
काठमाडाैं । पर्यटनमा नयाँ युगको सुरुवात गर्ने कार्ययोजना सरकारले ल्याएकाे छ । सरकारले वेलनेस पर्यटन प्रवर्द्धन वर्ष घोषणा गर्नै नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रुपमा चिनाउने भएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यका साथ सरकारले आगामी १५ दिनभित्र विशेष रणनीति जारी गर्ने भएको छ।
यसका साथै पूर्वीय दर्शन, ध्यान, योग र प्राकृतिक चिकित्सालाई समेटेर ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने घोषणा गरेको छ। नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा सो प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने र आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाइने कार्यसूचीमा उल्लेख छ।
नेपाल सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई आधुनिक, सुरक्षित र आकर्षक बनाउने विशेष कार्ययोजना कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को गत १३ चैतमा बसेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा पर्यटन प्रवर्द्धन, हवाई सेवाको सरलीकरण र पूर्वाधार विकासका लागि महत्वपूर्ण समयसीमा निर्धारण गरिएको छ।
सरकारले १०० दिनभित्र सम्पन्न गर्ने गरी ल्याएको कार्ययोजनामा नयाँ पदमार्गहरूको खोजी र विस्तारलाई प्राथमिकता दिएको छ। ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई मूल प्रवाहमा ल्याउन एक महिनाभित्र सम्भाव्यता अध्ययन गरी कार्यान्वयन योग्य खाका प्रस्तुत गरिने उल्लेख छ।
यस अन्तर्गत कोशी नदी आसपास (उदयपुर), रामारोशन (अछाम), बडिमालिका (बाजुरा), अपी हिमाल र दोर्दी हिमाल ट्रेकिङ रुटलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ।
पर्यटक सुरक्षा र यातायात सुधारमा पनि सरकारले ठोस निर्णय गरेको छ। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक यातायातका साधनमा सीसीटीभी र ड्याशक्याम जडान अनिवार्य गर्ने भएको छ।
राइड-सेयरिङ एपहरूमा ३० दिनभित्र एसओएस बटन अनिवार्य गरी आकस्मिक खतराको सूचना सिधै प्रहरीसम्म पुग्ने व्यवस्था मिलाउने उल्लेख छ । यसबाट विदेशी तथा स्वदेशी पर्यटकको यात्रा थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
लगानी र पूर्वाधारका क्षेत्रमा सहुलियत दिने गरी सरकारले कार्ययोजना अगाडि सारेको छ। पर्यटन क्षेत्रमा निजी लगानी भित्र्याउन एकल विन्दु सेवा केन्द्र लाई थप प्रभावकारी बनाइनेछ भने साना तथा मझौला पर्यटन उद्योगको सुरक्षा र प्रवर्द्धनका लागि निजी क्षेत्र संरक्षण रणनीति’ तत्काल लागू गरिनेछ।
पर्यटनसँग सम्बन्धित ठूला आयोजनाहरूको ‘फास्ट ट्रयाक’ कार्यान्वयनका लागि मुआब्जा वितरण र रुख कटान जस्ता जटिल कानुनी प्रक्रियालाई सरलीकृत गरिने पनि सरकारको योजना छ।
सरकारको यो कदमले नेपालको पर्यटन क्षेत्रमा विविधीकरण ल्याउनुका साथै हवाई र सडक यात्रालाई प्रविधिमैत्री बनाएर आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।








प्रतिक्रिया