खाडी मुलुकहरूमा आक्रमणका लागि इरानले इराकमा गोप्य लडाकु दस्ता बनाएको खुलासा

385
Shares

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सेना रहेका खाडी मुलुकहरूमा आक्रमण गर्न इराकमा नयाँ गोप्य एकाइहरू स्थापना गरेको रोयटसै समाचार संस्थाले खुलासा गरेको छ ।

पत्ता लाग्नबाट बच्नका लागि स्थापित मिलिसिया सञ्जालहरूलाई छलेर यसो गरिएको आठ इराकी स्रोतहरूले रोयटर्सलाई बताएका छन् ।

तीन वा चारवटा सेलहरू प्रत्येकमा करिब १० जना कुलीन इराकी शिया मुस्लिम लडाकुहरू छन् । तिनले अप्रिल २० देखि मे १७ को बीचमा बसरा र सामावाका दक्षिणी शहरहरू नजिकैको मरुभूमिबाट कुवेत, साउदी अरब र संयुक्त अरब अमिरातका स्थानहरू विरुद्ध कम्तीमा सातवटा ड्रोन आक्रमणहरू गरेका तीनवटा स्रोतहरूले बताएका छन् ।

तिनीहरूका केही सदस्यहरू इस्लामिक रेजिस्टेन्स इन इराकबाट लिइएका थिए जुन कट्टरपन्थी शिया गुटहरूको साझा समूह हो । यसमा हजारौं लडाकुहरू छन् । तर, यी नयाँ समूहहरूले यसको कमान्ड संरचनाभन्दा बाहिर रहेर प्रत्यक्ष रूपमा आईआरजीसीलाई रिपोर्ट गर्ने दुई इराकी सैन्य अधिकारी, अर्का सुरक्षा अधिकारी र पाँच स्थानीय मिलिसिया कमान्डरहरू सहितका स्रोतहरूले बताएका छन् ।

यी नयाँ इराकी सेलहरूको स्थापनाको कुरा यसअघि सार्वजनिक भएको थिएन । यसले आईआरजीसीको रणनीतिमा आएको परिवर्तनलाई प्रतिबिम्बित गर्छ जसको उद्देश्य आफ्ना सशस्त्र प्रोक्सी समूहहरू कमजोर भएको र आफ्नै सैन्य तथा आर्थिक स्रोतहरू सकिएको अवस्थामा पनि क्षेत्रभरि आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमता जोगाउनु रहेको ती पाँच मिलिसिया कमान्डरहरूले बताए ।

शिया बहुल देश इराकमा धेरै मिलिसियाहरू छन् जसमध्ये धेरैको तेहरानसँग घनिष्ठ सम्बन्ध छ । तिनीहरू गाजा र लेबननदेखि यमन र इराकसम्म फैलिएको इरानको क्षेत्रीय प्रतिरोधको अक्षको एक प्रमुख आधार हुन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि इस्लामिक रेजिस्टेन्स इन इराकको ब्यानरमा काम गर्ने समूहहरूले देशका अमेरिकी सम्पत्तिहरू विरुद्ध दर्जनौं ड्रोन र रकेट आक्रमणको जिम्मेवारी लिएका छन् । यिनले घातक प्रतिशोधात्मक हवाई आक्रमणहरू निम्त्याएका छन् ।

तर, इराकको सिमानाभित्र इरानका प्रोक्सीहरूको कुनै ठूलो परिचालन भने भएको छैन ।

त्यहाँका धेरै शक्तिशाली शिया गुटहरूले गत वर्षदेखि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग बढ्दो द्वन्द्व टार्नका लागि हतियार त्याग्न र आन्तरिक राजनीतिमा केन्द्रित हुन तयार रहेको संकेत दिइरहेका छन् ।

अवकाशप्राप्त इराकी सेनाका जनरल जासिम अल–बहादली र शिया सत्तारूढ गठबन्धनका दुई सांसदका अनुसार, सोही कारणले गर्दा आईआरजीसीलाई आफ्नो प्रत्यक्ष नियन्त्रणमा रहने समूहहरू खडा गर्न प्रेरित गरेको हुन सक्छ ।

यी गुटहरूमध्ये दुईवटा, असाइब अहल अल–हक र इमाम अली ब्रिगेड, ले यस महिना घोषणा गरेअनुसार उनीहरूले इराकको भूमिमा सक्रिय सशस्त्र समूहहरू भंग गर्न अमेरिकाले इराकी सरकारलाई दिएको पटक–पटकको चेतावनीपछि आफ्ना हतियारहरू राज्यका अधिकारीहरूलाई बुझाउन सुरु गर्नेछन् ।

