यातायात क्षेत्रको आधुनिकीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य : मन्त्री लम्साल

119
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको दिगो विकास र आधुनिकीकरणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री लम्सालले नीतिगत स्पष्टता र ठोस मार्गचित्रबिना यो क्षेत्रको सुधार सम्भव नभएको उल्लेख गरे ।

यातायात क्षेत्रलाई राष्ट्रको आर्थिक, सामाजिक र पर्यटन विकासको आधारस्तम्भका रूपमा चित्रण गर्दै मन्त्री लम्सालले महाधिवेशनमार्फत व्यवसायीहरूले सेवाको गुणस्तर र यात्रा सुरक्षामा ध्यान दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यस महाधिवेशनले विद्यमान चुनौतीहरूको पहिचान गरी व्यवहारिक निष्कर्ष निकाल्ने र समग्र सुधारका लागि स्पष्ट मार्गचित्र तय गर्नेछ भन्ने मेरो अपेक्षा छ ।’

महाधिवेशनको अन्तिम तयारीका लागि महासंघले आगामी वैशाख २६ गते पोखरामा केन्द्रीय पदाधिकारीहरूको महत्त्वपूर्ण बैठक आह्वान गरेको छ ।

वैशाख २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनले यातायात क्षेत्रको भावी दिशा तय गर्ने महासचिव डेकनाथ गौतमले जानकारी दिए ।