चीनलाई पछि पार्न ट्रम्पले अपनाए रोबोटमा लगानी गर्ने नीति

63
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यशैलीलाई धेरैले पागलपन वा अस्थिर भन्ने गरेका छन् ।

कहिले चीनमाथि भन्सार शुल्क, कहिले युरोपसँगको व्यापारिक टकराव, त कहिले इरानसँगको युद्धको संकेत यी सबै कदम बाहिरबाट हेर्दा योजनाविहीन र आक्रोशपूर्ण देखिए पनि यसको भित्री तहमा एक गहिरो आर्थिक हिसाबकिताब लुकेको विश्लेषण गर्न थालिएको छ ।

ट्रम्पले चालेका यी कदमहरू वास्तवमा कुनै नयाँ प्रयोग नभएर ४० वर्षअघि जापानलाई आर्थिक रूपमा नियन्त्रण गर्न प्रयोग गरिएको सफल रणनीतिकै आधुनिक संस्करण हुनसक्ने देखिएको छ ।

इतिहासलाई फर्केर हेर्दा सन् १९८५ मा जापान रोक्नै नसकिने आर्थिक शक्तिका रूपमा उदाएको थियो । जापानी कार, इलेक्ट्रोनिक्स र स्टिलले विश्व बजार ओगटेका थिए भने अमेरिकी कम्पनीहरू उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका थिए ।

त्यतिबेला अमेरिकाले कुनै भौतिक युद्ध नगरी एउटा होटलको कोठामा पाँच शक्तिशाली राष्ट्रलाई भेला पारेर जापानी मुद्रा येनको मूल्य बढाउन बाध्य पार्यो । यसै सम्झौतापछि जापानी सामान महँगो भयो, निर्यात ठप्प भयो र जापानको अर्थव्यवस्था धराशायी भयो ।

जापानले त्यसपछि आफ्नो पुरानो साख कहिल्यै फर्काउन सकेन । त्यसलाई इतिहासमा जापानको हराएको ३० वर्ष भनिन्छ ।
आज अमेरिकाको अगाडि चीन त्यस्तै चुनौती बनेर उभिएको छ । चीनले जापानको इतिहासबाट पाठ सिकिसकेकाले उसले आफ्नो मुद्राको मूल्य सहजै बढ्न दिँदैन । त्यसैले यसपटक अमेरिकाले चीनको मुख्य शक्ति अर्थात् सस्तो श्रममाथि प्रहार गर्ने नयाँ र प्राविधिक हतियार तयार पारेको देखिन्छ ।

इलोन मस्कको नेतृत्वमा विकसित भइरहेका मानवीय रोबोटहरूले चिनियाँ मजदुरभन्दा कम लागतमा काम गर्न थाले भने चीनको दशकौंदेखिको औद्योगिक लाभ एकै झड्कामा समाप्त हुनेछ । रोबोटहरू न थाक्छन्, न तलब माग्छन्, न त उनीहरूलाई बिदा नै चाहिन्छ । यसले गर्दा विश्वका ठूला कम्पनीहरूलाई उत्पादनका लागि चीन गइरहनुपर्ने आवश्यकता रहने छैन ।

ट्रम्पको वर्तमान टोलीमा रहेका पात्रहरूले पनि यस गहिरो रणनीतितर्फ संकेत गर्छन् । अर्थमन्त्री स्कट बेसेन्ट मुद्रा युद्धका माहिर खेलाडी हुन् भने फेडका नयाँ अध्यक्ष केभिन वार्सले आर्टिफिसियल इन्टेलिजेन्सले महँगीलाई नियन्त्रण गर्छ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।

यी सबैको मुख्य उद्देश्य अमेरिकाको ३९० खर्ब डलरको विशाल ऋणको भार कम गर्नु हो । डलरको मूल्य घटाएर ऋणको वास्तविक बोझ हलुका पार्ने र रोबोटिक उत्पादन तथा सस्तो ऊर्जा (जस्तै, भेनेजुएलाको तेल) मार्फत आन्तरिक बजारमा महँगी बढ्न नदिने ट्रम्पको मुख्य दाउ देखिन्छ ।

सन् २०२६ अमेरिकाका लागि निकै महत्त्वपूर्ण वर्ष हुनेछ किनकि उसले आफ्नो ठूलो ऋण नवीकरण गर्नुपर्ने समय आउँदैछ । ठ्याक्कै यही समयमा रोबोटिक प्रविधि र नयाँ आर्थिक नीतिहरू मैदानमा उत्रिनुलाई अर्थपूर्ण मानिएको छ ।

यो योजना सफल भयो भने अमेरिकाले आफ्नो ऋणको भारी बिसाउनेछ र चीनको आर्थिक वृद्धिलाई रोक्नेछ । इलोन मस्कले संकेत गरेझैं अबको विश्व यस्तो मोडमा पुग्दैछ जहाँ परम्परागत मुद्राको भन्दा ऊर्जा र पदार्थको स्वामित्व बढी महत्त्वपूर्ण हुनेछ ।

यो सबै योजना रोबोटिक क्रान्तिमा निर्भर छ र यो असफल भएमा यसको गम्भीर आर्थिक असर अमेरिकी जनताले नै भोग्नुपर्ने जोखिम पनि उत्तिकै बलियो छ ।

Skip This