नेपालमा अमेरिकी लगानी प्रवर्द्धन गर्न सार्लोटमा एमच्यामको ‘डायस्पोरा’ छलफल

77
Shares

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले संयुक्त राज्य अमेरिकाको सार्लोट, नर्थ क्यारोलिनामा नेपाली मूलका व्यवसायीहरूसँग व्यावसायिक कूटनीति र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ ।

‘स्ट्यागर्ड प्राइभेट इक्विटी’ सँगको सहकार्यमा आयोजित यस कार्यक्रममा बैंकिङ, प्राइभेट इक्विटी, उद्यमशीलता र घरजग्गा क्षेत्रमा आबद्ध नेपाली मूलका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रमको मुख्य उद्देश्य अमेरिका र नेपालबीचको लगानी संवादलाई थप गहिरो र व्यवस्थित बनाउनु रहेको एमच्यामले जनाएको छ ।

अमेरिकाको प्रमुख वित्तीय केन्द्रहरूमध्ये एक र ‘बैंक अफ अमेरिका’ को मुख्यालय समेत रहेको सार्लोटमा आयोजित यस कार्यक्रमले एमच्याम नेपालको व्यावसायिक कूटनीतिलाई अझ सशक्त बनाएको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यक्रमले पूँजी,  नीति र डायस्पोराको विज्ञतालाई नेपालको विकासका प्राथमिकताहरूसँग जोड्ने प्रयास गरेको छ ।

छलफलका क्रममा नेपालमा लगानीका लागि संरचनागत मार्गहरू खोल्ने र निजी क्षेत्रको उत्साहलाई नेपाल सरकारको आर्थिक दृष्टिकोणसँग कसरी तालमेल मिलाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।

सहभागीहरूले एमच्याम नेपाललाई लगानी भित्र्याउन, क्षेत्रगत प्राथमिकताहरू निर्धारण गर्न र दीर्घकालीन आर्थिक सम्बन्ध सुदृढ गर्न एउटा विश्वसनीय प्लेटफर्मको रूपमा स्वीकार गरेका छन् ।

कार्यक्रममा बोल्दै एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले भने, ‘अमेरिकी लगानीमार्फत नेपालमा रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्न एमच्याम नेपाल प्रतिबद्ध छ ।’

यो कार्यक्रमले डायस्पोरामा रहेका नेपाली व्यवसायीहरूमा नेपालको आर्थिक रूपान्तरणमा सक्रिय रूपमा योगदान पुर्‍याउने आत्मविश्वास बढेको एमच्यामको भनाइ छ ।

हालैका दिनमा एस. पल कपुर र विशेष दूत सर्जियो गोरसँग भएका उच्चस्तरीय भेटघाटहरूले पनि नेपाल-अमेरिका आर्थिक सहयोगका लागि सकारात्मक वातावरण तयार गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनहरूमा अमेरिकाका अन्य प्रमुख सहरहरूमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने एमच्यामले जनाएको छ ।