
काठमाडौं। एक महिनादेखि जारी पश्चिम एसियाको तनावले नेपालमा उडान-अवतरण गर्ने दैनिक तालिकामा रहेका ८ वटा वायुसेवाका ५४० वटा उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार दैनिक ५ देखि ८ वटासम्म उडान र अवतरण रद्द भइरहेका छन् । यी वायुसेवाले गर्ने २७० उडान र त्यति नै सङ्ख्याका अवतरण पश्चिम एसिया तनावका कारण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार सुरुका दिनमा एउटा वायुसेवाका तीन-चार वटासम्म उडान र त्यति नै सङ्ख्यामा अवतरण रद्द भइरहेका थिए । पछिल्लो समय भने उडान हुन नसक्ने भएपछि सम्बन्धित वायुसेवाले उडान नै कटौती गरेका छन् । अहिले ५ वटा वायुसेवाले मात्रै पश्चिम एसिया क्षेत्रमा उडान गर्ने गरेकाले ती वायुसेवाका दैनिक १० वटा उडान-अवतरण रद्द भइरहेका छन् ।
पछिल्लो एक महिनादेखि लगातार उडान रद्द भइरहेका वायुसेवामा नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स छन् । नेपाल एयरलाइन्सको दैनिक काठमाडौं–दोहा, दमाम र दुबईमा हुने उडान र अवतरण रद्द भइरहेको छ । हिमालय एयरलाइन्सको पनि काठमाडौँबाट हुने दोहा र दमामका उडान रद्द भएको विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा आउने जजिरा एयरवेज, कुवेत एयरवेज र फ्लाई दुबईको पनि नियमित उडान रद्द भइरहेको छ । नेपालमा भएको उडान र अवतरण रद्दले कम्तीमा एक लाख यात्रु प्रभावित भएको विमानस्थल कार्यालयको अनुमान छ ।
पश्चिम एसियामा चर्किएको द्वन्द्वको बाछिटाले नेपालको पर्यटन क्षेत्रमा गम्भीर सङ्कट निम्त्याउन सक्ने पर्यटन व्यवसायीको भनाइ छ । पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पर्यटक आगमन ३५ प्रतिशतसम्म घटेको अनुमान नेपाल पर्यटन बोर्डको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव तथा नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य राजेन्द्र लामाले पर्यटन आगमनमा सिजनमै देखिएको नकारात्मक असरले ठुलो क्षति पुग्ने अवस्था आएको बताए ।
उनका अनुसार विगत एक महिनादेखिको तनावले नेपालको हवाई लाइफलाइन मानिने मध्यपूर्वको रुट लगभग अवरुद्ध जस्तै भएको छ ।
लामाले भने, ‘नेपाल आउने धेरैजसो पर्यटकहरू मध्यपूर्वका ट्रान्जिट भएर आउने गर्छन्, तर द्वन्द्वका कारण यो रुट अहिले असुरक्षित छ ।’
एनएमएका महासचिव लामाका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटकहरूका लागि नेपाल आउन अहिले निकै कठिन र महँगो परेको छ । पछिल्लो समय टर्किस एयरलाइन्स र दिल्लीको बाटो प्रयोग गरेर केही पर्यटक ल्याउने प्रयास भइरहेको भए पनि त्यो पर्याप्त नभएको उनको बुझाइ छ ।
लामाका अनुसार यसको प्रत्यक्ष असर पर्यटकको सङ्ख्याबाटै यही मार्च महिनामै देखिने भएको छ । उनले भने, ‘हाम्रो विश्लेषण अनुसार अघिल्लो वर्ष यसै सिजनमा १ लाखभन्दा बढी पर्यटक आएका थिए, तर अहिले आगमन ७० हजारमा खुम्चिएको छ । यो ३५ प्रतिशतको गिरावटले तत्कालको व्यवसाय मात्र होइन, दीर्घकालीन पर्यटन विकासमै गहिरो असर पार्ने देखिएको छ ।’
यस सिजनमा पर्वतारोहणका लागि आउने पर्यटकहरूले लामो समयअघि नै योजना बनाएको र प्रायोजक (स्पोन्सरसिप) हुने भएकाले उनीहरू महँगो भाडा र रिरुटिङ गरेर भए पनि आइरहेका छन् । तर, ट्रेकिङ र सामान्य भ्रमणमा आउनेहरूले भने ठुलो सङ्ख्यामा बुकिङ रद्द गरिरहेका छन् । एनएमएको परमिट सङ्ख्यामा पनि यो वर्ष २५ प्रतिशतसम्म कमी आउने लामाको प्रक्षेपण छ ।
पर्यटन क्षेत्रमा देखिएको यो सङ्कटले विदेशी वायुसेवाले धमाधम उडान कटौती गरिरहेका छन्, जसको असर नेपालको उड्डयन अर्थतन्त्रमा परिरहेको छ ।
पर्यटन क्षेत्रको भविष्य सुरक्षित राख्ने हो भने नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नभएको पनि लामाले जोड दिए । सामान्य अवस्था हुँदा र अहिलेको पश्चिम एसियाको विकल्पमा निगमले उडान गर्न नपाउनु जहाज अभावकै कारण हो ।
पर्यटन बोर्डका सदस्यसमेत रहेका लामाका अनुसार नेपालमा हुने उडानका लागि विदेशी एयरलाइन्सले व्यापार मात्र हेर्छन्, समस्या पर्नेबित्तिकै उनीहरू उडान बन्द गर्छन् । यसका लागि हाम्रा आफ्नै पर्याप्त जहाज भए मात्र जस्तोसुकै परिस्थितिमा पनि पर्यटक ल्याउन सकिन्छ । सरकारले राष्ट्रिय ध्वजावाहकमा तत्काल जहाज थपेर यसको व्यवस्थापन सुधार्नुपर्ने बुझाइ पनि पर्यटन व्यवसायीको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपालको सन्देशसमेत सकारात्मक रूपमा प्रवाह हुन सकेको छैन । यो अवस्थामा प्रधानमन्त्री वा पर्यटन मन्त्रीको तहबाटै नेपाल पूर्णतः सुरक्षित छ भन्ने आधिकारिक धारणा (स्टेटमेन्ट) विश्वभर सम्प्रेषण गर्न जरुरी भएको नेपालका पर्यटन व्यवसायीको बुझाइ छ ।
पर्यटन आगमन बढाउन शुल्क मिनाहा र छिमेकी मुलुकको भिसा भएका पर्यटकलाई विशेष सहुलियत दिने जस्ता कूटनीतिक चलाखी पनि अहिलेको बेला आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन् । भिसा नीतिमा लचकता र झन्झटमुक्त रोयल्टी प्रणाली लागू भए मात्र नेपालको पर्यटन फेरि पुरानै लयमा फर्काउन सकिने विश्वास व्यवसायीको छ ।








प्रतिक्रिया