
एजेन्सी । भारतमा विद्युतीय सवारीसाधन किन्नेहरू र डाइट कोक पिउने उपभोक्ताहरू हेर्दा फरक समूह जस्ता देखिन सक्छन् । तर, यी दुवै हर्मुज जलयोजकको जारी अवरोधबाट उत्पन्न हुने असरको जोखिममा छन् ।
यो साँघुरो जलमार्ग जति लामो समयसम्म अधिकांश जहाजका लागि बन्द रहन्छ, विश्व अर्थतन्त्रमा यसको दोस्रो र तेस्रो चरणको असर त्यति नै गहिरिँदै जानेछ । विश्वले पहिले नै डिजेल र पेट्रोल जस्ता प्रशोधित इन्धनको उच्च मूल्य र यसले निम्त्याउने महँगीको सामना गरिरहेको छ ।
विद्युतीय सवारीसाधनलाई अमेरिका र इरानबीचको वर्तमान द्वन्द्वको एउटा ठूलो विजेता मानिन्छ किनकि यसले प्रयोगकर्ताहरूलाई जीवाश्म इन्धनमाथिको निर्भरताबाट टाढा लैजान्छ ।
तर, ईभीहरू पनि हर्मुज जलयोजकको संकटबाट अछुतो छैनन् किनभने तिनको ब्याट्री निर्माणका लागि सल्फ्युरिक एसिड आवश्यक पर्छ जुन निकेल र लिथियम जस्ता धातुहरू निकाल्न प्रयोग हुने मुख्य अवयव हो ।
इन्डोनेसिया (निकेलको शीर्ष उत्पादक) मा रहेको खानीबाट ब्याट्री–ग्रेडको निकेल निकाल्न हाइ–प्रेसर एसिड लिच विधिमा सल्फ्युरिक एसिड अपरिहार्य हुन्छ ।
यो अस्ट्रेलिया (लिथियमको सबैभन्दा ठूलो उत्पादक) मा कडा चट्टानबाट लिथियम निकाल्न र तामा उत्पादनका लागि पनि प्रयोग गरिन्छ ।
फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गर्नुअघि विश्वको करिब आधा समुद्री गन्धक हर्मुज जलयोजक हुँदै विशेषगरी एसियाली देशहरूमा जाने गर्थ्यो ।
गन्धक कच्चा तेल र ग्यास उत्पादन तथा प्रशोधन गर्दा निस्कने सह–उत्पादन हो । यसले गर्दा संयुक्त अरब अमिरात र साउदी अरब जस्ता पश्चिम एसियाली देशहरू सल्फ्युरिक एसिड बनाउन प्रयोग हुने यो कच्चा पदार्थका प्रमुख आपूर्तिकर्ता हुन् ।
गन्धक सामान्यतया बल्क क्यारियरहरूमा ओसारपसार गरिन्छ । इरान द्वन्द्व सुरु भएयता हर्मुज जलयोजकबाट हुने यसको ढुवानी ठप्प भएको छ । कमोडिटी विश्लेषक केप्लरको तथ्यांक अनुसार अप्रिलमा ३० हजार मेट्रिक टन र मार्चमा १ लाख ८० हजार टन मात्र बाहिर निस्कन सफल भयो ।
केप्लरका अनुसार, द्वन्द्व सुरु हुनुअघिका तीन महिनामा यो औसतमा मासिक १२.७ लाख टन हुने गर्थ्यो ।
पश्चिम एसियाबाट हुने ढुवानी बन्द भएपछि गन्धकको मूल्य आकासिएको छ । एसियामा यसको मूल्य प्रति टन ८८० डलरसम्म पुगेको छ जुन युद्ध सुरु भएयता ५० प्रतिशतको वृद्धि हो ।
गन्धकको उच्च मूल्यले गर्दा सल्फ्युरिक एसिडको मूल्य बढेको छ जसले निकेल, तामा र लिथियम खानी सञ्चालकहरूको लागत बढाउनेछ । तर, मूल्यभन्दा बढी चिन्ताको विषय यसको आपूर्तिमा हुने अभाव हो ।
इन्डोनेसिया, अस्ट्रेलिया र चिलीका खानी सञ्चालकहरूले आपूर्तिका लागि आपसमा लुछाचुँडी गर्नुपर्यो भने पर्याप्त सल्फ्युरिक एसिड नपाउँदा कतिपयले उत्पादन नै घटाउनुपर्ने जोखिम रहन्छ ।
गत महिना हनोईमा भएको एसियन ब्याट्री र मटेरियल्स कन्फरेन्समा सहभागी इन्डोनेसिया र अस्ट्रेलियाका धेरै खानी व्यवसायीहरूले मध्यम अवधिका लागि सल्फ्युरिक एसिडको आपूर्ति सुनिश्चित गर्न झन्झन् चुनौतीपूर्ण हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
चीनका ईभी र ब्याट्री भण्डारण निर्माताहरू इन्डोनेसियाको निकेल र अस्ट्रेलियाको लिथियम आपूर्तिको कुनै पनि अवरोधबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
धातु प्रशोधनमा सल्फ्युरिक एसिडको सट्टा केही विकल्पहरू त छन् तर ती ब्याट्री–ग्रेडको निकेल उत्पादनका लागि उपयुक्त छैनन् । तामा र लिथियमको हकमा भने विकल्प प्रयोग गर्दा कम उत्पादनका लागि बढी ऊर्जा खर्च हुन्छ ।
धातु प्रशोधनको क्षेत्र अहिल्यै पूर्ण संकटमा परिसकेको छैन तर हर्मुज जलयोजक जति धेरै समय बन्द रहन्छ, यो संकट त्यति नै नजिक आउँदैछ ।
आफ्नो ईभी र ब्याट्री उद्योगमाथिको खतरा वास्तविक देखिन थाल्यो भने बेइजिङले कस्तो रणनीति अपनाउला भन्ने प्रश्न उठ्छ । यसको एउटै तार्किक कदम भनेको आफ्नो सहयोगी इरान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दुवैलाई कम्तीमा हर्मुज जलयोजक सबैका लागि खुला गर्न दबाब दिनु हुनेछ ।
ब्याट्री धातुको उत्पादनमा बढ्दो खतरासँगै कच्चा तेल र एलएनजी बाहेकका अन्य क्षेत्रमा पनि असर देखिन थालिसकेको छ ।
इरान युद्धअघि विश्वव्यापी आल्मुनियम आपूर्तिको करिब ८ प्रतिशत हर्मुज जलयोजक हुँदै जान्थ्यो जुन अहिले प्रायः रोकिएको छ ।
केप्लरको तथ्यांक अनुसार अप्रिलमा यस जलमार्गबाट २० हजार टन आल्मुनियम मात्र बाहिरियो जबकि युद्धअघिका तीन महिनामा यो औसतमा १२.६ लाख टन हुने गर्थ्यो ।
यी ढुवानीहरू रोकिँदा भारतमा आल्मुनियमको अभाव भएको छ जसले गर्दा डाइट कोकको अभाव देखिएको छ किनकि यो केवल आल्मुनियमको क्यानमा मात्र बिक्री गरिन्छ ।
यसले डाइट कोक पिउनेहरूलाई असुविधा मात्र पुर्याएको छैन, बरु अभावहरू कसरी सोच्दै नसोचेका ठाउँहरूमा देखा पर्छन् र आपूर्ति शृंखलालाई प्रभावित पार्छन् भन्ने पनि देखाउँछ । यसले गर्दा मूल्यवृद्धि हुने र उपभोक्ताको व्यवहारमा समेत परिवर्तन आउने निश्चित छ ।









प्रतिक्रिया