राष्ट्र बैंकले १० हजारभन्दा बढी नमुनासहित ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका ७७ वटै जिल्लालाई समेटेर ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ गर्ने भएको छ । वित्तीय ग्राहकहरूको सन्तुष्टि स्तर मापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले उक्त सर्वेक्षण गर्न लागेको जनाएको छ ।

सर्वेक्षणका लागि ‘रेन्डम स्याम्पलिङ’ विधिबाट देशभरका विभिन्न वडा छनोट गरी कूल १० हजार ४ सय ५ वटा नमुना संकलन गरिनेछ । यस प्रक्रियामा सबै प्रकारका स्थानीय तहहरूको प्रतिनिधित्व रहने सुनिश्चित गरिएको सूचनामा उल्लेख छ ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता र गुनासो व्यवस्थापनका विषयमा ग्राहकको धारणा बुझ्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ । वित्तीय ग्राहक संरक्षण र समग्र वित्तीय सेवासम्बन्धी उपभोक्ताका अनुभव र सुझावहरूलाई पनि संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त हुने नतिजालाई वित्तीय ग्राहक संरक्षण तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न प्रयोग गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले यस सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वैच्छिक हुने स्पष्ट पारेको छ । सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् ।

यस्तै, संकलित विवरणहरू ‘तथ्यांक ऐन, २०७९’ बमोजिम गोप्य राखिने र केवल सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षण कार्यलाई प्रभावकारी र विश्वसनीय बनाउन वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय र आम सर्वसाधारणलाई आवश्यक सहयोग र समन्वय गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।