ओली सरकारको निर्णयले व्यवसायीमा छायो खुसीयाली



काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सार्वजानिक विदामा व्यापक कटौति गरेको छ । सार्वजानिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति कर्मचारीहरु दुखी भएका छन् भने व्यवसायीहरुमा खुसीयाली छाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाले ट्वीट गर्दै सार्वजानिक विदा कटौति गरेकोमा प्रधानमन्त्रीलाई धन्यबाद दिएका छन् । सार्वजानिक विदा कटौति गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रको उत्पादकत्व बढाउने मुरारकाको ट्वीटमा उल्लेख छ ।

नेपाल चेम्बर अफ कमर्शले विज्ञप्ती नै जारी गरी सार्वजानिक विदा कटौति गर्ने सरकारी निर्णयको प्रसंसा गरेकोछ ।

‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै उद्योगी/व्यवसायीहरुले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएका थिए ।

मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले आगामी वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । वितेका वर्षहरुको भन्दा आगामी वर्षका लागि सरकारले १५ दिनको सार्वजानिक विदा घटाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा युवा व्यवसायी प्रवलजंग पाण्डेले व्यवसायीहरुले १०/१२ वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे ।

‘धेरै दिन सार्वजानिक विदा हुँदा हामीलाई आफ्नो व्यापार व्यवसाय गर्नसमेत कठिन भइरहेको थियो,’ व्यवसायी पाण्डेले क्लिकमाण्डूसँग भने, ‘सार्वजानिक विदाका दिन निजी क्षेत्रमा विदा नभए पनि बैंक पनि विदा हुने, सरकारी कार्यालयहरु पनि विदा हुने भएकाले हाम्रो उत्पादकत्व कमजोर भइरहेको थियो ।’

सार्वजानिक विदाका कारण विदेशमा भुक्तानी गर्न नमिल्ने समस्या भएकाले विदेशीसामू नेपालको क्रेडिबिलिटी समेत खस्किँदै गएको उनले सुनाए ।

‘अब उद्योग व्यवसायको उत्पादकत्व बढ्छ, उद्योग व्यवसायको उत्पादकत्व बढ्नु भनेको देशको उत्पादकत्व बढ्नु हो,’ पाण्डेले भने, ‘ओली सरकारको यो निर्णयले अर्थतन्त्रलाई थप चलायमान बनाउँछ भन्ने हाम्रो विश्वास छ ।’

अन्य व्यवसायीहरुले पनि सामाजिक सञ्जालमार्फत् सार्वजानिक विदा कटौति गर्ने निर्णयको प्रसंसा गरेका छन् ।


पुष्प दुलाल