बुध्द एयरले माग्यो नेपाल एयरलाइन्सको ५% सेयर, यस्तो छ निगम सफल बनाउने आधार

2.9k
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ५ प्रतिशत सेयर स्वामित्व मागेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ वैशाखमा वायुसेवा निगमको सुधारका लागि नागरिक स्तरबाट सुझाव मागेको थियो।

मन्त्रालयले निगमलाई रूपान्तरण गर्न सरोकारवालासँग सुझाव मागेकाले बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आफ्नो क्षमता र सोचका आधारमा पर्यटन मन्त्रालयमा सोमबार सुझाव पेस गरेका छन्। बस्नेतले पेस गरेको सुझावमा निगमलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा चलाउनुपर्ने सर्त अगाडि सारिएको छ।

यसका लागि निगममा सरकारले ५१ प्रतिशत मात्रै सेयर राख्ने र निगम नाफा आर्जन गर्न थालेपछि सरकारको हिस्सा २५ प्रतिशतमा सीमित गरी बाँकी २६ प्रतिशत सर्वसाधारणलाई बिक्री गर्न सुझाव दिइएको छ।

रणनीतिक संस्थालाई २० प्रतिशत सेयर दिने र यस्तो सेयरका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको र ‘इक्रा’बाट ‘ए’ रेटिङ भएका ४ वटा संस्था मात्रै समावेश गर्नुपर्ने सुझाव बस्नेतको छ। यस्ता चारवटा संस्थामध्ये ५ प्रतिशतका दरले एउटा संस्थाको प्रतिनिधित्व गर्दै निगममा लगानी गर्न आफूहरू तयार भएको बस्नेतले उल्लेख गरेका छन्।

बस्नेतले थप २९ प्रतिशत सेयर भने सर्वसाधारण नेपालीलाई दिनुपर्ने उल्लेख गरेका छन्। सर्वसाधारणका लागि सुरुमा २९ प्रतिशत र पछि सरकारले राखेको ५१ प्रतिशतबाट २६ प्रतिशत गरी कुल ५५ प्रतिशत सेयर दिनुपर्ने बस्नेतको सुझाव छ।

बुध्द एयरले निगममा ५ प्रतिशतको लगानी गर्न खोज्नुका प्रमुख ५ आधार औँल्याएको छ। करिब तीन दशकदेखि शून्यबाट सुरु गरी राज्यका नियम कानुनको परिधिमा रहेर (बाइ द बुक) निरन्तर नाफामूलक रूपमा व्यावसायिक विमान सेवा सञ्चालन गरेको अनुभव भएको, केन्द्रीय व्यवस्थापन छनोट, फ्लिट (जहाजहरू) छनोट, व्यावसायिक योजना/रूट योजना तथा प्राविधिक सञ्चालनसम्बन्धी व्यवस्थापकीय निर्णयहरूमा व्यावसायिक मार्गदर्शन तथा नेपाल वायुसेवा निगमको पुनः परीक्षणका साथै प्रारम्भिक मूल्याङ्कन गर्न सक्ने क्षमता भएको कारण उल्लेख गरिएको छ।

बुध्दले नेपाल वायुसेवा निगमले अत्यधिक स्रोतसाधन खर्च गर्ने तर घाटा भोगिरहनुपर्ने विद्यमान नियति व्यवस्थापन साझेदार रहेको पहिलो दिनदेखि नै अन्त्य गर्ने सुनिश्चितता देखाएको छ। साथै, सबै नेपाली साधारण सेयरधनी/लगानीकर्ताको लगानी संरक्षण र जहाजहरूको संख्या (फ्लिट) विस्तार गर्नुपर्ने आधारमा बुध्दले निगममा लगानी गर्न खोजेको उल्लेख छ।

सरकारले जहाजको संख्या बढाउनका लागि लगानी वा पूर्ण प्रत्याभूति प्रदान गर्न सक्ने अवस्था नरहेकाले सार्वजनिक निजी साझेदारी ढाँचाले पर्यटन लगानी तथा वृद्धिका लागि आवश्यक चुस्तता प्रदान गर्ने र जहाजहरू व्यावसायिक क्षमताका आधारमा प्रोजेक्ट फाइनान्सिङबाट भित्र्याउन पनि बुध्द एयरले लगानी गर्न खोजेको जनाइएको छ।

बुध्द एयरका बस्नेतले निगमका लागि एयरबसको ३६९ यात्रु क्षमताको ३५०–१००० जहाज आवश्यक पर्ने र यो जहाज अन्तर्राष्ट्रिय बजारमा हाल १८ करोड डलर पर्ने उल्लेख गरेका छन्। यी जहाज जम्मा १० प्रतिशत मात्रै रकम जम्मा गरेर प्रोजेक्ट फाइनान्सका आधारमा अन्तर्राष्ट्रिय लिजिङ कम्पनीहरूबाट १५ वर्षसम्म मासिक किस्ता तिर्ने गरी लिनुपर्ने पनि उल्लेख छ।

ठूला जहाजले मात्रै निगम लामो दूरीमा जान सक्ने र सस्तो भाडादरका कारण लाभ लिन सक्ने बुझाइ बस्नेतको छ। निगमले सरकारी जमानतबाट स्वदेशी ऋण लिएर जहाज सञ्चालन गर्न नसक्ने भएकाले प्रोजेक्ट फाइनान्सबाट जहाज लिएर वार्षिक ५ वटा वाइडबडी थप गर्दै जाने लक्ष्य लिनुपर्ने पनि उनको सुझाव छ।

सरकारले वार्षिक ५ लाख पर्यटक बढाउँदै जाने र १० वर्षमा ५० लाख पुर्‍याउने लक्ष्य अगाडि सार्नुपर्छ। यसका लागि पर्यटकीय सेवा र सुविधामा सुधार गर्दै जाने, हाल होटलहरूमा उपलब्ध जम्मा ६२ हजार शय्यामा थप ७५ हजार शय्या थप गर्नुपर्ने हुन्छ।

नेपालमा वार्षिक ५० लाख पर्यटक भित्र्याउन वार्षिक ५ करोड रात्रिकालीन शय्या आवश्यक हुने र यसका लागि एक दशकमा २ अर्ब अमेरिकी डलर लगानी हुनुपर्ने आवश्यकता पनि बस्नेतले औँल्याएका छन्।

नेपालले वार्षिक ५० लाख पर्यटकको लक्ष्य लिँदा ५० लाखले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारी पाउने अवस्था सिर्जना हुन्छ। यो लक्ष्य राखेर पर्यटक भित्र्याउँदा कृषि उत्पादन पनि बढाउँदै जानुपर्छ। ५० लाख पर्यटकका लागि वार्षिक थप ६८ हजार ८५० मेट्रिक टन खाद्यवस्तु उत्पादन गर्नुपर्ने हुँदा कृषिमा समेत रोजगारी सिर्जना हुने दाबी बस्नेतको छ।