
काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको अभियोगमा पक्राउ परेकी छन् ।
केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा उनी मुछिएकी थिइन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ ।
यसअघि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएको थियो ।
प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
२०८१ माघ २९ मा शर्माविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पीडितसँग माफी मागेका थिए ।
नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी शर्मालाई कानुनी कारबाही हुनुपर्ने बालेनले तत्कालिन समयमा माग गरेका थिए ।
तर, सरकारी वकिल कार्यालयले यो विषमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन् ।
‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, बालेनले फेसबुकमा भनेका थिए, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’








प्रतिक्रिया