
काठमाडौं । प्रधानमन्त्रीले देशको वर्तमान विद्युत संरचनाले तत्कालै पूर्ण विद्युतीय युग धान्न नसक्ने बताएका छन् । प्रतिनिधि सभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को बचाउ गरे ।
प्रधानमन्त्रीले अहिलेकै अवस्थामा देशका सबै घरमा इन्डक्सन चल्ने हो भने प्रणालीले धान्न नसक्ने उल्लेख गरे । ‘देशका हरेक किचनमा अहिले नै बिजुलीबाट वा इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्,’ उनले भने, ‘हाम्रो अहिलेको भौतिक संरचनाको क्षमता छैन ।’
विद्युतीय युगमा जानका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै उनले अर्थमन्त्रीले प्रस्ताव गरेको ५ प्रतिशत भ्याट धेरै ठूलो रकम नभएको तर्क गरे । १०० रुपैयाँमा ५ रुपैयाँ मात्र थप हुने भन्दै यो रकम विद्युत पूर्वाधार विकासमै खर्च हुने उनले बताए । ‘विद्युतमा लगाएको भ्याट ट्रान्सफर्मर अपग्रेड गर्न खर्च हुन्छ । ट्रान्समिसन लाइनको तारको मोटाइ बढाउनुपर्छ र सबस्टेसनहरू सुधार गर्नुपर्छ। अनि मात्र हामी साँच्चिकै विद्युतीय युगमा जान सक्छौं ।’
सरकार नेपाललाई पूर्ण विद्युतीय युगमा लैजान अग्रसर रहेको र त्यसका लागि आवश्यक पूर्वाधार तयार पार्न स्रोत जुटाउनु अनिवार्य रहेको उनको भनाई छ । आगामी आर्थिक वर्षको बनेटमार्फत ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयप्रति सांसदहरूले प्रश्न उठाएका थिए।





प्रतिक्रिया