रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।

सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ ।

यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए ।

विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुनसक्ने श्रेष्ठले बताए ।

आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए । प्रारम्भिक तथ्याङ्क अनुसार कोशी प्रदेशबाट प्रतिनिधिको सङ्ख्या ५२० रहेको छ ।

मधेशबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरू रहने व्यवस्था छ ।

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ ।

सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुने छन् ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुने छन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुने छन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहने छन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।

आइतबार भरतपुरको गेस्ट्हाउस चौरमा उद्घाटन सत्र हुने छ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने छ ।

महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू चितवन आइसक्नुभएको छ । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ ।