ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न, आजदेखि परीक्षण

301
Shares

धनुषा । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा धनुषा जिल्लामा निर्माण गरिएको ‘ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन आयोजना’ को निर्माण कार्य सम्पन्न भएको छ।

आयोजनाले ढल्केबर सबस्टेशनदेखि हंसपुर नगरपालिका वडा नं. ९ मा रहेको बालगंगा सबस्टेशनसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न लागेको हो। आजदेखि उक्त प्रसारण लाइनमा १३२ किलोभोल्ट क्षमताको उच्च भोल्टेजको विद्युत प्रवाह गरी परीक्षण सुरु गरिने र त्यसपछि लाइनलाई नियमित सञ्चालनमा ल्याइने आयोजनाले जानकारी दिएको छ।

प्रसारण लाइनमा उच्च क्षमताको विद्युत प्रवाह हुने भएकाले आयोजनाले सर्वसाधारणको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सूचनामार्फत प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन र ‘खतरा’ संकेत राखिएका ठाउँ वा वस्तुहरूबाट टाढै रहन अनुरोध गरिएको छ। साथै, आफ्ना बालबालिकाहरूलाई समेत यस विषयमा सचेत गराई सम्भावित दुर्घटनाबाट जोगिन आयोजनाले विनम्र अनुरोध गरेको छ।

यो प्रसारण लाइन धनुषाका बटेश्वर गाउँपालिका (वडा ५), लक्ष्मीनियाँ गाउँपालिका (वडा ३ र ६), मिथिला विहारी नगरपालिका (वडा ८, ९ र १०), औरही गाउँपालिका (वडा १) र हंसपुर नगरपालिका (वडा १, ४ र ९) भएर जाने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सजग रहन भनिएको छ।

परीक्षणको क्रममा वा त्यसपछि पनि प्रसारण लाइनमा कतै स्पार्क आएको देखिएमा वा अन्य कुनै पनि प्रकारको खतरा महसुस भएमा तुरुन्त नजिकको प्रहरी चौकी वा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।