
एजेन्सी । अमेरिकी सेनाले आइतबार इरानबाट खसालिएको एफ–१५ विमानका एक वरिष्ठ चालक दलका अधिकारीलाई उद्धार गर्दै देशको इतिहासकै सबैभन्दा साहसी खोज तथा उद्धार अभियानमध्ये एक सम्पन्न गरेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शत्रुको इलाकाभित्र फसेका एक अमेरिकी कर्नलको उद्धार शीर्ष सैन्य नेतृत्वको घण्टौंको वास्तविक समयको ट्य्राकिङ, समन्वय र उच्च जोखिमपूर्ण योजनाको परिणाम भएको बताए ।
ट्रम्पले उद्धार अभियान कसरी सञ्चालन भयो भन्ने विषयमा विस्तृत विवरण दिए ।
उद्धार अभियान इरानको भित्री भागको विकट पहाडी इलाकामा फसेका अमेरिकी कर्नलको निरन्तर ट्य्राकिङबाट सुरु भएको थियो । त्यहाँ शत्रु सेना उनी नजिकै आइपुगेका थिए ।
वरिष्ठ सैन्य अधिकारीहरूले चौबीसै घण्टा उनको चालचलनको निगरानी गरे, खतराहरूको मूल्यांकन गरे र कारबाहीका लागि उपयुक्त समय पहिचान गरे । स्थिति झन् जटिल बन्दै गएपछि शत्रुको इलाकाभित्रैबाट उच्च जोखिमपूर्ण उद्धारका लागि योजनाहरूलाई अन्तिम रूप दिइयो ।
‘यी साहसी योद्धा इरानको खतरनाक पहाडहरूमा शत्रुको घेराभित्र थिए जहाँ हाम्रा शत्रुहरूले उनलाई खोजिरहेका थिए र उनीहरू समयसँगै झन् नजिकिँदै थिए । तर, उनी कहिल्यै एक्लो थिएनन् किनभने उनका कमान्डर–इन–चीफ, रक्षा सचिव, जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष र सहयोद्धाहरूले २४ सै घण्टा उनको स्थानको निगरानी गरिरहेका थिए र उनको उद्धारका लागि लगनशीलताका साथ योजना बनाइरहेका थिए,’ अमेरिकी राष्ट्रपतिले भने ।
ट्रम्पको निर्देशनमा हवाई क्षेत्र सुरक्षित गर्न र अभियानलाई सहयोग गर्न उन्नत हतियारले सुसज्जित दर्जनौं अमेरिकी विमानहरू तैनाथ गरिएका थिए ।
कडा सुरक्षाका बीच उद्धार टोलीहरू अघि बढे र विकट स्थानमा रहेका अधिकारीको स्थानसम्म पुगेर उनको चोटपटकको प्राथमिक उपचार गरी उनलाई तुरुन्तै त्यहाँबाट निकाले । खतरनाक परिस्थितिहरूको बाबजुद कुनै पनि अमेरिकी हताहती बिना यो अभियान सम्पन्न भयो जसले यो एक दुर्लभ र जटिल अपरेशनलाई सटीकता र गतिमा सम्पन्न भएको प्रमाणित गर्याे ।
‘मेरो निर्देशनमा अमेरिकी सेनाले उनलाई फिर्ता ल्याउन विश्वकै सबैभन्दा घातक हतियारले सुसज्जित दर्जनौं विमानहरू पठाएको थियो । उनी घाइते भएका छन् तर उनी चाँडै निको हुनेछन्,’ ट्रम्पले जानकारी दिए ।
उनले शनिबार उद्धार गरिएका अर्का पाइलटको बारेमा पनि थप पुष्टि गरे ।
‘यो चमत्कारपूर्ण खोज तथा उद्धार अभियान हिजो अर्को एक साहसी पाइलटको सफल उद्धारको निरन्तरता हो जसको पुष्टि हामीले हिजो गरेका थिएनौं किनभने हामी हाम्रो दोस्रो उद्धार अभियानलाई जोखिममा पार्न चाहँदैनथ्यौं,’ उनले भने ।
दुवै अभियानमा कुनै पनि अमेरिकी सैनिक मारिएको वा घाइते नभएको कुरामा जोड दिँदै उनले मिसनहरूले इरानी आकाशमा अमेरिकी हवाई प्रभुत्व प्रदर्शन गरेको र कुनै पनि योद्धालाई शत्रुको कब्जामा नछोड्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताए ।
‘कुनै पनि अमेरिकी नागरिकको ज्यान नगई वा कोही पनि घाइते नभई यी दुवै अभियानहरू सम्पन्न गर्न सक्नुले के प्रमाणित भएको छ भने हामीले इरानी आकाशमा पूर्ण हवाई प्रभुत्व र श्रेष्ठता हासिल गरेका छौं । यो यस्तो क्षण हो जसमा रिपब्लिकन, डेमोक्रेट र सम्पूर्ण अमेरिकीहरूले गर्व गर्नुपर्छ र एकजुट हुनुपर्छ । हामीसँग साँच्चै विश्वकै इतिहासमा सबैभन्दा उत्कृष्ट, व्यावसायिक र घातक सेना छ,’ उनले भने ।









प्रतिक्रिया