इप्पान नयाँ नेतृत्व चयनका लागि भ्लोन नेतृत्वको टिम घोषणा, को-को परे ?

91
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ ।
आगामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषणा भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा भ्लोनले तीन वर्षे कार्यकालको भिजन र टिम घोषणा गरेका छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरे । उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्टलाई अघि सारिएको छ । त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएको छ ।

कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ । त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् ।

भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ । उक्त भिजनमा मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।

उनका अनुसार सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ, जसका लागि ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ । यो महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ तर, यो लगानीका लागि विद्युत खरिद सम्झौता (पीपीए), प्रशारण लाइन र प्रशासनिक जटिलता गम्भीर चुनौतीका रुपमा छन् । आगामी वर्षहरुमा यी जटिलता फुकाउन पहल गर्ने उनले बताए ।

अहिले करिब १२ हजार मेगावाट भन्दा बढीका आयोजनाहरूको पीपीए रोकिएको अवस्थालाई खुलाउन पहल गर्ने पनि उनले बताए ।

भिजन २०२९ सार्वजनिक गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोनले भने–‘नेपालको ऊर्जा क्षेत्र आज राष्ट्रिय अर्थतन्तको प्रमुख आधारका रूपमा स्थापित हुँदै गएको छ । निजी क्षेत्रको निरन्तर लगानी संघर्ष र प्रतिबद्धताकै कारण नेपाल लोडसेडिजमुक्त हुँदै ऊर्जा आत्मनिर्भरतातपो अधि बढेको छ र विद्युत निर्यात गर्ने राष्ट्रका रूपमा स्थापित हुने आधार तयार भएको छ । आज नेपालको कुल विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा माथि रहेको छ भने हजारौं मेगावाटका आयोजना निर्माण वित्तीय व्यवस्थापन तथा अध्ययनको चरणमा रहेका छन् ।’

थप उनले भने, ‘ऊर्जा क्षेत्रमा भएको लगानीले बैंकिङ तथा वित्तीय क्षेत्रमा व्यापक पूँजी परिचालन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा दुर्गम क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । जलविद्युतसँगै सौर्य ऊर्जामा निजी क्षेत्रको बढ्दो सहभागिताले नेपालको ऊर्जा सुरक्षालाई थप मजबुत बनाउँदै लगेको छ । निजी क्षेत्रको यहीं योगदानले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गरेको छ । नेपाल सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अघि सारेको वर्तमान अवस्थामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण र निर्णायक बनेको छ । तर पीपीए प्रसारण लाइन, विद्युत व्यापार नीतिगत अस्पष्टता वित्तीय व्यवस्थापन तथा प्रशासनिक जटिलताजस्ता चुनौतीहरू अझै कायम छन् ।’

साथै, वन, वातावरण र प्रशासनिक प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गर्न र ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने माग भिजन पत्रमा उल्लेख छ ।
विद्युत् व्यापारको क्षेत्रमा नेपाललाई दक्षिण एशियाकै ऊर्जा केन्द्र बनाउने लक्ष्यका साथ भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कुटनीतिक पहल लिने भ्लोन नेतृत्वको टिमको भिजन पत्रमा उल्लेख छ ।

वित्तीय पहुँच र सहुलियत ऋणको प्रतिबद्धता

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि ‘एनर्जी फन्ड’ स्थापना, ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा, संकटग्रस्त आयोजनाका लागि पुनर्कर्जा सुविधा तथा हकप्रद सेयर निष्कासनमा नीतिगत सहजीकरण गरिने उल्लेख गरिएको छ।

हाइड्रोलोजी पेनाल्टी हटाउने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने तथा वैदेशिक तथा मिश्रित लगानी भित्र्याउन विशेष पहल गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

प्रसारण लाइन र निर्यात विस्तारमा जोड

घोषणापत्रमा प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउने, सार्वजनिक–निजी साझेदारी मोडलमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने तथा ह्वीलिङ चार्ज वैज्ञानिक आधारमा निर्धारण गर्ने नीति अघि सारिएको छ।

भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता प्रभावकारी कार्यान्वयन गर्दै १० हजार मेगावाट विद्युत निर्यात गर्ने तथा बंगलादेशमा ५ हजार मेगावाट विद्युत निर्यातका लागि कूटनीतिक पहल गरिने उल्लेख गरिएको छ ।

इप्पानलाई ‘रिसर्च सेन्टर’ बनाउने घोषणा

घोषणापत्रमा इप्पानलाई केवल दबाब समूह नभई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। तथ्यांकमा आधारित पैरवी गर्न “इप्पान रिसर्च सेन्टर” स्थापना गर्ने, सातै प्रदेशमा इप्पानको संरचना विस्तार गर्ने तथा वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन आयोजना गर्ने योजना प्रस्तुत गरिएको छ।

उत्तम भ्लोन, वरिष्ठ उपाध्यक्ष

जेठ २९ गते हुने आठौं अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भ्लोन कार्की नेतृत्वको कार्यसमितिका उपाध्यक्ष हुन् । ४.४ मेगावाटको राधी जलविद्युत् आयोजना निर्माण गर्दै ऊर्जा क्षेत्रमा प्रवेश गरेका भ्लोनको नेतृत्वमा अहिलेसम्म ७ वटा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ ।

