अमेरिका र इरानको वार्ता अन्योलमा, बढ्यो डलरको भाउ

133
Shares

एजेन्सी । अमेरिका र इरानबीचको वार्ता गतिरोधमा फसेको संकेतसँगै सोमबार एसियाली बजारमा डलरको भाउ बढेको छ । यसले गर्दा महत्त्वपूर्ण हर्मुज जलयोजक प्रायः बन्द रहेको छ र कच्चा तेलको मूल्यलाई अझ माथि पुर्याएको छ ।

अमेरिकी सेयर फ्युचर्समा उतारचढाव देखिएको छ भने एसियामा एआईसँग सम्बन्धित केही सीमित कम्पनीहरूको सेयरमा भएको वृद्धिले सौल र मुख्यभूमि चीनको सेयर बजारलाई उकासेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार युद्ध अन्त्यका लागि शान्ति वार्ता गर्न अमेरिकाले राखेको प्रस्तावमा इरानले दिएको जवाफलाई अस्वीकार गरिदिएका छन् । उनले तेहरानका मागहरू पूर्णतया अस्वीकार्य रहेको बताए ।

इरानी सञ्चारमाध्यमका अनुसार, अमेरिकालाई पठाइएको इरानी योजनामा सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने, तेहरानमाथिका प्रतिबन्धहरू हटाइनुपर्ने, युद्धको क्षतिपूर्ति र हर्मुज जलयोजकमा इरानको नियन्त्रणलाई मान्यता दिनुपर्ने कुरामा जोड दिइएको छ ।

‘मध्यपूर्वको द्वन्द्व अब ११औं हप्तामा प्रवेश गर्दैछ,’ जेपी मोर्गनका विश्वव्यापी आर्थिक प्रमुख ब्रुस कासम्यानले भने, ‘ऊर्जाको मूल्य बढेको छ तर यो अहिलेसम्म यस्तो स्तरमा छ जसले आर्थिक वृद्धिलाई केही सुस्त बनाए पनि पूर्ण रूपमा रोकिहाल्ने अवस्था भने छैन ।’

उनले थपे, ‘हर्मुज जलयोजक जति धेरै हप्ता बन्द रहन्छ, मूल्यमा अझै तीव्र वृद्धिको जोखिम बढ्दै जान्छ । हाम्रो कमोडिटी टोलीले जुन महिनाको सुरुदेखि बजारमा सञ्चालन सम्बन्धी ठूलो दबाब देखिने अनुमान गरेको छ ।’

फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएयता इरानले यस जलमार्गलाई प्रभावकारी रूपमा ठप्प पारेको छ जसले सामान्यतया विश्वको पाँच भागको एक भाग तेल र ग्यास ढुवानी गर्ने मुख्य बाटोलाई अवरुद्ध गरेको छ ।

एसियाली व्यापारमा ब्रेन्ट तेलको मूल्य ४.५ प्रतिशतले बढेर प्रति ब्यारल १०५.८७ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेर १००.२४ डलर पुगेको छ ।

जोखिमपूर्ण समयमा नगद प्रवाहको सुरक्षित माध्यम भएकाले डलरलाई फाइदा पुगेको छ । यो जापानी येनको तुलनामा ०.३ प्रतिशतले बढेर १५७.१० येन पुगेको छ भने युरो ०.२८ प्रतिशतले घटेर १.१७५४ डलरमा झरेको छ ।

बैंक अफ जापानको कडा नीति र अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टको समर्थनले येन जोगाउन गरिने हस्तक्षेपलाई थप प्रभावकारी बनाउने र येनको निरन्तरको गिरावटलाई कम गर्न मद्दत गर्नेमा जापानले आशा राखेको छ ।

युरोप र जापान दुवै तेलका ठूला आयातक हुन् भने अमेरिका तेलको निर्यातक राष्ट्र हो ।

एस एन्ड पी ५०० फ्युचर्स ०.१ प्रतिशतले घटेको छ भने नास्डाक फ्युचर्समा खासै परिवर्तन देखिएको छैन । कम्पनीहरूको राम्रो आम्दानी र रोजगारीको बलियो तथ्यांकका कारण गत साता सेयर बजारले रेकर्ड उचाइ छोएको थियो ।

यस हप्ता सार्वजनिक हुने वित्तीय नतिजाहरूमा नेटवर्किङ कम्पनी सिस्को र सेमीकन्डक्टर उपकरण निर्माता एप्लाइड मटेरियल्स रहेका छन् । ठूला कम्पनीहरू एनभिडिया र वालमार्टको नतिजा भने यसै महिनाको अन्त्यतिर आउनेछ ।

जापानको निक्केई सूचकांक सुरुवाती बढोत्तरीपछि अन्त्यमा ०.३ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको चिप निर्माताहरूको वर्चस्व रहेको कोस्पी सूचकांक भने ५ प्रतिशतले बढेको छ ।

चीनको सीएसआई ३०० सूचकांक १.२ प्रतिशतले बढेको छ भने हङकङको ह्याङ सेङ सूचकांक ०.३ प्रतिशतले घटेको छ ।
सोमबार सार्वजनिक तथ्यांक अनुसार चीनको उत्पादक मूल्य ४५ महिनायताकै उच्च विन्दुमा पुगेको छ भने विश्वव्यापी ऊर्जा लागत बढेका कारण उपभोक्ता मुद्रास्फीति पनि तीव्र भएको छ ।

बुधबारदेखि सुरु हुने ट्रम्पको चीन भ्रमणमा खाडी क्षेत्रको संकट मुख्य एजेन्डा हुनेछ जहाँ उनले ६ महिनाभन्दा बढी समयपछि चीनका राष्ट्रपति सी चिनपिङसँग प्रत्यक्ष वार्ता गर्नेछन् ।

उनीहरूबीच व्यापार, ताइवान, आर्टिफिसियल इन्टेलिजेन्स र आणविक हतियारका साथै दुर्लभ खनिज पदार्थ सम्बन्धी सम्झौता थप गर्ने विषयमा पनि छलफल हुने तय भएको छ ।