
एजेन्सी । इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी विदेश उपमन्त्री काजेम गरिबाबादीले बिहीबार बहराइनमा आयोजित अमेरिकी नेतृत्वमा रहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनको कडा आलोचना गरेका छन् । उनले पर्सियाली खाडी र रणनीतिक हर्मुज जलयोजकमा सुरक्षा ढाँचाहरू निर्धारण गर्ने पश्चिमा प्रयासहरूलाई अस्वीकार गरेका छन् ।
एक्समा पोस्ट गर्दै गरिबाबादीले उक्त सैन्य शिखर सम्मेलनको वैधानिकता र यस क्षेत्रमा अमेरिकी कमान्ड संरचनाको अधिकार दुवैलाई खारेज गर्दै हर्मुज सेन्टकमको नभई इरानको कमान्ड अन्तर्गत परिभाषित छ भन्ने कुरामा जोड दिएका छन् । उनले बहराइनमा हुने सैन्य शिखर सम्मेलनले पर्सियाली खाडीका लागि कानुनी व्यवस्था र सुरक्षा स्थापना गर्न नसक्ने अडान राखे ।
ती इरानी कूटनीतिज्ञले पश्चिम एसियामा दीर्घकालीन स्थिरता विदेशी सैन्य गठबन्धनहरू मार्फत हासिल गर्न नसकिने कुरामा जोड दिँदै क्षेत्रीय सुरक्षालाई छिमेकी राज्यहरूले आन्तरिक रूपमा व्यवस्थापन गर्नुपर्ने र यो अमेरिकाको सैन्य छातामुनि हुन नहुने बताएका छन् ।
‘हर्मुज इरानको कमान्ड अन्तर्गत परिभाषित छ, सेन्टकमको होइन । बहराइनमा हुने सैन्य शिखर सम्मेलनले पर्सियाली खाडीका लागि कानुनी व्यवस्था र सुरक्षा स्थापना गर्न सक्दैन । यस क्षेत्रको सुरक्षा हस्तक्षेपको अन्त्य, यस क्षेत्रबाट अमेरिकाको फिर्ती, देशहरूको सार्वभौमिकताको सम्मान र नयाँ भूराजनीतिक यथार्थहरूको स्वीकारोक्ति मार्फत सुनिश्चित हुनेछ, अमेरिकाको सैन्य छातामुनि होइन,’ उनले लेखेका छन् ।
उनको यो टिप्पणी अमेरिकी सेनाको सेन्ट्रल कमान्डको घोषणापछि आएको हो । त्यसमा संयुक्त अरब अमिरात, साउदी अरब, कतार, लेबनन र सिरिया लगायत एक दर्जन राष्ट्रका शीर्ष सैन्य नेताहरू रणनीतिक जलमार्गमा वाणिज्यको निर्बाध प्रवाहप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न बहराइनमा भेला भएका थिए ।
सेन्टकमले बुधबार बहराइन रक्षा बलद्वारा आयोजित सुरक्षा संवादको नेतृत्व गरेको थियो जसमा पश्चिम एसियाको वर्तमान सुरक्षा परिदृश्यलाई सम्बोधन गर्न १२ राष्ट्रका शीर्ष सैन्य अधिकारीहरू सहभागी भएका थिए ।
एक्समा पोस्ट गर्दै सेन्टकमले उक्त उच्चस्तरीय सम्मेलनमा सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरको नेतृत्वमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब अमिरात र यमनका वरिष्ठ सैन्य प्रतिनिधिहरूबीच छलफल भएको उल्लेख गरेको छ ।
बैठकको मुख्य केन्द्रविन्दु विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्ग हर्मुज जलयोजक मार्फत व्यापारिक जहाजहरूको निर्बाध आवागमनलाई सुरक्षित राख्ने राष्ट्रहरू बीचको साझा प्रतिबद्धता थियो ।
‘सेन्टकम कमान्डर एडमिरल ब्राड कुपर र बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनन, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब अमिरात र यमनका वरिष्ठ सैन्य अधिकारीहरूले वर्तमान क्षेत्रीय सुरक्षा वातावरण र क्षेत्रभरि रक्षा सहकार्य बढाउने अवसरहरूका बारेमा छलफल गरे । नेताहरूले हर्मुज जलयोजक मार्फत वाणिज्यको निर्बाध प्रवाहप्रति आफ्नो साझा प्रतिबद्धता दोहोर्याए,’ एक्समा लेखिएको छ ।
‘हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग काँधमा काँध मिलाएर उभिरहनेछौं,’ वार्तापछि एडमिरल कुपरले भने, ‘छलफलले क्षेत्रीय सुरक्षा र स्थिरताप्रति हाम्रो साझा प्रतिबद्धतालाई जोड दिएको छ ।’
यो सम्मेलन महत्त्वपूर्ण कूटनीतिक र सैन्य कोसेढुंगा हो जसमा सेन्टकमले अमेरिकाको नेतृत्वमा भएको क्षेत्रीय रक्षा सम्मेलनमा सिरिया र लेबननका सैन्य नेताहरू पहिलोपटक सहभागी भएको उल्लेख गरेको छ ।
यस भेलाले विकसित हुँदै गएका खतराहरू विरुद्ध क्षेत्रीय हवाई क्षेत्रको रक्षा गर्न भइरहेका प्रयासहरूको विस्तारलाई उजागर गरेको छ । यसका साथै सेन्टकमले पश्चिम एसियाको तनावका सन्दर्भमा समन्वय र सूचना प्रवाह सुनिश्चित गर्न गरिएका अघिल्ला प्रयासहरूका बारेमा पनि चर्चा गरेको छ ।
‘अमेरिका र क्षेत्रीय साझेदारहरूले पश्चिम एसियामा विश्वकै सबैभन्दा परिष्कृत र ठूलो सक्रिय हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणाली (अम्ब्रेला) सञ्चालन गरिरहेका छन् । जनवरीमा सेन्टकम र क्षेत्रीय देशहरूले सूचना तथा खतराका चेतावनीहरू साझा गर्न र आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिनका लागि नयाँ मिडल ईस्टर्न एयर डिफेन्स कोअर्डिनेसन सेल स्थापना गरेका छन्,’ उसले लेखेको छ ।






प्रतिक्रिया