दुई वर्षभित्रै राजनीतिमा सशक्त बनेका विजय, के छ दलको चुनावी घोषणापत्रमा ?

14
Shares

एजेन्सी । तमिलनाडुका प्रत्येक महिलाका लागि मासिक २५ सय भारुको भत्ता, बेरोजगार स्नातकहरूका लागि १० हजार भारु, सहकारी कृषि ऋण मिनाहा र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) मन्त्रालय – तमिल अभिनेता विजयको तमिलगा वेत्री कझगम (टीभीके) ले आफ्नो घोषणापत्रमा दक्षिण भारतीय राज्यका महिला, किसान र युवा जनसंख्यालाई लक्षित गर्दै यस्ता थुप्रै वाचाहरू गरेको छ ।

ती वाचाहरूले तमिलनाडुका मतदाताहरूलाई आकर्षित गरेको देखिन्छ ।

भारतको चुनाव आयोगको गणनाको रुझानले विजयको नयाँ पार्टीले राज्यका २३४ सिटमध्ये १०५ सिटमा अग्रता लिइरहेको देखाएको छ जसले दशकौं पुरानो द्रविड मुनेत्र कझगम (डीएमके) र अल इन्डिया अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) को एकाधिकारलाई तोडेको छ ।

राज्यका सबैभन्दा लोकप्रिय अभिनेतामध्येका एक विजयले टीभीकेको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा यो दस्तावेज तिरुवल्लुवरको तमिल ग्रन्थ तिरुक्कुरलको सिद्धान्त— अरम (धर्म/गुण), पोरुल (सम्पत्ति) र इन्बम (आनन्द) मा आधारित रहेको बताए जसलाई उनले राजनीति र प्रशासनका अनिवार्य पक्षहरू भनेका छन् ।

‘टीभीकेले इमानदार प्रशासनलाई आफ्नो विचारधाराको रूपमा अपनाएको छ । हाम्रो पार्टीको पहिलो चुनावी घोषणापत्र पनि इमानदारिताको आश्वासन हो । हामी (वर्तमान तमिलनाडुका मुख्यमन्त्री) स्टालिन जस्तै भ्रममा पार्ने छैनौं । हामी जनतालाई पूरा नहुने वाचाहरूले भरिएको हतारको घोषणापत्र बनाइरहेका छैनौं,’ अप्रिल १६ मा दस्तावेज सार्वजनिक गर्दा विजयले भने ।
९५ पृष्ठको उक्त घोषणापत्र भत्तादेखि ऋणसम्मका कल्याणकारी योजनाहरूमा केन्द्रित थियो ।

महिलाहरूका लागि, टीभीकेले ६० वर्षसम्मका महिला घरमूलीलाई महिनाको २५ सय भारु, वर्षमा ६ वटा निःशुल्क एलपीजी सिलिन्डर, उनीहरूको सुरक्षा सुनिश्चित गर्न राज्य सरकारको छुट्टै विभाग र विशेष महिला अदालतको वाचा गरेको छ ।

यसले प्रत्येक दुलहीका लागि सुनको सिक्का र एउटा रेशमी साडीको पनि वाचा गरेको छ । घोषणापत्रमा भनिएको छः आमाहरूले नवजात शिशुका लागि सुनको औंठी पाउनेछन् । कक्षा १२ सम्मका छात्राहरूका लागि, विद्यालय छोड्ने दर कम गर्न उनीहरूका आमा वा अभिभावकले वार्षिक १५ हजार भारु प्राप्त गर्नेछन् । महिला स्वयंसेवक समूहहरूका लागि पार्टीले ५ लाख भारुसम्मको एकमुष्ट आर्थिक सहयोगको वाचा गरेको छ ।

कक्षा १२ देखि पीएचडी तहसम्मका विद्यार्थीहरूका लागि पार्टीले २० लाख रुपैयाँसम्मको विना धितो ऋण र तमिलनाडु सरकारका सबै भर्नाहरूका लागि पारदर्शी समय तालिकाको वाचा गरेको छ ।

