इरानको तेल समुद्रमा अलपत्र, किन्नका लागि खरिदकर्ताहरू हिचकिचाए

420
Shares

एजेन्सी । ब्लूमबर्गका अनुसार, वाशिङटनले तोकेको ६० दिने समयसीमा सकिनुअघि खरिदकर्ताहरू पाउन संघर्ष गरिरहँदा इरानको समुद्रमा रहेको तेलको मौज्दात बढ्दै गएको छ ।

ब्लूमबर्गले उल्लेख गरेको भोर्टेक्साको तथ्यांकअनुसार, जुलाई १ सम्ममा ५ करोड ८० लाख ब्यारलभन्दा बढी इरानी कच्चा तेल र कन्डेन्सेट समुद्रमा रहेको छ । यसमध्ये ९० प्रतिशतभन्दा बढीको कुनै स्पष्ट गन्तव्य छैन ।

जहाजहरूले अर्डरका लागि भन्ने संकेत दिइरहेका छन् वा सिंगापुरलाई आफ्नो अर्को बन्दरगाहको रूपमा देखाइरहेका छन् । त्यसले मलाक्का जलयोजकमा जहाज–देखि–जहाज स्थानान्तरणको सम्भावनालाई संकेत गर्छ ।

कच्चा तेल तुरुन्तै बेच्न नसक्दा तेहरानले आवश्यक राजस्व गुमाउनुपर्नेछ र यसले वाशिङटनसँगको वार्तामा उसको स्थितिलाई कमजोर बनाउन सक्ने रिपोर्टमा उल्लेख छ । अन्तरिम शान्ति सम्झौताको हिस्सा स्वरूप अमेरिकाले जुनको मध्यमा तेलमाथिको प्रतिबन्ध हटाएपछि र इरानी बन्दरगाहहरूको घेराबन्दी अन्त्य गरेपछि इरानसँग खरिदकर्ताहरू खोज्नका लागि अगस्टको मध्यसम्मको समय छ ।

द्वन्द्वअघि इरानका मुख्य ग्राहक रहेका चीनका स्वतन्त्र प्रशोधनकर्ताहरूबाट माग कमजोर नै रहेको छ किनकि यस क्षेत्रको प्रशोधन दर नौ वर्षयताकै न्यून विन्दुमा झरेको छ । चीनका सरकारी प्रशोधनकर्ताहरूले पनि बैंकहरूले यस्ता सम्झौताहरूमा लगानी गर्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता व्यक्त गर्दै हात झिकेका छन् ।

अहिले अधिकांश तेल पर्सियाली खाडी, हिन्द महासागर र सिंगापुर नजिकैको मलाक्का जलयोजक आसपासमा रहेको छ ।
इरानले बुधबार अमेरिकाले जलसैनिक घेराबन्दी हटाएदेखि ४ करोड ब्यारलभन्दा बढी तेल ढुवानी गरिसकेको बताएको छ । केप्लर लिमिटेडको तथ्यांकअनुसार, २ करोड ब्यारलभन्दा बढी इरानी कच्चा तेल सात दिन वा सोभन्दा बढी समयदेखि एसियाली जलक्षेत्रमा थन्किएर बसेको छ जुन अघिल्लो हप्ताको तुलनामा करिब १८ प्रतिशतले बढी हो ।

तेहरानले तेल बिक्री गर्न धेरै अवरोधहरूको सामना गरिरहेको छ । युरोपेली संघ र बेलायतका प्रतिबन्धहरू अझै कायम रहेकाले बिमा व्यवस्थालाई जटिल बनाएको छ भने केही बन्दरगाहहरूले इरानले सामान्यतया प्रयोग गर्ने डार्क फ्लीट जहाजहरू स्वीकार गर्न हिचकिचाइरहेका हुन सक्छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध छुटलाई समयभन्दा पहिल्यै अन्त्य गर्ने निर्णय गरेमा सम्झौताको बीचमै तेल ढुवानी अलपत्र पर्न सक्ने जोखिम पनि छ ।

वार्ता असफल भयो भने वाशिङटनले पुनः प्रतिबन्ध लगाउन सक्ने कुरामा खरिदकर्ताहरू सतर्क रहेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार फक्स न्युजलाई बताएका छन् । उनले हालसम्म इरानी तेलको एकमात्र खरिदकर्ता चीन रहेको बताएका छन् किनकि इरान प्रतिबन्धमा रहँदा पनि चीनले कच्चा तेल खरिद गरिरहेको थियो । त्यसकारण यो तेल अझै पनि छुटमा कारोबार भइरहेको छ ।

अर्को मुख्य अवरोध भनेको तेहरानले यस क्षेत्रका खरिदकर्ताहरूलाई फकाउने प्रयास गरे तापनि प्रमुख एसियाली बजारहरूमा मागको अभाव हुनु हो । एसियामा अहिले हर्मुज जलयोजक मार्फत आउन सक्ने गैर–इरानी खाडी तेल र युद्धको समयमा अन्य स्रोतहरूबाट खरिद गरिएको कच्चा तेलको पर्याप्त आपूर्ति छ ।

केप्लरका अनुसार, जुन महिनामा चीनको इरानी कच्चा तेलको आयात अघिल्लो महिनाको तुलनामा आधाभन्दा बढीले घटेर दैनिक करिब ६ लाख ५४ हजार ब्यारलमा झरेको छ । तर, केप्लर र भोर्टेक्साको तथ्यांकअनुसार गत साता कम्तीमा एउटा ट्यांकरले चीनमा इरानी तेल अनलोड गरेको छ ।

भारतका पेट्रोलियम मन्त्री हरदीप पुरीले गत साता नयाँ दिल्लीमा आफ्ना इरानी समकक्षीसँग भेट गरे तापनि आयात पुनः सुरु गर्ने प्रतिबद्धता भने जनाएनन् । यस मामिलासँग परिचित व्यक्तिहरूले ब्लूमबर्गलाई बताएअनुसार, भारतका सरकारी प्रशोधनकर्ताहरूले अहिले इरानी तेललाई बेवास्ता गरिरहेका छन् किनकि उनीहरूले कम्तीमा अगस्टको अन्त्यसम्मका लागि कच्चा तेलको आपूर्ति सुरक्षित गरिसकेका छन् ।

उनीहरूले अमेरिकी डलरमा गरिने भुक्तानीका सम्बन्धमा वाशिङटनबाट स्पष्टताको प्रतीक्षा गरिरहेको पनि ती व्यक्तिहरूले बताएका छन् ।

भुक्तानी माध्यमहरू स्पष्ट भएपछि भारतले इरानी तेल खरिद पुनः सुरु गर्ने विचार गर्नेछ जबकि प्रतिबन्धहरू पूर्ण रूपमा हटेमा दीर्घकालीन आयातको बाटो खुल्न सक्ने ती व्यक्तिहरूको भनाइ छ ।

ब्लूमबर्गले उल्लेख गरेअनुसार, मूल्य पर्याप्त आकर्षक भएमा इरानी तेलप्रति एसियाली चासो छिट्टै बढ्न सक्नेछ । पहिले नै आपूर्ति सुनिश्चित गरिसकेका प्रशोधनकर्ताहरूले भारी छुटमा पाइने इरानी तेलका लागि ठाउँ बनाउन केही मात्रामा तेल पुनः बिक्री गर्न सक्छन् भने सस्तो कच्चा पदार्थको लागतले केही प्रशोधनकर्ताहरूलाई आफ्नो सञ्चालन दर बढाउन पनि प्रेरित गर्न सक्छ ।