
एजेन्सी । सामाजिक सञ्जालका प्रभावक (इन्फ्लुएन्सरहरू) ले भारतको प्याकेज गरिएका खाद्य र पेय पदार्थको क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेका छन् ।
उनीहरूले उपभोक्ताहरूलाई लेबलहरू पढ्न आग्रह गर्दै ठूला ब्रान्डहरूलाई स्वास्थ्यवर्धक उत्पादनहरू बनाउन दबाब दिइरहेका छन् । त्यसो नगरे उनीहरू नयाँ आउने कम्पनीहरूबाट विस्थापित हुने जोखिम बढिरहेको छ ।
विश्वकै ठूला प्याकेज गरिएका खाद्य र पेय पदार्थ कम्पनीहरूमध्ये एक पेप्सीको ग्राहकहरूको बदलिँदो प्राथमिकताप्रति प्रतिक्रिया जनाउने पछिल्लो कम्पनी बनेको छ ।
‘आज भारतमा हाम्रो पेय पदार्थ पोर्टफोलियोको ५० प्रतिशतभन्दा बढी हिस्सा कम चिनी वा चिनी नभएका उत्पादनहरूले ओगटेको छ,’ पेप्सीको इन्डियाका पेय पदार्थ विभागका उपाध्यक्ष एवं महाप्रबन्धक नितिन भण्डारीले भने ।
उनले कम्पनीले समयसँगै भारतमा आफ्नो पेय पदार्थ पोर्टफोलियोको ९० प्रतिशत हिस्सासम्म कम र शून्य–चिनीका विकल्पहरू विस्तार गर्ने लक्ष्य राखेको पनि थपे ।
पेप्सीकोले इन्गेजमेन्ट फोरमहरू, सामाजिक सञ्जालका साथै आफ्नो ह्वाट्सएपमा आधारित उपभोक्ता लोयल्टी प्लेटफर्म पेपजेनी मार्फत उपभोक्ताहरूको चाहना र प्रतिक्रिया संकलन गर्ने गरेको भण्डारीले सीएनबीसीलाई इमेलमार्फत बताए ।
‘बेन एन्ड कम्पनी’ का अनुसार, आगामी पाँच वर्षमा भारतको प्रतिव्यक्ति आम्दानी चीन, ब्राजिल, मेक्सिको र रुस लगायतका उपभोक्ता सामग्रीका लागि शीर्ष पाँच उदीयमान बजारहरूमध्ये सबैभन्दा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । यसले गर्दा यो विश्वव्यापी उपभोक्ता सामग्री कम्पनीहरूका लागि प्राथमिकताको क्षेत्र बनेको छ ।
सफ्ट ड्रिंक्स र रक्सीदेखि लिएर स्न्याक्स, डिटर्जेन्ट र डायपरसम्मका २० वटा उत्पादन कोटिहरूमा विश्वव्यापी कम्पनीहरूले पहिले नै विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको प्रमुख उपभोक्ता बजारमा प्रभुत्व जमाइसकेको प्रतिवेदनले उल्लेख गरेको छ ।
यद्यपि, भारतीय बजारको यस अवसरसँगै उपभोक्ताको प्राथमिकताका आधारमा रणनीति परिवर्तन गर्नुपर्ने दबाब पनि जोडिएर आउँछ । र, विगत केही वर्षदेखि भारतमा खाद्य सुरक्षा र गलत लेबलिङका बारेमा जनचेतना जगाउन सामाजिक सञ्जाल एक प्रमुख प्लेटफर्मको रूपमा उभिएको छ ।
भारतमा बहुराष्ट्रिय कम्पनीहरूसँग काम गरिसकेका अनुभवी खाद्य सुरक्षा विशेषज्ञ शमिक कुमारका अनुसार, सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूका कारण सेलिब्रेटीहरूको सिफारिसमा आधारित ब्रान्डप्रतिको विश्वास अब समुदायद्वारा प्रमाणित विश्वासमा सरेको छ ।
सामाजिक सञ्जालमा फूड फार्मरको नामले चिनिने इन्फ्लुएन्सर रेवन्त हिमतसिंकाका लाखौं सब्सक्राइबरहरू छन् । उनले उपभोक्ता सामग्री कम्पनीहरूबाट अवरोधहरूको सामना गर्नुपरेको भए पनि उनको सामग्रीले मानिसहरूलाई लेबल पढ्न बाध्य बनाएको र फलस्वरूप कम्पनीहरूले राम्रो गुणस्तरका उत्पादनहरू बनाइरहेको उनको भनाइ छ ।
विगत केही वर्षहरूमा सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूपछि मोन्डलेजको स्वामित्वमा रहेको बोर्नभिटा र डाबरको रियल फ्रुट जुस लगायतका थुप्रै ब्रान्डहरू चिनीको उच्च मात्राका कारण आलोचनाको घेरामा परेका छन् ।
स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, हिमतसिंकाले आफ्नो भाइरल बोर्नभिटा भिडियो हटाउनु परे पनि जनआक्रोश बढ्दै गएपछि कम्पनीले आफ्नो उत्पादनमा चिनीको मात्रा घटाएको छ ।
