वैशाखको बजार मूल्य विश्लेषण प्रतिवेदन: अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि

पेट्रोलियम र डलरको उतारचढावले उपभोक्ता मारमा

28
Shares


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार वैशाख महिनामा चामल, दाल तथा गेडागुडी जस्ता अत्यावश्यक खाद्यान्नको मूल्यमा अघिल्लो महिनाको तुलनामा सामान्य वृद्धि भएको पाइएको छ ।

विशेष गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको फेरबदल र अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावका कारण ढुवानी लागत बढ्दा बजार मूल्य प्रभावित भएको प्रतिवेदनले औंल्याएको छ ।

विभागले महँगी नियन्त्रणका लागि बजारमा देखिएको मूल्य अस्थिरता र अस्वाभाविक उतारचढाव रोक्न उपभोक्ता संरक्षणसम्बन्धी ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्ने, बजार अनुगमनलाई सघन, नियमित र परिणाममुखी बनाउने, हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य अंकित गर्ने व्यवस्था मिलाउने, सिन्डिकेट, कार्टेलिङ र कालोबजारीविरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने र बिचौलियाको तह घटाएर उत्पादकदेखि उपभोक्तासम्मको आपूर्ति शृंखला छोटो बनाउने कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ ।

मुख्य सहरहरूमा खाद्यान्नको मूल्य अवस्था

विभागले देशका ६ वटा मुख्य सहरहरू (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र काठमाडौं) बाट सङ्कलन गरेको तथ्याङ्कअनुसार खाद्यान्नको मूल्यमा ठूलो अन्तर देखिएको छ ।

चामलतर्फ बास्मती चामलको औसत मूल्य काठमाडौंमा सबैभन्दा बढी प्रतिकिलो १९० रुपैयाँ रहेको छ भने वीरगञ्ज र धनगढीमा १६३ रहेको छ । त्यस्तै, सोना मन्सुली चामल वीरगञ्जमा ६४ मा पाइँदा काठमाडौंमा ९५ रुपैयाँ पुगेको छ ।

दाल र गेडागुडीतर्फ मासको दालको औसत मूल्य प्रतिकिलो १७७ देखि २०७ रुपैयाँसम्म रहेको छ । रहर दालको मूल्य अधिकतम २२५ (धनगढी र काठमाडौं) सम्म पुगेको छ । राज्माको मूल्यमा भने ठूलो अन्तर देखिएको छ । विराटनगरमा १७० रुपैयाँमा बिक्री भएको राज्मा काठमाडौंमा ३०० रुपैयाँसम्म पुगेको छ ।

तेल र दुग्धजन्य पदार्थतर्फ तोरीको तेलको औसत मूल्य प्रतिलिटर २७४ देखि ३६० सम्म रहेको छ । घ्यूको मूल्य प्रतिकिलो न्यूनतम १११० देखि अधिकतम १३३० रुपैयाँसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

तरकारी र फलफूलमा उच्च उतारचढाव

वैशाख महिनामा केही तरकारीहरूको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याङ्कअनुसार घिउ सिमी (लोकल) तर्फ ३३४.७९ प्रतिशतको उच्च वृद्धि देखिएको छ (न्यूनतम २३ बाट अधिकतम १०० रुपैयाँसम्म) ।

बोडी (तने) तर्फ मूल्यमा २५० प्रतिशतको वृद्धि भई अधिकतम १०५ सम्म पुगेको छ । लौकातर्फ १६५ प्रतिशतले मूल्य वृद्धि भई ५३ सम्म पुगेको छ । फलफूलतर्फ केराको मूल्य प्रतिदर्जन ९० देखि २२० सम्म र स्याउ प्रतिकिलो २०० देखि ३५५ रुपैयाँसम्म रहेको छ ।

मासु र माछाको मूल्य

खसीको मासुको औसत मूल्य देशभर प्रतिकिलो १००० देखि १२०० सम्म रहेको छ । बोइलर कुखुराको मासु प्रतिकिलो न्यूनतम ३६६ देखि अधिकतम ४७० सम्म पुगेको छ भने माछा (लोकल) को मूल्य ४०० देखि ५२५ रुपैयाँसम्म रहेको छ ।