हवाई भाडा बढ्दै

868
Shares

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्ने भएको छ । नेपाल आयल निगम ले बुधबार बिहानदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले वृद्धि गरेको छ।

भारतबाट हवाई इन्धनको मूल्य प्रतिलिटर १२३ रुपैयाँ ८० पैसा बढेर आएको भन्दै निगमले साविकको १२७ रुपैयाँ प्रतिलिटरको मूल्यलाई बुधबारदेखि बढाएर २५१ रुपैयाँ पुर्‍याएको छ ।

हवाई इन्धनको मूल्यमा एकैपटक १२४ रुपैयाँ वृद्धि भएकाले वायुसेवा कम्पनीहरूले समेत हवाई भाडासँगै लिने इन्धन शुल्क (फ्युल सरचार्ज) बढाउने भएका छन् । वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य बढ्दा शुल्क बढ्ने र घट्दा घट्ने स्वचालित विधि अवलम्बन गर्दै आएका छन् ।

पश्चिम एसियामा जारी तनावका कारण अन्तर्राष्ट्रिय स्तरमा इन्धनको मूल्य बढेकाले भारतले नेपाललाई पनि मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगम ले भारतबाट मूल्य बढेर आउँदा बढाउने र घट्दा घटाउने स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।

निगमले उपभोक्तालाई थप मार नपरोस् भनेर बुधबार पेट्रोलमा ४१ रुपैयाँ ६० पैसा, डिजेलमा ९४ रुपैयाँ ९३ पैसा र एलपी ग्यासमा १९० रुपैयाँ ३६ पैसा मूल्य बढेर आएको भए तापनि साविककै मूल्य कायम राखेको छ ।

अन्य पेट्रोलियम पदार्थको मूल्य नबढाउँदा निगमलाई १५ दिनमै १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने भए पनि तत्कालका लागि हवाई इन्धनको मात्र भाउ बढाइएको निगमले जानकारी दिएको छ ।

Skip This