
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले भन्सार दर हेरफेर र राजस्व नोक्सानीका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयले दुई हप्तासम्म भन्सारमा आएका विद्युतीय गाडीहरू किन नियन्त्रणमा राखेको भनी प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले यदि भन्सार दर हेरफेर र त्यसको सूचना चुहावट नभएको भए प्रधानमन्त्री कार्यालयले दुई हप्तासम्म भन्सारमा आएका विद्युतीय गाडीहरू किन नियन्त्रणमा राखेको भन्दै प्रश्न गरेका हुन् ।
उनले उच्च शैक्षिक योग्यता हुनु नै इमानदारीको ग्यारेन्टी नभएको तर्क गर्दै पूर्व अर्थमन्त्रीहरू डा. रामशरण महत, डा. प्रकाशचन्द्र महत र डा. युवराज खतिवडाको कार्यकालमा भएका अनियमितताका घटनाहरू स्मरण गराए ।
उनले भने, ‘यो देश पढेलेखेका र शक्तिमा पुगेका तर देशप्रति इमानदार नभएका व्यक्तिहरूले गर्दा यो अवस्थामा आइपुगेको हो । समस्या ज्ञानको अभाव होइन, नैतिकताको अभाव हो ।’
संसद्मा साना दलहरूलाई संख्याका आधारमा अपमान गरिएको भन्दै उनले सत्ता पक्षको आलोचना गरे। उनले संसदीय व्यवस्थामा एक जना सांसदको महत्त्व पनि उत्तिकै हुने भन्दै संसद् संख्याले नभई विधि र नीतिले चल्नुपर्नेमा जोड दिए ।
विगतका सरकार र वर्तमान सरकारको तुलना गर्दै शाहीले शासन गर्ने अनुहार फेरिए पनि शैली र चरित्रमा कुनै परिवर्तन नआएको उल्लेख गरे ।
उनले भने, ‘हिजो सडकमा भौतिक आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ । हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमति दबाउन खोजिन्थ्यो, आज पनि त्यही प्रवृत्ति दोहोरिएको छ ।’
सांसद शाहीले जनताले शासन शैली र संस्कारमा परिवर्तन खोजेको भन्दै नियत र व्यवहार नफेरिएसम्म सत्ता परिवर्तनको कुनै अर्थ नहुने बताए । उनले निष्पक्ष संसदीय समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग पुनः माग गरे ।








प्रतिक्रिया