मन्त्री प्रतिभा रावलको सम्पत्तिः बुढानीलकण्ठमा ७ करोडको जग्गा, २५ तोला सुन र ५५ लाखको गाडी

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आफ्नो चल–अचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आर्थिक वर्ष २०८२र०८३ का लागि पेश गरिएको विवरण अनुसार मन्त्री रावलको नाममा काठमाडौं र बारामा जग्गा, बहुमूल्य सुन तथा गाडी रहेको देखिएको छ ।

मन्त्री रावलले सार्वजनिक गरेको विवरण अनुसार उखको नाममा काठमाडौंको महँगो क्षेत्रमा जग्गा रहेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ (चपली) मा ५ आना जग्गा रहेको छ, जसको खरिद मूल्य ७ करोड रुपैयाँ उल्लेख गरिएको छ । यो जग्गा श्रीमानको आयबाट खरिद गरिएको विवरणमा खुलाइएको छ ।

बाराको कोल्हबीमा १७ धुर जग्गा रहेको छ, जसको खरिद मूल्य ५ लाख रुपैयाँ रहेको छ । यो पनि श्रीमानकै आयबाट खरिद गरिएको हो ।

मन्त्री रावलसँग बहुमूल्य धातु र विभिन्न बैंकमा उल्लेख्य मौज्दात रहेको छ । उनीसँग रहेको २५ तोला सुन २०७० सालदेखि २०८२ सालको अवधिमा स्वआर्जन र परिवारबाट उपहार स्वरूप प्राप्त भएको उल्लेख छ ।

तीनवटा बैंकमा गरी उनको करिब २४ लाख ७८ हजार ७ सय ६० रुपैयाँ मौज्दात छ । जसमा एभरेष्ट बैंकमा २० लाख ९कर्जाको०, नबिल बैंकमा ३ लाख र ग्लोबल आईएमई बैंकमा १ लाख ७८ हजार ७ सय ६० रुपैयाँ रहेको छ । यो सबै रकमको स्रोत श्रीमानको आयलाई मानिएको छ ।

विभिन्न कम्पनीको आईपीओमार्फत मन्त्री रावलले १ लाख रुपैयाँ बराबरको साधारण सेयरमा लगानी गरेकी छन् ।
मन्त्री रावल र प्रेम बहादुर अर्यालको संयुक्त नाममा एउटा गाडी रहेको छ । ५५ लाख रुपैयाँ खरिद मूल्य परेको एमजीको कार २०८२ साल जेठमा श्रीमानको आयबाट खरिद गरिएको विवरणमा उल्लेख छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थायी ठेगाना भएकी मन्त्री रावल हाल काठमाडौंको बालुवाटारमा बस्दै आएकी छन् । उनको अधिकांश सम्पत्तिको स्रोतमा श्रीमानको आय र केहीमा स्वआर्जन उल्लेख गरिएको छ ।