
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२.२१ प्रतिशत हो ।
कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म चार अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।
वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३.८७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए ।
कार्यालयका तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाट एक अर्ब २८ करोड ८० लाख १० हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व संकलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।









प्रतिक्रिया