
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । महासंघको ६० औँ साधारण सभाको सन्दर्भमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत रूपमा गर्नुपर्नेमा जोड दिएका छन् । आफू पनि विगतमा विभिन्न पदहरूमा सर्वसम्मत निर्वाचित भएको स्मरण गर्दै उनले अहिले प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको जानकारी दिएका छन् ।
आफ्नो कार्यकालका उपलब्धिहरूको चर्चा गर्दै ढकालले प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान (निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन योजना) लाई ठूलो सफलताका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।
आगामी निर्वाचनका उम्मेदवारहरूलाई सुझाव दिँदै उनले अर्काको आलोचना गर्नुभन्दा आफ्ना एजेण्डा र क्षमता प्रस्तुत गरेर भोट माग्न आग्रह गरेका छन् । नेतृत्वमा पुग्नका लागि इमानदार प्रयास र पवित्र भावना हुनुपर्ने भन्दै उनले कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । कुनै ठूलो व्यावसायिक पृष्ठभूमि नभए पनि कडा मिहिनेत र इमानदारिताकै कारण आफू महासंघको उच्च नेतृत्वमा पुग्न सफल भएको उनले बताएका छन् ।
अध्यक्ष ढकालले भने, ‘एउटा प्रदेशमा सर्वसम्मत नेतृत्वको घोषणा हुन मात्र बाँकी छ, यो सकारात्मक सन्देश सबै प्रदेश र केन्द्रमा पनि पुग्नुपर्छ । हामी निजी क्षेत्रका मान्छेहरू एक भएर सर्वसम्मत रूपमा अगाडि बढ्नुपर्छ भन्ने अहिलेको मुख्य सन्देश हो ।’
निजी क्षेत्रको महत्त्वबारे प्रष्ट पार्दै उनले यो क्षेत्र केवल नाफा कमाउने समूह मात्र नभई ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने र जीडीपीमा ८०–८१ प्रतिशत योगदान पुर्याउने मुख्य राजश्व संकलनकर्ता भएको उल्लेख गरेका छन् । उनले अब शिक्षण संस्थाहरू जस्तै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि ‘सुरक्षित क्षेत्र’ का रूपमा हेरिनुपर्ने र सोही अनुसार दृष्टिकोणमा परिवर्तन आउनुपर्ने माग गरेका छन् ।
अध्यक्ष ढकालले महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अगाडि बढ्न सबै पदाधिकारी र सदस्यहरूलाई आग्रह समेत गरेका छन् । उनले आगामी दिनमा पनि निजी क्षेत्रका समस्याहरूको पैरवी गर्न र व्यावसायिक गतिविधि विस्तारमा महासंघ सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया