नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल


ल्हासा । नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उद्योगी व्यवसायीले नेपालमा लगानी गर्न सुझाव दिएका थिए ।

चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासहित ११३ जनाको सहभागिता रहेको थियो ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा नेपालका लगानी, व्यापार र पर्यटनका अवसरसम्बन्धी विस्तृत विवरण समावेश गरी तयार पारिएको ‘भिडियो’ देखाइएको थियो ।

महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रमुख अतिथि चाओ पेङले चीन र नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले नेपाल चीनको सच्चा मित्र रहेको उल्लेख गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकाधारणा व्यक्त गरे ।

उनले सिचाङ सरकारले नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तयार रहेको बताउँदै हालैको आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास व्यक्त गरे ।

नेपाल सुन्दर, शान्तिपूर्ण र चीनको हितैषी मुलुक भएकाले त्यहाँ भ्रमण, व्यवसाय र लगानी गर्न चिनियाँ लगानीकर्तालाई उनले आह्वान गरे ।

महावाणिज्यदूत निरौलाले चीनको केन्द्रीय सरकार, सिचाङ स्वायत्त क्षेत्रीय सरकार तथा चिनियाँ जनताबाट नेपालले प्राप्त गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।

उनले राजकुमारी भृकुटी र कलाकार अरनिकोको समयदेखि नेपाल–चीन सम्बन्ध विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे ।

कार्यक्रमअघि कार्यकारी उपाध्यक्ष पेङ र महावाणिज्यदूत निरौलाबीच शिष्टाचार भेट भएको थियो ।

भेटमा महावाणिज्यदूत निरौलाले हालै सम्पन्न भएका नेपाल र चीनबीचका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै सीमा पूर्वाधार विकास, सीमा नाकामा आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, सिचाङमा बसोबास गर्ने नेपालीको व्यवसाय र आवतजावतमा सहजता तथा नेपालीलाई भिसा र तिब्बत प्रवेश अनुमतिमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।