अन्तर्वार्ताको बीचैमा किन सन्केर हिँडे ट्रम्प ?

1.5k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो विवादास्पद वेपनाइजेसन कोष र निर्वाचन धाँधलीबारे निरन्तरका दाबीहरूका प्रमाणका विषयमा प्रश्न सोधिएपछि एनबीसीको मिट द प्रेस कार्यक्रमको रेकर्डेड अन्तर्वार्ता बीचैमा छाडेर बाहिरिएका छन् ।

विस्कन्सिनको एउटा फार्ममा एनबीसीकी क्रिस्टन वेल्करलाई ट्रम्पले अन्तर्वार्ता दिएका थिए । त्यसमा इरान युद्ध, सम्भावित ब्याजदर वृद्धि र १.७७६ अर्ब डलरको वेपनाइजेसन कोषका बारेमा चर्चा गरिएको थियो ।

यो कोष सन् २०२१ जनवरी ६ मा प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्ने र दोषी ठहरिएका हिंसात्मक दंगाकारीहरूलाई आर्थिक क्षतिपूर्ति दिन प्रयोग हुन सक्छ । त्यस दिन हजारौं मानिसहरूले पूर्व राष्ट्रपति जो बाइडनको सन् २०२० को चुनावी विजयको प्रमाणीकरणमा अवरोध पुर्याउने प्रयास गर्दै संसद् भवनमा आक्रमण गरेका थिए ।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले यो कोष स्थायी रूपमा रोकिएको बताए पनि राष्ट्रपति ट्रम्पले अवरोधका बावजुद आफूले यो कोष अगाडि बढेको हेर्न चाहेको बताए ।

‘मेरो हातमा हुन्थ्यो भने म उनीहरूलाई पाउनुपर्ने जति पैसा दिने थिएँ,’ कोषका बारेमा ट्रम्पले बताए, ‘मानिसहरू बर्बाद भएका छन् । जीवनहरू नष्ट भएका छन् । कतिले त आत्महत्या समेत गरे, सोच्नुस् त ।’ राष्ट्रपतिले प्रमाण विना नै बारम्बार यस्ता दाबीहरू गर्दै आएका छन् ।

यो कोष एक मिलापत्रपछि स्थापना गरिएको थियो जसमा ट्रम्पले सन् २०१९ र २०२० मा आफ्नो कर विवरण चुहावट भएको विषयमा आन्तरिक राजस्व विभाग (आईआरएस) विरुद्धको १० अर्ब डलरको मुद्दा फिर्ता लिएका थिए । त्यसको बदलामा तथाकथित वेपनाइजेसन कोष बनाइएको थियो जसको उद्देश्य लफेयर (कानुनी लडाइँलाई हतियारको रूपमा प्रयोग गर्ने) को शिकार भएको दाबी गर्नेहरूलाई क्षतिपूर्ति दिनु हो ।

‘मलाई लाग्छ, वेपनाइजेसन कोष उत्कृष्ट विचार हो,’ उनले भने । ‘यसले स्वीकृति पायो भने त्यो राम्रो हो । पाएन भने म निराश हुनेछु ।’

उक्त सम्झौताले ट्रम्प, उनका परिवारका सदस्य र सम्बन्धित व्यावसायिक निकायहरूलाई अदालत बाहिरको मिलापत्र हुनुभन्दा अघि दर्ता गरिएका कर विवरणहरूसँग सम्बन्धित कर अडिट र प्रवर्तन कारबाहीहरूबाट सधैंका लागि सुरक्षा दिने शर्त पनि राखेको छ ।

तर, यो वेपनाइजेसन कोष नै सबैभन्दा बढी विवादको विषय बनेको छ । यो कोष क्यापिटल हिलमा तुरुन्तै विवादको केन्द्र बन्यो जहाँ धेरै रिपब्लिकनहरूले ह्वाइट हाउसको कुरा नमानी यस कोषको विरोध गरे । गत महिना अदालतले यस कोषलाई रोकिदिएको थियो ।

