डाउनपेमेन्ट बिनै अनरको स्मार्टफोन किन्न मिल्ने गरी एनआईसी एशिया र इएफआईएक्सबीच सम्झौता

182
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको अथराइज्ड रिसेलर ईएफआईएक्स नेपालबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । 

आफ्ना ग्राहक महानुभावहरुको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र इएफआईएक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर किस्ताबन्दीमा अनर ब्राण्डका स्मार्टफोनहरू ईएफआईएक्सको वेवसाइटबाट efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ पाउन सकिने बैंकले जनाएको छ ।

यस्तै मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।

साथै, विदेशमा रहेका नेपालीहरूले समेत ईएफआईएक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘साइबरसोर्स’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् । 

यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।