
काठमाडौं । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने ‘केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६’ को एक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
दर्शकहरूले आज असार १२ गतेदेखि असार २३ गतेसम्म (जुन २६ देखि जुलाई ७) सञ्चालन हुने यस रोमाञ्चक प्रतियोगिताका सबै महत्त्वपूर्ण खेलहरू एक्सन स्पोर्ट्स एचडीमार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट रंगशालामा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब तथा क्रिकेट प्रतिष्ठानका टोलीहरूको सहभागिता रहनेछ ।
यस प्रतियोगिताले नेपाल र भारतबीचको क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तथा क्षेत्रीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
यस प्रतियोगितामा इटहरी सुपर किङ्ग्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी, भारतको एचपिसीए पटना, केसीसी तथा आरएमएल स्पोर्ट्स एकेडेमी लगायतका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
टि२० फर्म्याटमा सञ्चालन हुने यस प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार असार १२ देखि १९ गतेसम्म समूह चरणका खेलहरू हुनेछन् भने असार २० गते पहिलो छनोट र बाहिरिने चरणको खेल हुनेछ । त्यस्तै, असार २१ गते दोस्रो छनोट खेल, २२ गते विश्राम र असार २३ गते प्रतियोगिताको अन्तिम तथा निर्णायक खेल आयोजना गरिनेछ ।






प्रतिक्रिया