नेपाल र भारतबीच सीमापार ‘पी टु पी’ डिजिटल भुक्तानी कारोबार सुरू

अब नेपाल र भारतमा डिजिटल भुक्तानी मार्फत रियल टाइममै रेमिट्यान्स पठाउन सकिने

672
Shares


काठमाडौं । अब भारतमा काम गर्ने नेपालीहरूले डिजिटल माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् । त्यस्तै नेपालमा काम गर्ने भारतीयहरूले पनि डिजिटल माध्यमबाट भारतमा रेमिट्यान्स पठाउन सक्ने भएका हुन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा. एस जयशंकरसँगको भेटपछि संयुक्त रूपमा नेपाल र भारतबीच ‘पी टु पी’ क्रसबोर्डर भुक्तानी सञ्चालन गर्ने घोषणा भएको हो । नेपाल र भारतबीच सन् २०२३ मा नै क्रसबोर्डर डिजिटल भुक्तानी सुरू गर्ने घोषणा भएको थियो ।

सन् २०२३ मा नेपाल क्लियरीङ हाउस (एनसीएचएल) र नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच क्रसबोर्डर डिजिटल भुक्तानी सुरू गर्ने समति भएको थियो । सोही सहमति अनुसार नेपाल र भारतबीच ‘पी टु पी’ क्रसबोर्डर भुक्तानी सुरू भएको सुरू गरिएको नेपाल क्लियरीङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले बताए ।

अब नेपालामा काम गर्ने भारतीय नागरिकले नेपाल राष्ट्र बैंकले तोकेको शर्त र सीमा अनुसार रियल टाइममा नै भारतमा पैसा पठाउन सक्ने उनले बताए । त्यस्तै भारतमा कार्यरत नेपालीहरूले पनि नेपालमा रहेको बैंक खातामा रियल टाइममा नै पैसा पठाउन सक्ने उनले बताए ।

‘नेपाल र भारतबीचको सीमापार ‘व्यक्ति–देखि–व्यक्ति’ (पीटुपी) रेमिट्यान्स सेवा, नेपालको नेसनल पेमेन्ट इन्टरफेस र भारतको युनिफाइड पेमेन्ट इन्टरफेसलाई जोडेर आधिकारिक रूपमा सुरू गर्ने घोषणा भएको छ,’ नेपाल क्लियरीङ हाउसले भनेको छ ।

नेपाल राष्ट्र बैंकले २०८० चैत १२ गतेदेखि विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै क्रसबोर्डर डिजिटल भुक्तानी सम्बन्धी व्यवस्था गरेको थियो । सोही नीतिगत व्यवस्थापछि फोन पे नेटवर्कम आवद्ध भएकाहरूले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने पर्यटहरूको लागि विभिन्न वस्तु तथा सेवा खरिदको मर्चेन्ट भुक्तानीमा क्रसबोर्डर डिजिटल भुक्तानी सेवा सुरू गरिसकेका छन् ।

नेपाल क्लियरीङ हाउसले भने सीमापार ‘पी टु पी’ डिजिटल भुक्तानी सेवा सुरू गरेको हो ।

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार भारतीय रुपैयाँ र प्रति महिना १ लाख भारतीय रुपैयाँ जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।

सोही सिमाभित्र रहेर नेपालमा रहेका भारतीयहरूले भारतमा रकम पठाउन सक्ने नेपाल क्लियरीङ हाउसका प्रमुख कर्याकारी अधिकृत प्रधानले बताए ।

यस्तै भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किमको अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सकिने व्यवस्था गरेको थियो ।

नेपाल र भारतीयहरूले यसरी नेपालको बैंक खातामा रकम पठाउन सक्ने र भारतीय रिजर्भ बैंकले प्रतिकारोबार २ लाख भारतीय रुपैयाँको सिमा तोकेको प्रधानले बताए ।

यस्तै नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी (विदेशमा जारी भएको क्युआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकर गर्न सक्ने व्यवस्था छ ।

यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरू र सोका निराकरण / न्यूनीकरणका उपायहरू सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । यसरी क्रस बोर्डर क्युआर एक्वारिङ २०८२ चैतमा मात्रै ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाल क्लियरीङ हाउसले क्रसबोर्डर ‘पी टु पी’ भुक्तानी सेवा सुरू गरेसँगै नेपाल र भारतमा हुने रेमिट्यान्स कारोबारमा सहजीकरण हुने भएको छ ।

यसले सहज, सुरक्षित र वास्तविक समयमा हुने सीमापार रेमिट्यान्स सेवाहरूलाई प्रवद्र्धन गर्न एक महत्त्वपूर्ण कदम चालेको क्लियरीङ हाउसले भनेको छ । यसले दुई देशबीचको आर्थिक आबद्धता र वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास रहेको क्लियरीङ हाउसले भनेको छ ।

‘पी टु पी’ क्रसबोर्डर भुक्तानी सुरू भएसँगै अब ‘पी टु एम’ क्रसबोर्डर भुक्तानीको काम सुरू हुने प्रधानले बताए ।