विजयको पार्टीलाई एआईएडीएमकेका विद्रोही सांसदहरूको समर्थन

231
Shares

एजेन्सी । भारतको तमिलनाडु विधानसभामा अभिनेताबाट राजनीतिमा होमिएका विजय नेतृत्वको तमिलगा वेत्री कझगम सरकारका लागि बुधबार हुने फ्लोर टेस्ट (बहुमत परीक्षण) अघि राज्यको राजनीतिमा नाटकीय मोड आएको छ ।

चुनावपछिको अंकगणित दिनप्रतिदिन फेरबदल भइरहँदा प्रमुख प्रतिपक्षी दल एआईएडीएमकेभित्र ठूलो विद्रोह देखिएको छ ।
एआईएडीएमकेका प्रभावशाली नेताहरू एस.पी. वेलुमणी र सी.भी. शनमुगम नेतृत्वको एउटा गुटले मुख्यमन्त्री विजयको सरकारलाई समर्थन गर्ने घोषणा गरेको छ । यस कदमले पार्टीभित्र ठूलो हलचल पैदा गरेको छ ।

नेता शनमुगमले आफूहरूले ५३ वर्षदेखि डीएमकेको विरोधमा राजनीति गर्दै आएको स्मरण गराउँदै डीएमकेको समर्थनमा सरकार बनाउने पार्टी नेतृत्वको प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरेको बताए ।

अर्का नेता वेलुमणिले यो औपचारिक विभाजन नभए पनि पार्टीलाई अगाडि बढाउन सही निर्णयको पर्खाइमा रहेको बताए । उनले पार्टीका जनरल सेक्रेटरी इडापाडी के. पलानीस्वामीले डीएमकेसँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए जुन पार्टीको मूल सिद्धान्त विपरीत रहेको उनको तर्क छ ।

चुनावमा २३४ मध्ये १६७ सिटमा प्रतिस्पर्धा गरेको एआईएडीएमकेले यसपटक ४७ सिट मात्र जितेको छ जसका कारण नेतृत्वप्रति असन्तुष्टि चुलिएको छ ।

मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि गभर्नर आर.भी. अर्लेकरले विजयलाई बहुमत साबित गर्न तीन दिनको समय दिएका छन् । तमिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ । हाल विजयको पार्टी टीभीकेसँग १०७ विधायक छन् ।

उनलाई कांग्रेस, वीसीके, आईयूएमएल र वामपन्थी दलका १३ विधायकले समर्थन गर्ने निश्चित भएको छ । यीमध्ये धेरै दलहरू यसअघि डीएमके नेतृत्वको गठबन्धनमा थिए ।

मे १३ मा हुने फ्लोर टेस्टमा केही विधायकहरू अनुपस्थित रहे वा मतदानमा सहभागी भएनन् भने उपस्थित संख्याका आधारमा बहुमतको निर्णय हुनेछ । विजयले सोमबार मात्रै पूर्व मुख्यमन्त्री तथा डीएमके प्रमुख एम.के. स्टालिन र पीएमके प्रमुख अन्बुमणि रामदाससँग शिष्टाचार भेटवार्ता गरेका छन् जसलाई उच्चस्तरीय राजनीतिक पहुँचका रूपमा हेरिएको छ ।

विजयलाई बहुमतको नजिक पुर्याउन वामपन्थी दलहरू सीपीआई र सीपीआई–एमको भूमिका महत्त्वपूर्ण देखिएको छ । यी दलहरूले राज्यमा गभर्नर शासन हुन नदिन भाजपालाई राजनीतिक ठाउँ नदिन र धर्मनिरपेक्षताको रक्षाका लागि विजय सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेका हुन् ।

सुरुमा गभर्नर अर्लेकरले स्पष्ट बहुमत नभएको भन्दै विजयलाई सरकार बनाउन निम्तो दिन हिचकिचाएका थिए तर समर्थक दलहरूको सूची प्राप्त भएपछि उनले समय दिएका हुन् ।

तमिलनाडुको राजनीतिमा वफादारी र समीकरणहरू द्रुत गतिमा परिवर्तन भइरहेका बेला मे १३ को दिन विजयका लागि मात्र नभई समग्र राज्यको राजनीतिक भविष्यका लागि निर्णायक हुनेछ । धेरैले यसलाई राज्यमा नयाँ युगको सुरुवातका रूपमा लिएका छन् ।