‘आईआरजीसीद्वारा स्थापित नयाँ समूहहरू साना, वैचारिक रूपमा बढी कट्टर र कडा नियन्त्रणमा रहेका देखिन्छन् जसले आर्थिक तनावको बीचमा स्रोतहरू जोगाउनुपर्ने इरानको आवश्यकतालाई झल्काउँछ,’ शिया सशस्त्र समूहका विज्ञ बहादलीले भने ।

अमेरिका र इरानका राष्ट्रपतिहरूले बुधबार युद्ध अन्त्य गर्न अन्तरिम सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसमा तेहरानको आणविक कार्यक्रमको भविष्य जस्ता कठिन मुद्दाहरूमा वार्ता हुने भनिएको छ । तर इरानी अधिकारीहरूले प्रतिरोध समूहहरूका लागि तेहरानको समर्थन छलफलको विषय नभएको बताएका छन् र सम्झौताले यस विषयलाई सम्बोधन गर्दैन ।

अमेरिकाको विदेश मन्त्रालयले इराकी सरकारले इराकमा आईआरजीसी र इरानसँग सम्बद्ध आतंकवादी मिलिसियाहरू लगायत इरानका अस्थिर गतिविधिहरूका सबै साधनहरू हटाउन तत्काल कदम चाल्ने अपेक्षा दोहोर्याएको छ ।

सोमबारको एक बैठकमा इराकका नयाँ प्रधानमन्त्री अली अल–जैदी र अमेरिकी दूत टम बाराकले इराकी राज्य नियन्त्रण बाहिर सञ्चालित सबै सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरण र विघटन सुनिश्चित गर्ने र इराकी भूमिलाई कुनै पनि पक्षले क्षेत्रीय शान्तिलाई खतरामा पार्न प्रयोग गर्न नसक्ने सुनिश्चित गर्ने इराकी योजनाहरूबारे छलफल गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

इरानको युद्धले विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा उत्पादक क्षेत्रलाई तहसनहस पारेको छ, आपूर्तिमा अवरोध पुर्याएको छ र मुद्रास्फीति बढाएको छ । अमेरिका–इजरायलको बमवर्षाको जवाफमा तेहरानले हर्मुज जलयोजक प्रभावकारी रूपमा बन्द गरिदियो जसबाट विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यासको व्यापार हुन्छ । साथै, उसले खाडीका छिमेकीहरूमाथि ड्रोन र मिसाइल आक्रमणको व्यापक अभियान सुरु गर्यो ।

द्वन्द्वको समयमा इराकमा देखा परेका नयाँ समूहहरूले कुवेतलाई लक्षित गरी कम्तीमा तीनवटा, साउदी अरबलाई लक्षित गरी दुईवटा र यूएईलाई लक्षित गरी दुईवटा ड्रोन आक्रमणहरू गरेका तीन इराकी सुरक्षा स्रोतहरूले बताएका छन् । मानवीय गुप्तचरी, इन्टरसेप्ट गरिएको (बीचैमा निस्तेज गरिएको) सञ्चार र प्रक्षेपण स्थलहरूबाट संकलित प्रमाणहरूका आधारमा यो जानकारी दिइएको हो ।

लक्षित स्थानहरूमा कुवेतको अली अल सलेम एयरबेस जहाँ अमेरिकी सेनाहरू तैनाथ छन् र देशको अन्तर्राष्ट्रिय विमानस्थलको एक सैन्य टर्मिनल समावेश थिए । साउदी अरब र यूएईलाई लक्षित गरी गरिएका आक्रमणहरूलाई बीचैमा रोकिएको थियो यद्यपि ती कुन निश्चित लक्ष्यका लागि थिए भन्ने कुरा स्रोतहरूले पुष्टि गर्न सकेनन् ।

आईआरजीसीले यी नयाँ सेलहरूको प्रयोग आफ्नो संलग्नता अस्वीकार गर्न, देशका मुख्य इरान समर्थित समूहहरूमाथि दोष लाग्न नदिन र उनीहरूलाई निःशस्त्र पार्न बगदादमाथि अमेरिकाले दिने दबाब घटाउनका लागि गरेको इराकी अधिकारीहरूले बताएका छन् ।