ट्रम्पले जनवरी ६ का दंगाकारीहरूलाई एफबीआईले नै संसद्भित्र पठाएको संकेत गरे । यस दाबीका लागि उनले कुनै प्रमाण दिएनन् र भवनको रक्षा गर्न खोजिरहेका क्यापिटल पुलिस अधिकारीहरूलाई दंगाकारीहरूले कुटपिट गरेको भिडियोले यस दाबीलाई व्यापक रूपमा खण्डन गरिसकेको छ ।

एनबीसीले यी दाबीहरूका लागि प्रमाण मागेपछि ट्रम्पले निर्वाचन धाँधलीका दाबीहरू सुरु गरे । उनले लामो समयदेखि यस्तो दाबी गर्दै आए पनि अदालतमा भने ती कुरा प्रमाणित गर्न सकेका छैनन् ।

‘निर्वाचनमा धाँधली भएको थियो, त्यो एउटा फोहोरी चुनाव थियो र अहिले क्यालिफोर्नियामा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ,’ उनले क्यालिफोर्नियाको मेयर र गभर्नरको चुनावका लागि भइरहेको प्राइमरीलाई लक्षित गर्दै भने । त्यहाँ अझै पनि मत गणना भइरहेको छ ।

क्यालिफोर्नियाले प्रत्येक दर्ता भएका मतदातालाई हुलाक मार्फत मतपत्र पठाउँछ र चुनावको दिन वा सोभन्दा अघि हुलाक छाप लागेका र एक हप्ताभित्र आइपुग्ने मतपत्रहरूलाई स्वीकार गर्छ । यसले गर्दा प्रायः मत गणना सुस्त हुन्छ ।

रिपब्लिकनहरूले लामो समयदेखि यसमा गलत काम भएको आरोप लगाउँदै आएका छन् किनकि ढिलो आइपुग्ने मतपत्रहरू गणना भएपछि डेमोक्रेटिक उम्मेदवारहरूको मत रिपब्लिकन प्रतिद्वन्द्वीहरूको भन्दा धेरै बढ्ने गर्छ ।

‘उनीहरूले चुनावमा ठगी गरिरहेका छन्,’ ट्रम्पले दाबी गरे । प्रमाणका लागि सोधिएपछि ट्रम्पले तर्क गरे, ‘मैले केवल हेर्नुपर्छ… र म मानिसहरूको कुरा सुन्छु, अब हेरौं के हुन्छ ।’

‘के तपाईंलाई लाग्छ यो उचित हो कि चुनाव भएको पाँच दिन भइसक्दा पनि उनीहरू विजेता छान्न सक्ने अवस्थाको नजिक समेत छैनन् ?’ उनले भने, ‘उनीहरू भ्रष्ट छन्, जसरी तपाईं भ्रष्ट हुनुहुन्छ, तपाईंको प्रेस भ्रष्ट छ र ‘मिट द प्रेस’ पनि भ्रष्ट छ ।’

वेल्करले ट्रम्पलाई आफ्ना दाबीहरूको समर्थनमा प्रमाण दिनका लागि दबाब दिने प्रयास गरिन् । तर, ट्रम्पले दिएनन् । उनले ट्रम्पलाई कार्यवाहक महान्यायाधिवक्ता ब्लान्चका बारेमा सोधिएको प्रश्नतर्फ फर्काउन धेरैपटक प्रयास गरिन् तर राष्ट्रपतिले बीचमै अन्तर्वार्ता रोकेर सेटबाट बाहिरिए ।

‘अब यसलाई यतिमै रोकौं किनभने मेरा लागि यो पर्याप्त भयो । धन्यवाद, नानी ! रमाइलो गर,’ राष्ट्रपतिले बाहिर निस्कने क्रममा आफ्नो लापेल माइकलाई खुट्टाले किच्दै भने ।