
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका संस्थागत (निजी) शिक्षण संस्थाहरूमा छात्रवृत्ति उपलब्ध गराउन एकीकृत परीक्षा प्रणाली अपनाउने जानकारी दिएको हो ।
छात्रवृत्तिमा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरूले महानगरको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
सूचना अनुसार आवेदन फाराम भर्ने प्रक्रिया जेठ १ गते बिहान १० बजेदेखि सुरू हुनेछ भने जेठ १० गते राति ११:५९ बजेसम्म आवेदन दिन सकिनेछ ।
यसरी सङ्कलन भएका आवेदनहरूका आधारमा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिने महानगरले जनाएको छ। परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् ।
महानगरपालिकाले विद्यार्थी र अभिभावकको सहजताका लागि विषयगत अंकभार, विद्यालयगत छात्रवृत्ति कोटा र परीक्षा केन्द्रसहितको विस्तृत विवरण आफ्नो वेबसाइटमा उपलब्ध गराइएको जनाएको छ ।
विगतका वर्षहरूमा जस्तै यसपटक पनि महानगरले निजी विद्यालयहरूले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई लक्षित गरी यो एकीकृत परीक्षा सञ्चालन गर्न लागेको हो ।








प्रतिक्रिया