डाबरले सीएनबीसीलाई बताएअनुसार, कम्पनी सन् २०१८ देखि नै जुस उत्पादनमा चिनी कटौती गर्ने बाटोमा थियो र सन् २०२३ सम्ममा यसले चिनीको मात्रा २१ प्रतिशतले घटाएको थियो ।
‘हामी हाल रियलको मुख्य पेय पदार्थ रेन्जमा थप २० प्रतिशत चिनी घटाउने काम गरिरहेका छौं,’ कम्पनीका प्रवक्ताले इमेलमार्फत भने । कम्पनीले चिनीको सेवनप्रति सचेत उपभोक्ताहरूलाई लक्षित गर्दै कम चिनी र शून्य चिनी भएका भेरिएन्टहरू पनि विकास गरिरहेको छ ।
भारतीय खाद्य सुरक्षा नियामक (एफएसएसएआई) ले पनि बोर्नभिटा जस्ता माल्टमा आधारित पेय पदार्थहरूलाई हेल्थ ड्रिंक्स (स्वास्थ्यवर्धक पेय) ब्रान्डिङ प्रयोग गर्न र चिनी मिसाइएका पेय पदार्थहरूमा शतप्रतिशत फ्रुट जुस भनेर दाबी गर्न खाद्य कम्पनीहरूलाई रोक लगाउँदै सूचना जारी गरेको छ ।
भर्खरै गत महिना सामाजिक सञ्जालका धेरै भिडियोहरूले कोकाकोलाको माजा लगायत आँपमा आधारित पेय पदार्थहरूमा चिनीको मात्राबारे प्रश्न उठाएका थिए । पेय पदार्थमा चिनीको उच्च मात्राको यो मुद्दा भारतीय संसद्सम्मै पुगेको थियो ।
करिब १० करोड मानिस मधुमेहबाट पीडित भएको र झन्डै एक चौथाइ जनसंख्या मोटोपनाको श्रेणीमा रहेको देशका लागि स्वास्थ्यवर्धक प्याकेज गरिएका खाद्य उत्पादनहरूको मागले व्यापक दर्शकहरूको मन जितेको छ ।
भारतमा परम्परागत उपभोक्ता सामग्री कम्पनीहरूको शक्ति उनीहरूको अफलाइन वितरण पहुँच र उच्च विज्ञापन बजेटमा निहित छ ।
तर, विज्ञहरूका अनुसार अनलाइन मार्केटप्लेसहरूले देशभर आफ्नो डेलिभरी नेटवर्क विस्तार गर्दै जाँदा र सामाजिक सञ्जाल मार्केटिङले प्रतिस्पर्धाको वातावरणलाई समान बनाउँदै लैजाँदा भारतमा डाइरेक्ट–टु–कन्ज्युमर (डी२सी) ब्रान्डहरू उदय भइरहेका छन् ।
नयाँ दिल्लीमा रहेको भेन्चर क्यापिटल फर्म सस डट् भीसीका साझेदार यश ढोलकिया भन्छन्, ‘इन्फ्लुएन्सरहरूले चेतना फैलाएसँगै मानिसहरूले सामग्री, प्रभावकारिता र असरहरू जाँच गर्न प्याकेटको पछाडिको भाग पढ्न थालेका छन् । उनले उपभोक्ताहरू आफूले तिरेको पैसाको बदलामा के पाइरहेका छन् भन्ने कुरामा झन्–झन् सचेत हुँदै गइरहेको र यसले डी२सी ब्रान्डहरूलाई बढावा दिइरहेको बताए ।
‘यो एक ठूलो आधार हो जसमा भविष्यका व्यक्तिगत हेरचाह र खाद्य ब्रान्डहरू निर्माण हुनेछन्,’ उनले भने । समयअनुसार नबदलिने परम्परागत ब्रान्डहरू विस्थापित हुने उनले थपे ।
स्वास्थ्यवर्धक खानाका लागि सामाजिक सञ्जालमा बढ्दै गएको आवाजलाई ध्यानमा राख्दै ढोलकियाको फर्मले पनि स्वास्थ्यवर्धक खानामा केन्द्रित एक डी२सी स्टार्टअपमा लगानी गरेको छ जसले सामाजिक सञ्जालमार्फत उपभोक्ता सचेतना फैलाएर खानाप्रतिको विश्वास पुनर्निर्माण गरिरहेको छ ।
हिमतसिंकाले आफ्नै प्याकेज गरिएको खाद्य ब्रान्ड पनि सुरु गरेका छन् जसमा क्लिन लेबल उत्पादनहरू रहने उनको दाबी छ । यी यस्ता उत्पादनहरू हुन् जसमा सामग्रीहरूको सूची छोटो र सरल हुन्छ जुन साधारण उपभोक्ताहरूले सजिलै बुझ्न सक्छन् र जसमा अनावश्यक मिसावट हुँदैन ।
स्वास्थ्यवर्धक खानाको मागलाई ध्यानमा राख्दै र आफ्नो पहुँच विस्तार गर्न सामाजिक सञ्जालको प्रयोग गर्दै विगत केही वर्षहरूमा अन्य धेरै डी२सी ब्रान्डहरू पनि आएका छन् ।
खाद्य सुरक्षाका बारेमा भाइरल भइरहेका सामाजिक सञ्जालका सामग्रीहरूले चेतना मात्र फैलाइरहेका छैनन्, बरु विकल्पहरू पनि उपलब्ध गराइरहेका छन् । यो यस्तो कुरा हो जसलाई ठूला उपभोक्ता सामग्री कम्पनीहरूले नजिकबाट नियालिरहेका हुनेछन् ।









प्रतिक्रिया