
एजेन्सी । हर्मुज जलयोजकमा अड्किएका १६ सय जहाजमा रहेका हजारौं नाविकहरूका लागि प्रोजेक्ट फ्रिडम नाम अनुसारको रहेन ।
जहाजहरूलाई जलमार्गबाट सुरक्षित रूपमा बाहिर निकाल्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान मात्र ४८ घण्टा टिक्यो । त्यस अवधिमा केवल दुईवटा जहाज मात्र बाहिर निस्कन सफल भए ।
अहिले शिपिङ कम्पनीहरू र त्यहाँ फसेका नाविकहरू फेरि असुरक्षित अवस्थामा छन् र उनीहरू यो बाटो भएर यात्रा गर्ने जोखिम मोल्न तयार छैनन् । युद्धविरामका बावजुद २१ माइल लामो यो जलमार्गमा अझै पनि मिसाइलहरू उडिरहेका छन् ।
पोर्ट अफ लस एन्जलसका कार्यकारी निर्देशक जीन सेरोका भन्छन्, ‘एउटा ठोस र प्रमाणित शान्ति सम्झौता नभएसम्म व्यावसायिक शिपिङ क्षेत्रको विश्वास जित्न असम्भव छ ।’
पश्चिम एसियामा पाँच वर्षसम्म अमेरिकन प्रेसिडेन्ट लाइन्स जस्तो ठूलो शिपिङ कम्पनीमा काम गरिसकेका सेरोकाका अनुसार, उनले अहिलेसम्म अमेरिकी सेनाकै साथमा भए पनि आफ्नो सामान र कर्मचारीहरू पठाउन तयार भएको कुनै पनि शिपिङ कम्पनीका अधिकारी भेटेका छैनन् ।
दुई महिनाभन्दा बढी समयदेखि शिपिङ कम्पनीहरू यो जलमार्गबाट बाहिर निस्कने सुरक्षित मौकाको पर्खाइमा छन् । सामान्य अवस्थामा हर्मुज जलयोजकबाट दैनिक १२० वटा जहाजहरू आउजाउ गर्थे जसले विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्थे ।
अहिले जहाजहरूलाई त्यहाँबाट निकाल्नु भनेको सामान र मानिस दुवैलाई खतरामा पार्नु हो । करोडौं डलरका जहाजहरूमा सामान्य क्षति पुग्दा पनि कम्पनीहरूलाई आर्थिक र व्यवस्थापकीय रूपमा ठूलो धक्का लाग्नेछ । बिमा कम्पनीहरूको सम्झौतामा युद्धसम्बन्धी शर्तहरू हुने भएकाले युद्धको बीचमा फसेका जहाजहरूको क्षतिपूर्ति दिन उनीहरू बाध्य हुँदैनन् । त्यसैले, यस्तो आर्थिक जोखिम मोलेर जहाज चलाउनु निकै महँगो पर्न सक्छ ।
ट्रम्प प्रशासनले धेरै शिपिङ कम्पनीहरूलाई प्रोजेक्ट फ्रिडम मार्फत सहयोग गर्ने प्रस्ताव राखेको विदेशमन्त्री रुबियोले मंगलबार जानकारी दिए । तर, थोरैले मात्र यो प्रस्ताव स्वीकार गरे ।
डेनिस शिपिङ कम्पनी मर्सले सोमबार पुष्टि गरेअनुसार, अमेरिकी सेनाले सुरक्षित रूपमा बाहिर निकालेका दुई जहाजमध्ये एउटा उनीहरूको थियो । फेब्रुअरीमा युद्ध सुरु भएयता उक्त जहाज पर्सियाली खाडीबाट बाहिर निस्कन सकेको थिएन ।
एस एन्ड पी ग्लोबलका अनुसार, अमेरिकी सेनाले सुरक्षा दिएका दुईवटा सहित सोमबार जम्मा १० वटा जहाजले हर्मुज जलयोजक पार गरेका छन् ।
अर्को ठूलो शिपिङ कम्पनी हापाग–ल्योडले बुधबार सीएनएनलाई बताएअनुसार, प्रोजेक्ट फ्रिडम रोकिनुअघि उनीहरूले आफ्ना बाँकी चारवटा जहाज बाहिर निकाल्न अमेरिकी सेनाको सहयोग लिनेबारे विचार गरिरहेका थिए ।
हापाग–ल्योडका सञ्चार निर्देशक निल्स हौप्टले भने, ‘रातारात स्थिति फेरि बदलिएको छ । त्यसैले अब यो योजना कसरी अगाडि बढ्छ भनेर हामीले पर्ख र हेरको स्थितिमा रहनुपर्नेछ ।’
एउटा कन्टेनर जहाजमा भएको अर्को आक्रमण र त्यसमा केही मानिस घाइते भएको घटनाले खतरा अझै टरिनसकेको कुरालाई स्पष्ट पारेको उनले थपे ।
अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार, युद्ध सुरु भएयता ३२ वटा जहाजहरू मिसाइल आक्रमणमा परेका छन् जसमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
आईएमओले जहाजहरूलाई अझै पनि उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ र जलसैनिक सुरक्षा मात्रै यसको दिगो समाधान नभएको बताएको छ ।
ट्रम्पले प्रोजेक्ट फ्रिडम रोक्ने घोषणा गरेपछि इरानले नयाँ प्रक्रिया मार्फत हर्मुज जलयोजकबाट सुरक्षित यात्रा सम्भव भएको बताएको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार, इरानले पर्सियन गल्फ स्ट्रेट अथोरिटी स्थापना गरेको छ जसले यस जलमार्गको यात्रा र शुल्क सम्बन्धी नियमहरू बनाउनेछ ।
अमेरिकाले यसअघि नै यो जलमार्ग नियन्त्रण गर्ने अधिकार इरानसँग नभएको चेतावनी दिइसकेको छ ।
सेरोकाका अनुसार, अमेरिकी सेनाको सुरक्षा भए पनि यस जलमार्गबाट बाहिर निस्कन शिपिङ कम्पनीहरूले निकै सूक्ष्म र विशेष मूल्यांकन गर्नुपर्ने हुन्छ ।
उनले भने, ‘यो कदम चाल्नुअघि उनीहरूलाई यो बाटोको सुरक्षाका बारेमा अझ धेरै विश्वास र सुनिश्चितताको खाँचो छ ।’









प्रतिक्रिया