ट्रम्पको बोलीको ठेगान नभएकाले युद्धविराम भंग हुने खतरा


एजेन्सी । शुक्रबार हर्मुज जलयोजक छोटो समयका लागि पुनः खुल्नुले अमेरिका–इरान तनावमा एउटा ठूलो उपलब्धिका रूपमा संकेत गरेको थियो ।

त्यसपछि तेलको मूल्य स्वाट्टै घट्यो, बजारहरू उकासिए र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दबाबको रणनीतिले काम गरिरहेको भन्दै आत्मविश्वास व्यक्त गरे ।

तर, केही घण्टामै त्यो दृश्य बदलिन थाल्यो । इरानले आफ्नो बाटो बदल्यो, जलयोजक फेरि बन्द गर्यो र वार्ताको अवस्थाबारे अमेरिकी दाबीहरूको सीधा खण्डन गर्यो ।

यसपछि एउटा गहिरो प्रश्न उब्जिएको छ । के ट्रम्पले एक महत्त्वपूर्ण क्षणमा इरानमाथिको आफ्नो पकडलाई गलत बुझे र यसो गरेर राम्ररी अगाडि बढिरहेको देखिएको वार्तालाई पछाडि धकेले ?

जलयोजक खुलेलगत्तै ट्रम्पले यस घटनालाई इरान दबाबमा झुकेको प्रमाणका रूपमा प्रस्तुत गरे । ट्रम्पले सार्वजनिक रूपमा इरानले प्रभावकारी रूपमा ती शर्तहरू स्वीकार गरेको संकेत गरे जसले यो महत्त्वपूर्ण जलमार्गलाई खुला राख्ने र वार्तालाई अगाडि बढाउने थियो ।

ट्रम्पको शैली र आशयले इरानले हार स्वीकारेको संकेत गर्थ्यो । इरान जलयोजक खोल्न मात्र नभई अमेरिकी नाकाबन्दी जारी राख्न र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो युरेनियम अमेरिकालाई बुझाउन पनि सहमत भएको ट्रम्पको प्रेस र सामाजिक सञ्जालका विजयी भावका बयानहरूले संकेत गरेका थिए ।

तर, ट्रम्पको यो संस्करण चाँडै वास्तविकतासँग बाझियो । इरानी अधिकारीहरूले कुनै पनि पुनः खोल्ने प्रक्रिया सशर्त र उल्टाउन सकिने खालको भएको, विशेषगरी अमेरिकी नाकाबन्दी यथावत रहेमा, दृढतापूर्वक बताए ।

ट्रम्पले वार्ता अगाडि बढिरहेको बताए पनि इरानका कदमहरू विपरित दिशातर्फ केन्द्रित थिए । त्यसको परिणामस्वरूप जलयोजक फेरि बन्द भयो र समुद्रमा तनाव बढ्यो । ट्रम्पको बयान र धरातलीय वास्तविकताबीचको अन्तरलाई बेवास्ता गर्न कठिन भयो । इरानले आफ्नो युरेनियम कतै पनि नपठाउने कुरा पनि स्पष्ट पार्यो ।

यस घटनाको केन्द्रमा प्रभावको सम्भावित गलत मूल्यांकन रहेको छ । ट्रम्पको अडान यस धारणामा आधारित थियो कि आर्थिक र सैन्य दबाबले इरानलाई यस्तो बिन्दुमा पुर्याएको छ जहाँ उसले द्वन्द्वबाट बच्नका लागि चुपचाप सबै शर्तहरू मान्नेछ । ट्रम्पको दृष्टिकोण नाकाबन्दी जारी राख्ने र इरानबाट निरन्तर सहयोगको अपेक्षा गर्नेमा केन्द्रित थियो ।

इरानको प्रतिक्रियाले भने फरक हिसाबकिताब देखायो । प्रतिबन्धहरू पुनः लागू गरेर र आफ्नो आक्रामक व्यवहार बढाएर इरानले विश्वव्यापी ऊर्जा प्रवाहमा अवरोध पुर्याउने क्षमता र इच्छाशक्ति दुवै आफूसँग सुरक्षित रहेको देखायो ।

इरानले यो स्पष्ट गर्यो कि ट्रम्पले कुरालाई बढाइचढाइ गरिरहेका छन् र इरान सजिलै दब्ने पक्ष होइन । ट्रम्पका दाबीहरूमा इरानको जवाफले के स्पष्ट ग¥यो भने जलयोजक खोल्नु ट्रम्पले प्राप्त गरेको कुनै सम्झौता नभई इरानले सहमति जनाएको एक रणनीतिक विराम मात्र थियो जसलाई उसले चाहेको बेला उल्टाउन सक्थ्यो ।

