ट्रेकिङ प्याकेजमा जानेले सगरमाथा आधार शिविरमा रात बिताउन नपाउने

203
Shares

काठमाडौं। ट्रेकिङ प्याकेजमा जानेले सगरमाथा आधार शिविरमा रात बिताउन नपाउने भएका छन् । सरकारले सगरमाथा आधार शिविरमा रहेका एक्सपिडिसन क्याम्पहरूमा पर्वतारोही बाहेकका अन्य व्यक्ति वा पर्यटकलाई रात बिताउने गरी प्याकेज बिक्री नगर्न सम्बन्धित ट्रेकिङ एजेन्सीहरूलाई कडा निर्देशन दिएको छ।

पर्यटन विभागले एक सूचना जारी गर्दै केही ट्रेकिङ एजेन्सीहरूले सगरमाथा आधार शिविरमा रात बिताउने गरी ‘ओभरनाइट स्टे’ प्याकेजको विज्ञापन गरिरहेको र पर्यटक लैजाने गरेको गुनासो प्राप्त भएपछि यस्तो रोक लगाएको हो।

विभागका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को दफा ९(ड२) को व्यवस्था बमोजिम आधार शिविरमा पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक (गाइड), उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारबाहेक अरूलाई बस्न अनुमति छैन।

विभागको पूर्वस्वीकृति बिना यी तोकिएका व्यक्तिहरू बाहेक अन्य जोकोहीलाई आधार शिविरमा राख्न नपाइने कानुनी व्यवस्था रहेको पनि उल्लेख गरेको छ । विभागद्वारा जारी निर्देशनमा भनिएको छ, ‘कोही कसैबाट कानुन विपरीतका कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’

पछिल्लो समय केही एजेन्सीहरूले पर्वतारोहणको अनुमति नभएका सामान्य पर्यटकहरूलाई पनि आधार शिविरमा रात बिताउने सुविधासहितको महँगो प्याकेज बिक्री गर्ने गरेको पाइएको छ। यसले गर्दा आधार शिविरमा भीड बढ्ने र वास्तविक पर्वतारोहीहरूको व्यवस्थापनमा समस्या पर्ने देखिएकाले विभागले यो कदम चालेको हो।

विभागले सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत र सबै ट्रेकिङ एजेन्सीहरूलाई यो नियम पूर्ण रूपमा पालना गराउन निर्देशन दिएको छ। आधार शिविरमा रहेको अस्थायी फिल्ड कार्यालयलाई पनि यसको अनुगमन गर्न बोधार्थ दिइएको छ।