्ला छैनन्, बलियो पनि देखिँदैनन्, तर विपक्षीलाई रोकेर राख्छन् । टोली नै उनका लागि दौडिन्छ र बल पाउनेबित्तिकै मेस्सीलाई पास दिन्छ । यो जादु जस्तै हो ।’

इन्टर मायामी र २०२४ को कोपा अमेरिकामा मेस्सी दौडिनुभन्दा बढी हिँड्छन् । स्पेनी फुटबल लेखक तथा मेस्सीका जीवनीकार गिलेम बालागले लेखेका छन्, ‘कुनै समय आलोचकहरूले मेस्सीको यो हिँडाइलाई उनको कमजोरी मान्थे । तर, अहिले यो उनको निपुणताको प्रतीक बनेको छ ।’

मेस्सीको यो हिँडाइ उनको खेल खस्किएको संकेत होइन, बरु यो उनको खेलको निखार हो । उनले आफ्नो ऊर्जालाई जोगाएर सही समयमा सही ठाउँमा प्रयोग गर्न सिकेका छन् ।

तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । कतार विश्वकपमा मेस्सीले जम्मा १७.२३ किलोमिटर दूरी तय गरे जसमध्ये १०.६४ किलोमिटर उनले हिँडेरै पूरा गरे । यो ९० मिनेटभन्दा बढी खेल्ने ६१८ खेलाडीमध्ये सबैभन्दा कम दौडनेमा पर्छ ।

एमबाप्पेले मेस्सीको भन्दा दोब्बर दूरी तय गरेका छन् भने हालान्डले पनि गोलका लागि निकै मिहिनेत र दौडधूप गर्नुपर्छ । तर, मेस्सी हिँडेरै हरेक ३७ मिनेटमा एक गोलको औसत राखिरहेका छन्, मानौं उनलाई फुटबलको दौडधूपसँग कुनै सरोकार नै छैन ।

मेस्सीको यो शैलीले विपक्षी टोलीहरूका लागि नयाँ समस्या सिर्जना गरेको छ । ब्राजिल विरुद्ध खेल्दा मेस्सीले दौडिएर कुनै संकेत नदिने हुनाले उनलाई रिड गर्न असम्भव हुन्छ । स्पेन विरुद्ध खेल्दा उनको शान्त उपस्थिति र अल्भारेजको दौडाइले डिफेन्डरहरूलाई दोधारमा पार्छ । फ्रान्सका लागि एमबाप्पेको गति एउटा हतियार होला तर ९० मिनेट हिँडेरै बिताएका मेस्सीले अन्तिम समयमा जे गर्छन्, त्यसको जवाफ फ्रान्ससँग सन् २०२२ को फाइनलमा पनि थिएन ।

यो जादु रातारात भएको होइन । १६ जुन २००६ मा १८ वर्षको उमेरमा मेस्सीले आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । त्यसको ठ्याक्कै २० वर्षपछि १६ जुन २०२६ मा उनले अल्जेरिया विरुद्ध ह्याट्रिक पूरा गरे ।

त्यो ह्याट्रिक उनले २८ वर्षीय गोलकिपर लुका जिदान विरुद्ध गरेका थिए जो जिनेदिन जिदानका छोरा हुन् । जिदानको अन्तिम विश्वकप नै मेस्सीको पहिलो विश्वकप थियो ।

मेस्सीका बाल्यकालका आदर्श पाब्लो आइमारले भनेका थिए, ‘पछिल्लो मेस्सी नै सधैं उत्कृष्ट मेस्सी हुन्छन् ।’ आइमारले यो कुरा अन्दाजमा भनेका थिएनन् । उनले मेस्सीलाई रोसारियोदेखि नै नजिकबाट नियालिरहेका थिए ।