स्ट्य्राटेजिक एनालिसिस अस्ट्रेलियाका माइकल शुब्रिजले अल जजीरासँग कुरा गर्दै ट्रम्पको अडान र वार्तामा आएको अवरोधबीच सीधा सम्बन्ध रहेको बताए । ‘पहिलो ट्यांकरहरू जलयोजकबाट आएको देख्दा विश्वभर यसलाई सकारात्मक रूपमा लिइएको थियो । तर, अमेरिकाले इरानी ढुवानीमाथिको नाकाबन्दी नहटाएको कारण इरानले फेरि जलयोजक बन्द गर्नु एक ठूलो धक्का हो,’ शुब्रिजले भने, ‘यहाँ समस्या के छ भने राष्ट्रपति ट्रम्पले कुरालाई धेरै बढाइचढाइ गरे किनभने उनी आफूलाई विजेताका रूपमा प्रस्तुत गर्न मरिहत्ते गरिरहेका छन् ।’

‘हामीले ट्रम्पबाट सुन्यौं कि सम्झौता धेरै नजिक छ । तर, उनीहरू सुरुवाती बिन्दुमा समेत पुग्न सक्दैनन्, जुन युद्धविरामका शर्तहरू लागू हुनु हो, भने त्यो पत्याउन धेरै गाह्रो हुनेछ । अमेरिकाले यहाँ आफ्नो अडान फेरि परिवर्तन गर्नुपर्ने हुन सक्छ,’ उनले भने ।

शुब्रिजको मूल्यांकनले धेरैले व्यक्त गरेको व्यापक चिन्तालाई समेट्छ । अमेरिकाले इरानबाट आएका प्रारम्भिक संकेतहरूलाई ठोस प्रतिबद्धताको रूपमा लिएको हुन सक्छ जसले गर्दा उसको आफ्नै वार्ताको स्थितिलाई कमजोर बनायो ।

यसको परिणाम अहिले जारी कूटनीतिको शैलीमा देख्न सकिन्छ । इरानका पछिल्ला बयानहरूले संकेत गर्छन् कि उसले नयाँ अमेरिकी प्रस्तावहरूको समीक्षा गरिरहेको भए पनि उसको अडान नरम हुनुको सट्टा झन् कठोर भएको छ । आफ्ना पछिल्ला बयानहरूमा इरानी अधिकारीहरूले सानोभन्दा सानो सम्झौता, पछाडि हट्ने वा उदारता नहुने कुरामा जोड दिएका छन् । यस अडानले घटेको विश्वास र कम लचकतालाई संकेत गर्छ ।

यो पहिलेको त्यो क्षणभन्दा ठ्याक्कै विपरीत छ जतिबेला जलयोजक पुनः खोल्दा दुवै पक्ष तनाव कम गर्ने दिशामा अघि बढिरहेका छन् भन्ने एक क्षणिक प्रभाव सिर्जना भएको थियो । इरानले यसलाई बिना उक्साहटको तनाव वृद्धिको सट्टा अमेरिकी नाकाबन्दीको निरन्तरताको सीधा प्रतिक्रियाको रूपमा व्याख्या गर्दै जलयोजक पुनः बन्द गरेको छ । वास्तवमा यी कदमहरूको श्रृंखलाले स्थितिलाई सतर्क आशावादबाट फेरि टकरावतर्फ धकेलेको छ ।

यस घटनालाई विशेष महत्त्वपूर्ण बनाउने कुरा रणनीतिक फेरबदल मात्र नभई यसलाई आकार दिने धारणाको भूमिका पनि हो । इरान आफ्ना अधिकतम शर्तहरूमा सहमत भएको कुरा प्रक्षेपण गरेर ट्रम्पले आफूलाई कूटनीतिक रूपमा अप्ठ्यारोमा पार्ने जोखिम मोलेका छन् ।

इरानको खण्डनपछि त्यस्ता दाबीहरूबाट पछि हट्नु राजनीतिक रूपमा महँगो साबित भयो तर इरानका विपरीत कदमहरूका बीच ती दाबीहरूमा अडिग रहनुले विश्वसनीयता गुम्ने जोखिम थियो ।

यसको परिणाम यस्तो स्थिति बनेको छ जहाँ जलयोजकको छोटो समयको खुलापन अघिको तुलनामा दुवै पक्ष अझ टाढा देखिएका छन् । इरानले नयाँ संकल्प र स्वायत्तता देखाएको छ जबकि अमेरिकाले या त इरानको दृष्टिकोण अनुसार आफ्नो पद्धति समायोजन गर्ने वा सैन्य कारबाहीमा फर्कने दबाबको सामना गरिरहेको छ । त्यस्तो दबाब पहिले नै परीक्षण भइसकेको छ र प्रभावकारी देखिएको छैन ।

हर्मुज जलयोजक खुल्ने र तुरुन्तै बन्द हुने द्रुत परिवर्तनले ट्रम्पको रणनीतिको केन्द्रमा रहेको स्पष्ट गलत मूल्यांकनलाई उजागर गरेको छ । ठोस रूपमा सुरक्षित नभएको प्रगतिलाई आफ्नो सफलताको रूपमा दाबी गरेर ट्रम्पले जुन प्रभाव देखाउन खोजेका थिए त्यसैलाई कमजोर बनाएका हुन सक्छन् ।

अब वार्ताहरू फेरि शून्यमा झर्ने जोखिम बढ्दै जाँदा इरानले दबाब दिएर लाभ लिनका लागि ट्रम्पको संकल्पलाई पनि परीक्षण गरिरहेको छ ।