युनिभर्सल पावर कम्पनीमार्फत दोर्दी र रुकुमगाड आयोजना निर्माण गरेका भ्लोनले ३० मेगावाटको ङादी हुँदै हाल ४५ मेगावाटको कसुवा खोला निर्माणमा सक्रिय छन् । सुरुमा ४५ मेगावाटको यो आयोजना क्षमता विस्तार गरी ९५ मेगावाट हुँदैछ । साथै, संखुवासभाको छुजुङ खोला (९७ मेगावाट) को निर्माण पनि सँगसँगै अगाडि बढाइरहेका छन् ।

जलविद्युतका अलवा १७ सौर्य ऊर्जा आयोजना समेत अघि बढाइरहेका भ्लोनले ऊर्जाबाहेक रियल इस्टेट, अपार्टमेन्ट परियोजना, फाइभ स्टार होटल र अत्याधुनिक एआई डेटा सेन्टरमा पनि लगानी गरिरहेका छन् ।

बैंक, बीमा, शेयर मार्केट लगायतका विषयमा विज्ञता हासिल गरेका भ्लोन एनएमबि बैंकका सञ्चालक समेत हुन् ।

उत्तर कुमार श्रेष्ठ, उपध्यक्ष

आगामी कार्यसमितिका भ्लोनको टिमबाट उपाध्यक्षका उम्मेदवार उत्तरकुमार श्रेष्ठ बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । हाइड्रोकन्सल्ट इन्जिनयरिङ कम्पनीका अध्यक्ष रहेका श्रेष्ठ १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी, ३२७ मेगावाटको माथिल्लो मनाङ मर्स्याङ्दी लगायतका आयोजनामा सञ्चालक रहेका छन् ।


त्यस्तै अन्तरदेशिय विद्युत व्यापारका लागि स्थापित कम्पनी नेपाल पावर एक्सचेन्ज लिमिटेडका पनि श्रेष्ठ सञ्चालक हुन् ।

हिम प्रसाद पाठक, उपाध्यक्ष‘एक दशक अघि ६ मेगावाटको रुरु जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको अनुभवले ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत आयोजना निर्माणको नेतृत्व गरेका पाठक हाल ३४१ मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको नेतृत्व गरिरहेका छन् ।

बिक्रम बिष्ट, उपाध्यक्ष
दुई दशक अघि बराम्ची जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादनमा सक्रिय रहेका बिष्टले हाल ४० मेगावाटको इसुवा इनर्जीका अध्यक्ष हुन् । ९७ मेगावाटको केबिएनआर इसुवा जलविद्युत बयोजनाका ठूला लगानीकर्ता रहेका बिष्ट कुमारी बैंक, सूर्यज्योति इन्स्योरेन्स र आईसीएफसी फाइनान्सका प्रमोटर सेयर होल्डर हुन् ।

सुसन कर्माचार्य, उपाध्यक्ष
२४ मेगावाटको मादमेखोला जलविद्युत आयोजना र ८ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेकी कर्माचार्यको नेतृत्वमा २०३ मेगावाट क्षमताको माथिल्लो बुढिगण्डकी जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

लालिगुरास बाटिका स्कुल, नमुना अस्पताल, स्काइ ब्लु लाइटिङ टेक्नोलोजी, कलश होल्डिङ लगायतका अन्य सामाजिक तथा व्यवसायिक क्षेत्रमा पनि कर्मचार्य आवद्ध छन् ।

टिएन आचार्य, महासचिव
पेशाले चार्टड एकाउन्टेन्ट ९सिए० रहेका आचार्यको नेतृत्वमा ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । लेखन, गायन र फिल्म निर्माताको भूमिकामा पनि आफ्नो पहिचान बनाएका आचार्य बिगतमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल विद्युत प्राधिकरण लगायतका निकायमा सञ्चालक समितिमा रहेर पनि काम गरिसकेका छन् ।

कविता पोख्रेल, उपमहासचिव
दुई दशकभन्दा लामो बैंकिङ र ऊर्जा क्षेत्रको अनुभव बोकेकी पोख्रेल हिमशिला पावर कम्पनीकी अध्यक्ष हुन् । लिबर्टी इनर्जी र सिर्जनशिल ऊर्जा कम्पनीकी निर्देशक रहेकी पोख्रेल अर्थशास्त्रमा गहिरो ज्ञान राख्छन् । ऊर्जा क्षेत्रमा महिला शशक्तिकरणका लागि आवाज उठाउने पोख्रेल अग्रणी महिला ऊर्जा उद्यमी हुन् ।

शंकर बश्याल, सचिव
बिगत ३० वर्षदेशि जलविद्युत आयोजनामा वातावरणीय परामर्शदाताको रुपमा काम गर्दै आएका बश्याल २१।४ मेगावाट क्षमताको न्यादि फिदी जलविद्युत आयोजनाका सञ्चालक हुन् ।

निर्माणाधिन १० भन्दा धेरै जलविद्युत आयोजनाका लगानीकर्ता रहेका बश्याल केही इन्भेष्टमेन्ट कम्पनीमा सञ्चालक छन् । जलविद्युत आयोजनाले सबैभन्दा धेरै सामना गर्नुपर्ने प्रमुख समस्याको रुपमा रहेको वन र वातावरण सम्बन्धी समस्या समाधानका लागि अध्ययन र अनुसन्धान सक्रिय छन् ।

१४४ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजनाबाट वातावरणीय निरिक्षकको रुपमा कार्य सुरु गरेका बश्यालको नेतृत्वमा ३०० भन्दा धेरै जलविद्युत आयोजनाको वातावरणीय अध्ययनमा संग्लग्न भएका छन् ।