यसका साथै स्नातकहरूका लागि मासिक ४ हजार भारु र डिप्लोमा धारकहरूका लागि २५ सय भारु बेरोजगारी भत्ताको पनि घोषणा गरिएको छ ।

विजयको पार्टीले बेरोजगारहरूलाई सहयोग गर्ने र कामदारहरूको सीप विकास गर्ने आश्वासन दिनुका साथै आम्दानीका स्रोतहरू सिर्जना गर्ने वाचा पनि गरेको छ ।

सीप तालिम लिइरहेका स्नातकहरूले मासिक १० हजार भारु र आईटीआई डिप्लोमा धारकहरूले ८ हजार भारु पाउने बताइएको छ । पार्टीले मुख्यमन्त्री जनसेवा सहयोगी कार्यक्रम अन्तर्गत गाउँ स्तरमा ५ लाख युवाहरूलाई रोजगारी दिने वाचा गरेको छ जसबाट उनीहरूले मासिक १८ हजार रुपैयाँ कमाउनेछन् ।

घोषणापत्रले कम्पनीहरूलाई स्थानीय मानिसहरूलाई रोजगारी दिन आग्रह गर्नुका साथै प्रोत्साहनको पनि व्यवस्था गरेको छ । आफ्नो कर्मचारी संख्याको ७५ प्रतिशत स्थानीयलाई रोजगारी दिने कम्पनीहरूले २.५ प्रतिशत जीएसटी अनुदान र बिजुली महसुलमा ५ प्रतिशत छुट पाउनेछन् ।

घोषणापत्रको एउटा ठूलो हिस्सा किसानहरूका लागि समर्पित छ ।

पार्टीले ५ एकडसम्म जमिन भएका किसानहरूको सहकारी कृषि ऋण मिनाहा गर्ने र ५ एकडभन्दा बढी जमिन भएकाहरूको ५० प्रतिशत ऋण मिनाहा गर्ने वाचा गरेको छ । धानका लागि ३५ सय भारु र उखुका लागि ४५ सय रुपैयाँ प्रति क्विन्टल कानुनी रूपमा सुनिश्चित न्यूनतम समर्थन मूल्यको पनि घोषणा गरिएको छ ।

साथै, खेतीपाती अधिकार कार्ड ल्याउने र त्यसैमार्फत मोही किसान तथा कृषि मजदुरहरूलाई १० हजार भारु दिने वाचा गरिएको छ ।

अभिनेताले प्रत्येक परिवारका लागि नागरिक विशेषाधिकार कार्डको वाचा गरेका छन् जसले गर्दा उनीहरूले पार्टीका सबै सरकारी योजनाहरूको लाभ उठाउन सकून् । साथै, सबै सरकारी सेवाहरूको समयमै वितरण सुनिश्चित गर्न सेवाको अधिकार ऐन लागू गर्ने वाचा पनि गरिएको छ ।

नागरिकहरूले सीधै प्रदेश सभामा निवेदन बुझाउन सक्नेछन् जसमा ५ लाख प्रतिक्रियाहरूलाई छलफलमा लगिनेछ र १० हजार हस्ताक्षर भएका निवेदनहरूमा सरकारले अनिवार्य जवाफ दिनुपर्नेछ ।

विजयले पुरानो पेन्सन योजना पुनःस्थापना गर्नेबारे विचार गर्ने वाचा गरेका छन् जुन दक्षिण भारतीय राज्यका कामदारहरूको निरन्तरको माग हो । उनले ५ वर्ष पूरा गरेका सबै अस्थायी कर्मचारीहरूलाई स्थायी गर्ने र पारदर्शी सरुवा नीति लागू गर्ने पनि बताए ।

प्रहरी कर्मचारीहरूका लागि उनले सुरुवाती तलब १८ हजारबाट बढाएर २५ हजार भारु पुर्याउने र थप १ हजार भारु उच्च तनाव भत्ता दिने वाचा गरेका छन् ।