लक्ष्मी सनराइज बैंक र ब्रिटिस इन्टरनेशनलबीच २ करोड ५० लाख डलरको कर्जा सम्झौता

294
Shares

काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ ।

यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु भएको बताइएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ ।

तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत लघु, साना तथा मझौला उद्यमले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन् ।

यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ ।

यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल ‘२एक्स च्यालेन्ज’ अन्तर्गत मान्यता प्राप्त गरेको छ ।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट यस पहलको संस्थापक सदस्यसमेत हो। बैंकको सुशासन, नेतृत्व, रोजगारी र कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको हो ।

साथै, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टको प्राविधिक सहयोग कार्यक्रम ‘इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल’ ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको छ ।

यस सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ ।

यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्याउनेछ ।

बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले बेलायत लामो समयदेखि नेपालको विश्वसनीय साझेदारका रूपमा रहँदै आएको बताइन् ।

नेपालको अर्थतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउन बेलायतले निरन्तर सहयोग गर्दै आएको बताइन् ।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजनले कम्पनीले सबैभन्दा बढी प्रभाव पार्न सकिने क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको बताए ।