
काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउनमा वातावरण नभएर राज्यको सोच र भिजन बाधक भएकाे सूर्य नेपालका उपाध्यक्ष रवि केसीले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको विदेशी लगानी सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा केसीले नेपालमा वैदेशिक लगानी भित्रिन नसक्नुमा लगानीको भौतिक वातावरणको कुनै दोष नभएकाे बताए । उनले भने ‘ यसमा राज्यको सोच, दृष्टिकोण र स्पष्ट भिजनको अभाव मुख्य जिम्मेवार दिखिएको छ।’
नेपाललाई विश्वकै उत्कृष्ट औद्योगिक गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना भए पनि नीतिगत अस्पष्टता र लगानीकर्तालाई हेर्ने संकुचित नजरका कारण वैदेशिक लगानीको क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेको उनको ठम्याइ छ।
उपाध्यक्ष केसीका अनुसार भौगोलिक अवस्थितिका आधारमा नेपाल व्यापारिक रणनीतिका लागि विश्वकै महत्वपूर्ण स्थानमा छ। चीन र भारतजस्ता ठूला बजारको बीचमा रहनु र एक घण्टाको हवाई दूरीभित्र विश्वको दुई तिहाइ जनसंख्यामा पहुँच हुनु नेपालको सबैभन्दा ठूलो सामर्थ्य हो।
उनले भने यसका साथै सस्तो र स्वच्छ ऊर्जा (जलविद्युत), सस्तो श्रमशक्ति र उत्पादन लागत घटाउन सघाउने अनुकूल मौसम हुँदाहुँदै पनि यसलाई पुँजीकृत गर्ने भिजन राज्यसँग नरहेको उनले औंल्याए । नेपालमा हाल सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूको अवस्थालाई हेर्दा लगानीको वातावरण प्रतिकूल नरहेको पुष्टि हुने केसीको तर्क छ।
अहिलेसम्म नेपालमा माओवादि द्वन्द्वका कारण कोलगटे बाहेक सबै बहुराष्ट्रिय कम्पनीले राम्रो मुनाफा कमाइरहेको तथ्य प्रस्तुत गर्दै उनले नाफा हुँदाहुँदै पनि नयाँ लगानीकर्ता हच्किनुको कारण प्रशासनिक र नीतिगत झन्झट रहेको स्पष्ट पारे ।
नेपालको कानुनले ठूला उद्योग र व्यक्तिलाई हेर्ने दृष्टिकोण समान हुनु लगानीको बाधक बनेको केसीले बताए। विशेष गरी जग्गाको हदबन्दी (ल्याण्ड सिलिङ) सम्बन्धी व्यवस्थाले ठूला उद्योगलाई समस्यामा पारेको छ। अर्बाै लगानी गर्ने उद्योगलाई पनि व्यक्तिको सरह १० बिगाहाको हदबन्दी लगाउनु अव्यावहारिक रहेको भन्दै उनले ठूला लगानीका लागि जग्गा प्राप्ति र उपयोगमा खुकुलो नीति आवश्यक रहेकोमा जोड दिए।
नेपालमा नीतिगत स्थिरताको अभाव अर्को ठूलो चुनौती भएकाे तर्क गर्दै उनले भने ‘ठूलो उद्योग स्थापना भएर प्रतिफल दिन कम्तीमा १० देखि १५ वर्ष लाग्ने भए पनि यहाँ करका दर र नियमहरू छिटो–छिटो परिवर्तन भइरहँदा लगानीकर्तामा अविश्वास पैदा हुने गरेको छ।’
सूर्य नेपालका उपाध्यक्ष केसीले राज्य संयन्त्र र समाजमा व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा पनि लगानीकर्ता निरुत्साहित भएको बताए। नाफा कमाउनुलाई अपराधका रूपमा हेर्ने प्रवृत्ति, कर प्रशासनको झन्झट, र ससाना त्रुटिलाई पनि ठूलो घोटालाका रूपमा प्रचार गर्ने शैलीले कर्पोरेट क्षेत्र त्रसित रहेको उनले उल्लेख गरे।
प्रशासनिक निकाय र नियमनकारी निकायहरूले गर्ने अनावश्यक दुःख र मिडियाले गर्ने नकारात्मक प्रचारले विदेशी ब्रान्डहरू नेपाल आउन डराउने गरेको उनको बुझाइ छ ।
नेपालको श्रम बजारमा देखिएको विरोधाभासपूर्ण अवस्थाका बारेमा चर्चा गर्दै केसीले बेरोजगारीको समस्या भनिए पनि उद्योगहरूले योग्य र इमानदार जनशक्ति पाउन नसकेको गुनासो पनि उनले गरे। नेपालीहरू विदेशमा पुगेर कडा परिश्रम गर्न तयार हुने तर स्वदेशमा त्यही मेहनत र अनुशासन नदेखाउने प्रवृत्तिले औद्योगिक उत्पादकत्वमा असर पुर्याएको उनले बताए।
नेपालमै बसेर इमानदारीपूर्वक काम गर्ने हो भने वैदेशिक रोजगारीको तुलनामा बढी कमाउन सकिने अवसर भए पनि श्रम संस्कृतिको विकास हुन नसकेको उनको बुझाइ छ।
नेपालले आफ्नो सोच र नीतिमा मात्रै सुधार गर्ने हो भने ५ वर्षभित्रै मुलुकको आर्थिक कायापलट हुन सक्ने दाबी केसीको छ । जग्गा नीतिमा सुधार, पूर्वाधारको विकास, नीतिगत स्थिरता र व्यवसायीलाई सम्मान गर्ने संस्कृतिको विकास भएमा नेपाल दक्षिण एसियाकै प्रमुख औद्योगिक हब बन्न सक्ने विश्वास उनले व्यक्त गरे। हिमाल र प्रकृतिको मात्रै चर्चा गरेर नहुने भन्दै उनले आर्थिक समृद्धिका लागि लगानीकर्तालाई आकर्षित गर्ने ठोस र दीर्घकालीन भिजन ल्याउन राज्यलाई सुझाव दिएका छन्।









प्रतिक्रिया