
काठमाडौं । चीनको शेन्जेनमा हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरणको समापन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। यससँगै प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।
यस वर्षको हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगितामा विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रका २,००० भन्दा बढी उच्च शिक्षण संस्थाबाट २ लाख २० हजारभन्दा बढी विद्यार्थी तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो, जसले यस संस्करणलाई प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो बनाएको छ। राष्ट्रिय तथा क्षेत्रीय चरणहरू पार गर्दै ४९ देश तथा क्षेत्रका १७७ टोलीहरू विश्वव्यापी अन्तिम चरणमा पुग्न सफल भएका थिए र विभिन्न विधामा सम्मानित भएका छन् ।
यस वर्ष हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिताको १० औं संस्करण सम्पन्न भएको हो। अभ्यास ,नवप्रवर्तन तथा प्रोग्रामिङ गरी तीन प्रमुख प्रतिस्पर्धात्मक विधाहरूमा भएको कडा प्रतिस्पर्धापछि ८ देशका १८ उत्कृष्ट टोलीहरूले मुख्य पुरस्कार जित्न सफल भएका छन् । यी देशहरूमा चीन, नाइजेरिया, सिंगापुर, अल्जेरिया, ब्राजिल, इजिप्ट, केन्या तथा डोमिनिकन गणतन्त्र रहेका छन् ।
प्राविधिक उत्कृष्टताभन्दा बाहिर गई उल्लेखनीय योगदान पुर्याउने सहभागीहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो । “प्रविधिमा महिला” पुरस्कार अजरबैजान, नाइजेरिया, केन्या, चीन तथा बहराइनका सात महिला टोलीहरूलाई प्रदान गरिएको थियो भने हरित विकास पुरस्कार घाना र चीनका दुई टोलीहरूले प्राप्त गरेका छन् । चीनका १० विद्यार्थीहरूले हुवावे भविष्य व्यवसायिक नेता ट्र्याकका लागि विशेष प्रवेश अवसर प्राप्त गरेका छन् ।
त्यसैगरी पाकिस्तान, चीन, नाइजेरिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, ब्राजिल, चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र, थाइल्याण्ड तथा टर्कीका १६ उत्कृष्ट प्रशिक्षकहरूलाई “सबैभन्दा मूल्यवान प्रशिक्षक पुरस्कार” प्रदान गरिएको थियो । इजिप्ट, ब्राजिल, मलेसिया, पोल्याण्ड तथा पाकिस्तानका ६ टोलीहरूले “सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता अनलाइन लोकप्रियता पुरस्कार” प्राप्त गरेका छन् ।
पुरस्कार वितरण समारोहमा ११ देशका राजदूत, महावाणिज्यदूत तथा कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले आफ्ना देशका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा पुरस्कार प्रदान गरेका थिए ।
समापन तथा पुरस्कार वितरण समारोहमा हुवावे सूचना तथा सञ्चार प्रविधि रणनीति तथा व्यवसाय विकास विभागका अध्यक्ष रिची (होङ्ह्वा) पेङले प्रतियोगिताले समाज तथा वातावरणको दिगो विकासलाई समर्थन गर्दै “प्रविधि सदुपयोगका लागि” भन्ने हुवावेको दीर्घकालीन प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए। उनले नवप्रवर्तन प्रतियोगिताले वास्तविक जीवनका चुनौतीहरू समाधान गर्न प्रतिस्पर्धामार्फत सिकाइको महत्त्व देखाएको उल्लेख गरे । साथै अभ्यास र प्रोग्रामिङ प्रतियोगिताका सहभागीहरूले आफ्नो समर्पण, जिज्ञासा र गहिरो प्राविधिक दक्षता प्रदर्शन गरेको बताए ।
युनेस्को सूचना प्रविधि शिक्षामा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान की कार्यवाहक निर्देशक तथा शिक्षा र कृत्रिम बुद्धिमत्ता विभाग प्रमुख डा। शफिका इसाक्सले युनेस्को र हुवावेबीचको सहकार्यको प्रशंसा गर्दै प्रतियोगितामा सहभागी विद्यार्थीहरूको उपलब्धिको सराहना गरिन् । उनले कृत्रिम बुद्धिमत्ताको भविष्य निर्माणका लागि सरकार, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक क्षेत्र तथा उद्योगबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उनले युनेस्को र हुवावेले अरब राष्ट्रहरूमा एआई क्षमता अभिवृद्धि कार्यक्रम तथा मध्य एशिया र ककासस क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि शिक्षा सहकार्य परियोजनाहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् । यी पहलहरूले उच्च शिक्षा तथा प्राविधिक तालिम प्रणालीलाई सुदृढ बनाउँदै भविष्यका लागि सक्षम जनशक्ति विकास गर्न सहयोग गरिरहेका छन् ।









प्रतिक्रिया