
एजेन्सी । सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूलाई फिड र सामग्रीको प्रदर्शनमा थप शक्ति प्रदान गर्न ‘अल्गोरिदम कस्टमाइजेसन’ फिचरको परीक्षण सुरु गरेको छ ।
इन्स्टाग्रामका प्रमुख एडम मोजेरीले यसलाई एउटा महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै प्रयोगकर्ताले अब मेसिन लर्निङमा आधारित सिफारिसहरूलाई आफ्नै रुचिअनुसार परिवर्तन गर्न सक्ने बताएका छन् ।
यसअघि अल्गोरिदम पूर्ण रूपमा कम्पनीको नियन्त्रणमा रहने गरेकोमा अब प्रयोगकर्ताले ‘योर अल्गोरिदम’ नामको नयाँ सेटिङमार्फत आफूलाई मन पर्ने र मन नपर्ने सामग्रीको स्पष्ट सीमा तोक्न पाउनेछन् ।
यो नयाँ सुविधाअन्तर्गत इन्स्टाग्रामले विभिन्न ‘इन्टर्याक्टिभ जेस्चर’हरू पनि थप गर्दैछ । जसअनुसार प्रयोगकर्ताले रिल्स वा फिडका सामग्रीहरू हेर्दा विशेष प्रकारको स्वाइप वा ट्याप गरेर उक्त सामग्री आफ्नो रुचिको हो वा होइन भन्ने जानकारी तत्कालै प्रणालीलाई दिन सक्नेछन् ।
सन् २०२५ मा रिल्समा मात्र परीक्षण गरिएको यो फिचरलाई अहिले मुख्य फिड र एक्सप्लोर पेजमा पनि विस्तार गर्न लागिएको हो । यसले आर्टिफिसियल इन्टेलिजेन्सले देखाउने सामग्रीलाई अझ बढी व्यक्तिगत र सान्दर्भिक बनाउने कम्पनीको दाबी छ ।
यद्यपि, यो नयाँ प्रयासलाई लिएर प्रयोगकर्ताहरूका बीचमा फरक-फरक धारणाहरू सार्वजनिक भएका छन् । केही प्रयोगकर्ताहरूले यसलाई स्वागतयोग्य कदम भनेका छन् भने कतिपयले अझै पनि एआईले सिफारिस गर्ने सामग्रीभन्दा आफूले फलो गरेका साथीभाइ र पेजका पोस्टहरूलाई समयक्रमअनुसार हेर्न पाउनुपर्ने माग गरिरहेका छन् ।






प्रतिक्रिया