
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच आज (बिहीबार) बेइजिङमा शिखर वार्ता हुँदै छ ।
विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ ।
९ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गरेका छन् ।
वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताए ।
यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा अगाडि सारेको देखिएको छ ।
यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायी पनि ट्रम्पको भ्रमण टोलीमा सहभागी छन् ।
बिहीबार ट्रम्पलाई चिनियाँ राष्ट्रपति सीले औपचारिकरूपमा स्वागत गर्नेछन् । त्यसपछि द्विपक्षीय भेटवार्ता हुनेछ ।
दुई नेताबीच शुक्रबार पनि अनौपचारिक कुराकानी हुनेछ र सोही दिन उनलाई चिनियाँ राष्ट्रपतिका तर्फबाट दिवा भोजको आयोजना हुनेछ ।
अमेरिकाले चिनियाँ राष्ट्रपति सीलाई वासिङ्टन भ्रमणको निम्तो दिने योजना पनि बनाएको बताइएको छ ।









प्रतिक्रिया