
काठमाडौं । नेपालको कुल राष्ट्रिय बचतमा सुधार भएपनि कुल गार्हस्थ्य बचत थप खस्किएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बुधबार संघीय संसदको दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा कुल गार्हस्थ्य बचत घटेको उल्लेख छ।
गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा बचत–लगानी अन्तर २०.९ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यो अन्तर २.८ प्रतिशत विन्दुले घटेर १८.१ प्रतिशतमा झर्ने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पछिल्लो एक दशकमा यस्तो अन्तर सबैभन्दा बढी आर्थिक वर्ष २०७६/७७ मा थियो ।
राष्ट्रिय बचतको अवस्थामा भने सुधार देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशतले ऋणात्मक रहेको राष्ट्रिय बचत र लगानीको अन्तर त्यसपछिका वर्षहरूमा धनात्मक हुँदै गएको छ । रेमिट्यान्स (विप्रेषण) प्रवाहमा भएको वृद्धि, व्यावसायिक सेवा र सूचना प्रविधिको निकासीबाट प्राप्त आम्दानीका कारण कुल राष्ट्रिय बचत बढेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष ९ प्रतिशत रहेको राष्ट्रिय बचत र लगानीको अनुपात यो वर्ष बढेर १२.८ प्रतिशत पुग्ने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
नेपालीहरूको प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा १ हजार ९ सय १४ अमेरिकी डलर रहेको प्रतिव्यक्ति खर्चयोग्य आय चालु आर्थिक वर्षमा वृद्धि भई २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
आर्थिक क्रियाकलापमा देखिएको केही सिथिलता र न्यून आर्थिक वृद्धिका बाबजुद राष्ट्रिय आम्दानीका स्रोतहरू (विशेषगरी रेमिट्यान्स र सेवा निर्यात) मा भएको बढोत्तरीले अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक संकेत देखिएको विश्लेषण छ ।
मुलुकको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ४६ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो आय २ लाख ६ हजार ६ सय २५ रुपैयाँ रहेको थियो ।
तर, नेपाली रुपैयाँको अवमूल्यनका कारण डलरमा आधारित प्रतिव्यक्ति आयमा भने सामान्य गिरावट देखिएको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन भएकाले डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १६ बाट घटेर १ हजार ५ सय १३ अमेरिकी डलर रहने अनुमान छ ।









प्रतिक्रिया