ऊर्जा मुलुकलाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार : डाँगी

28
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार भएको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा उनले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्रै भरपर्दो क्षेत्र उर्जा भएको बताए ।

उनका अनुसार नेपालले जलस्रोत, घाम र हावाबाट ठूलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।

‘निजी क्षेत्रले त्यसको क्षमता प्रमाणित गरिसकेको छ । २०५५ सालमा २५४ मेगावाट उत्पादन भएको अवस्थामा आज देश ४३०० मेगावाट क्षमतामा पुगेको छ । त्यसमध्ये करिब ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिसकेको छ,’ उनले भने ।

डाँगीले नेपाल सरकारले विद्युत व्यापार गर्न नसक्ने, प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशंका आवश्यक नभएको उल्लेख गर्दै ऊर्जा क्षेत्रप्रति विश्वास गर्नुपर्ने बताए ।

उनका अनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ । ‘अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल भइरहेको छ,’ उनले भने ।