पश्चिम एशिया युद्धको असर: इन्धनको मूल्यवृद्धिले महँगीको डर, रेमिट्यान्स प्रभावित भए बाह्य क्षेत्रमा दबाब

175
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सहज अवस्थामा भए पनि पश्चिम एशियामा जारी तनावले केही समस्या पर्न सक्ने विश्लेषण गरेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका कारण शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति सुविधाजनक स्थितिमा भएपनि नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४०% हिस्सा पश्चिम एसियाबाट रहेकोले त्यहाँ जारी तनावको प्रभाव पर्नसक्ने केन्द्रीय बैंकको विश्लेषण छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले पश्चिम एशियामा जारी तनावले वैदेशिक मुद्रा सञ्चिति र व्यापार घाटामा असर पर्न सक्ने जोखिम बैंकले औंल्याएको छ ।

हाल मुलुकको औसत उपभोक्ता मुद्रास्फीति २.३९%मा सीमित भएपनि पश्चिम एसियाको युद्धका कारण बढेको आपूर्ति शृखला प्रभावित हुँदा मुल्य वृद्धिको जोखिम बढेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

‘विश्व भूराजनीतिक तनाव, विशेष गरी पश्चिम एसियाको युद्धका कारण आपूर्ति शृखला प्रभावित हुँदा जोखिम बढेको छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘२०८२ फागुन १६ देखि २०८३ वैशाख ३१ सम्मको छोटो अवधिमा नेपालमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको छ । यसले आगामी दिनमा मूल्यवृद्धिमा चाप पार्न सक्ने देखिएको छ ।’

आन्तरिक तथा बाह्य क्षेत्रमा देखिएका विभिन्न दबाबका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत कायम रहने अनुमान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस वर्ष मौसमको प्रतिकूलता र प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर सुस्त १.५८ प्रतिशत रहने देखिएपनि उद्योग क्षेत्रमा ५.६७ प्रतिशत र सेवा क्षेत्रमा ४.२१ प्रतिशतको उत्साहजनक वृद्धि हुने अनुमान रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा लगानीको हिस्सा बढ्नुका साथै थोक तथा खुद्रा व्यापार, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र वित्तीय क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

सरकारले शासकीय र कानुनी सुधारलाई प्राथमिकता दिएको र मौद्रिक कार्यदिशालाई निरन्तरता दिएकाले आगामी दिनमा लगानी अझै बढ्ने अपेक्षा गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा केही बढेको देखिए पनि आर्थिक गतिविधिमा आउने सुधारसँगै यसमा कमी आउने अपेक्षा गरिएको राष्ट्र बैंकको विश्लेषण छ । हाल बैंकहरूको पुँजीकोष अनुपात नियामकीय मापदण्डभित्रै रहेकाले वित्तीय स्थायित्व कायम रहेको र क्रमशः सुधारको अपेक्षा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो तीन वर्षदेखि वित्तीय प्रणालीमा देखिएको अधिक तरलतालाई व्यवस्थापन गर्न र यसले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभावप्रति सजग रहेको राष्ट्र बैंकले जनाएको छ ।