इराकी सुरक्षा बलहरूसँग यी समूहहरूको बारेमा सीमित जानकारी छ तर भविष्यका आक्रमणहरू रोक्न मद्दतका लागि उनीहरूको कमान्ड संरचना पत्ता लगाउन काम गरिरहेको अधिकारीहरूले बताएका छन् । यी समूहहरूमा ड्रोन सञ्चालन र सञ्चारमा विज्ञता भएका कुलीन लडाकुहरू सामेल रहेको उनीहरूले थपे ।

तेहरानले आफ्नो क्षेत्रीय गठबन्धनको सञ्जाल बनाउन दशकौं समय र अर्बौं डलर खर्च गरेको थियो जुन इरान समर्थित प्यालेस्टिनी सशस्त्र समूह हमासले अक्टोबर ७, २०२३ मा इजरायलमाथि आक्रमण गरेदेखि गम्भीर रूपमा कमजोर भएको छ ।

इजरायलले गाजामा हमास र लेबननमा हिजबुल्लाहमाथि प्रहार गरेको छ भने यमनको हुती आन्दोलनलाई अमेरिका र बेलायतले हवाई आक्रमणको निशाना बनाएका छन् । डिसेम्बर २०२४ मा सिरियाली राष्ट्रपति बसर अल–असद सत्ताच्युत भए जसले इराकी मिलिसियाहरूका लागि महत्त्वपूर्ण आपूर्ति मार्ग काटिदियो र इस्लामिक गणतन्त्र इरानलाई थप एक्लो बनायो ।

इराकमा राम्रो बजेट भएका समूहहरूको फराकिलो सञ्जाल राख्नुको सट्टा इरानले अहिले सीमित संख्यामा बढी कट्टरपन्थी कार्यकर्ताहरूमा भर परिरहेको देखिन्छ जो कम आर्थिक सहयोगमा काम गर्न इच्छुक छन् । उनीहरूले धेरै सदस्य भर्ती गर्नुभन्दा पनि वफादारी, संलग्नता अस्वीकार गर्ने क्षमता र परिचालन प्रभावलाई प्राथमिकता दिइरहेका छन्, मिलिसिया विज्ञ बहादलीले भने ।

यी नयाँ समूहहरू इराकका प्रधानमन्त्री जैदीका लागि प्रारम्भिक परीक्षा हुन् । इरानसँग घनिष्ठ सम्बन्ध भएका पूर्व प्रधानमन्त्री नुरी अल–मालिकीको पुनरागमन रोक्न शिया राजनीतिक ब्लकहरूको वर्चस्व रहेको गठबन्धनमाथि अमेरिकी दबाबपछि उनले गत महिना पदभार ग्रहण गरेका थिए ।

बगदाद लामो समयदेखि आफ्ना दुई निकटतम सहयोगीहरू वाशिङटन र तेहरानबीच सन्तुलन कायम गर्न कठिन प्रयासमा छ जुन युद्धको समयमा अझ गाह्रो भएको छ ।

इराकबाट हुने आक्रमणले धनी खाडी छिमेकीहरूसँगको सम्बन्ध सुधार्न बगदादले गरेको प्रयासलाई पनि जोखिममा पारेको छ । सन् १९९० मा सद्दाम हुसेनले कुवेतमा आक्रमण गरेदेखि यी छिमेकीहरूसँगको सम्बन्ध चिसिएको थियो तर पछिल्ला वर्षहरूमा सुधार हुन थालेको थियो ।

कुवेत, साउदी अरब र यूएईले यी आक्रमणहरूको विरोध गर्न अप्रिलमा इराकका दूतहरूलाई बोलाएका थिए ।

सुरक्षा अधिकारीहरूका अनुसार, इराकी अधिकारीहरूले मे १७ को ड्रोन आक्रमण जसमा बराकाह आणविक ऊर्जा केन्द्रमा आगलागी भएको थियो । त्यसमा यी समूहको संलग्नता छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । साउदी अरबले सोही दिन इराकबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोनलाई नष्ट गरेको बताएको छ जुन आक्रमण नयाँ समूहले गरेको इराकी अधिकारीहरूको भनाइ छ ।

जैदीले यी दुई आक्रमणको निन्दा गर्दै तिनलाई आपराधिक कार्यका रूपमा वर्णन गरेका छन् र इराकी भूमि तिनीहरूलाई लक्षित गर्न प्रयोग गरिएको हो कि होइन भनेर प्रमाणित गर्न दुवै खाडी देशहरूसँग संयुक्त अनुसन्धानको प्रतिज्ञा गरेका छन् ।

जैदीका प्रवक्ता नुमानले अनुसन्धानको अवस्थाबारे सोधिएका प्रश्नहरूको जवाफ दिएनन् ।

Skip This