
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन्।
महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा आफ्नो तीन वर्षे कार्यकाल पूरा हुन लाग्दा बस्नेतले आफ्नो कार्यकाललाई फलदायी भएको बताएका हुन्। २०८० जेठमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई यस समितिको सभापतिमा चयन गरेका थिए।
आफ्नो कार्यकालमा बस्नेतले पर्यटन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय, मन्त्रालय र विभागहरूसँग निरन्तर पैरवी गरे। विशेषगरी होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिलाउन उनले खेलेको भूमिका महत्त्वपूर्ण रह्यो।
अघिल्लो सरकारले होटललाई उद्योगको मान्यता दिने निर्णय गरिसकेकाले अब त्यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ। यसका साथै उनले हवाई टिकटमा लगाइएको भ्याट पुनरावलोकन र पर्यटन ऐन संशोधन जस्ता विषयमा समेत आवाज उठाएका थिए।
बस्नेतले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र नेपाली आकाशलाई ईयूको कालोसूचीबाट हटाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै आएका छन्। पर्यटन बोर्डमार्फत विश्व बजारमा नेपालको ब्रान्डिङ गर्दा निजी क्षेत्रलाई पनि सँगै लैजानुपर्ने उनको धारणा छ।
आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने अध्यक्ष ढकालसहित उपसभापतिहरू अच्युत शर्मा गुरागाईँ, निलहरी बाँस्तोला र अन्य सदस्य तथा सल्लाहकारहरूलाई उनले धन्यवाद दिएका छन्। आगामी दिनमा पनि निजी क्षेत्रको विस्तारका लागि निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता बस्नेतले व्यक्त गरेका छन्।








प्रतिक्रिया