‘शी हु रिमेन्स’: परम्पराको जाँतोमा पिसिएकी महिलाको कारुणिक कथा


संसारमा महिला भएर बाँच्नु कठिन छ । पितृसत्तात्मक समाजका कठोर बन्धनहरूको दायरामा बसेर जीवनयापन गर्न लगभग सबै देशका महिलाले संघर्ष गर्नुपरेको छ । त्यसमाथि प्रतिगामी कानुनले सञ्चालित समाजमा महिलाले धेरै प्रकारका बलिदान दिनुपर्ने हुन्छ ।

बुल्गेरियाकी लेखिका रेने काराबाशको काव्यात्मक उपन्यास ‘शी हु रिमेन्स’ महिलाको त्यही पीडालाई दर्शाउने कृति हो । इजिडोरा एन्जलले अंग्रेजीमा अनुवाद गरेको यस उपन्यासले पाठकलाई अल्बानियाको दुर्गम पहाड र त्यहाँको कठोर सामाजिक कानुनको अँध्यारो सुरुङभित्र लैजान्छ । पितृसत्ता, लैंगिक पहिचान र अस्तित्वको रक्षाका लागि एउटी महिलाले चुकाउनुपरेको मूल्यको कथा यसले बताउँछ ।

यस उपन्यासको केन्द्रमा अल्बानियाको प्राचीन कानुन र त्यहाँ प्रचलित ‘स्वोर्न भर्जिन’ वा ‘ओस्तायिनिका’ को परम्परा छ । यस परम्परा अनुसार, एउटी महिलाले आजीवन अविवाहित रहने र पुरुषको रूपमा बाँच्ने शपथ लिनुपर्छ जसको बदलामा उसलाई समाजले पुरुष सरहको अधिकार र स्वतन्त्रता प्रदान गर्छ ।

त्यसोभए यो स्वतन्त्रता स्वेच्छाले रोजिएको हो कि बाध्यताले ? काराबाशले यही प्रश्नको वरिपरि उपन्यासको कथा बुनेकी छन् ।
कथाकी नायिका बेकिया हुन् जो स्वोर्न भर्जिनको शपथ लिएपछि माटिया बन्छिन् । उत्तर अल्बानियाको कट्टर पितृसत्तात्मक परिवारमा जन्मिएकी बेकियाका पिता मुराश छोरो जन्मियोस् भनी कामना गर्थे । बेकिया जन्मिँदा उनले खुशी मनाउन सकेनन् । पछि बेकियाका भाइ साले जन्मिए तर उनी पिताले सोचे जस्तो पौरुष भएनन् । सालेलाई नाच्न मन पर्थ्यो । उक्त समाजका सामान्य पुरुषको जस्तो बन्दुक र हिंसामा उनलाई रुचि थिएन ।

बेकियालाई जबर्जस्ती छिमेकी नेमान्जासँग विवाह गराउन खोजेपछि कथामा नाटकीय मोड आउँछ । विवाहको केही दिनअघि गाउँको एक पागल मानिने व्यक्ति कुकाबाट बेकिया बलात्कृत हुन्छिन् । कानुनअनुसार, अब उनी ‘पवित्र’ रहिनन् र विवाहको रात उनको शुद्धता नपाइएमा उनलाई उनकै श्रीमान् वा बाबुले मार्नुपर्ने हुन्थ्यो ।

आफ्नो ज्यान बचाउन र परिवारको इज्जत जोगाउन बेकियाले ‘स्वोर्न भर्जिन’ बन्ने शपथ लिन्छिन् । उनले आफ्नो स्त्रीत्वलाई त्याग्छिन्, कपाल काट्छिन्, पुरुषको लुगा लगाउँछिन् र नाम परिवर्तन गरेर माटिया राख्छिन् ।

तर, उनको यस निर्णयले एउटा ठूलो सामाजिक द्वन्द्व निम्त्याउँछ । विवाह रद्द हुनु भनेको बेहुला पक्षको अपमान हुनु थियो जसको बदला लिन नेमान्जाको परिवारले बेकियाको परिवारका एक पुरुष सदस्यलाई मार्नुपर्ने हुन्थ्यो । बेकियाले आफ्नो ज्यान जोगाउन लिएको शपथले अन्ततः उनका भाइ सालेलाई मृत्युको मुखमा पुर्याउँछ । साले ज्यान जोगाउन बुल्गेरिया भाग्छन् र वर्षौंसम्म दिदी–भाइबीचको सम्बन्ध चिठीमा सीमित हुन्छ ।

यस उपन्यासको सबैभन्दा बलियो पक्ष यसले चित्रण गरेको दमनकारी ‘कानुन’ हो । यस कानुनले मानिसलाई बाँच्ने आधार मात्र दिँदैन, मानिसको मृत्युको बाटो पनि तय गरिदिन्छ । कसरी एउटा प्राचीन परम्पराले मानिसको व्यक्तिगत इच्छा र प्रेमलाई निमोठ्छ भनी काराबाशले उपन्यासमा देखाएकी छन् ।

बेकियाका पिता मुराश आफैंमा एउटा दुःखी पात्र हुन् । उनलाई आफ्नो सन्तानको खुसीभन्दा बढी समाजको ‘इज्जत’ र ‘पौरुष’ को चिन्ता छ । उनी आफ्नो छोरो सालेलाई ‘कमजोर’ देख्छन् र बेकियालाई ‘पुरुष जस्तो’ बनाउन खोज्छन् ।

उपन्यासमा मुराशले बनाइरहेको ‘डभकोट’ (ढुकुरको खोर) एउटा बलियो प्रतीक हो । जसरी उनी ढुकुरहरूलाई खोरमा थुनेर उड्न दिँदैनन्, त्यसरी नै उनले आफ्ना छोराछोरीलाई परम्पराको खोरमा थुनेका छन् ।

‘शी हु रिमेन्स’ ले लैंगिक पहिचानको विषयलाई धेरै गहिराइमा पुगेर केलाएको छ । बेकियाबाट माटिया बन्ने प्रक्रिया लुगा फेर्नु मात्र होइन । यो त एउटा पहिचानको हत्या गरेर अर्को पहिचान आफूमाथि थोपर्ने काम हो । उपन्यासको एउटा मार्मिक वाक्य छ- ‘सोह्र वर्षअघि मैले बेकियालाई मारें, आज म माटियालाई मार्छु ।’

माटिया भएर बाँच्दा पनि बेकियाभित्रको स्त्रीत्व पूर्ण रूपमा नमरेको काराबाशले देखाउन खोजेकी छन् । समाजले कसैको बाहिरी रूप र भूमिका बदल्न सक्छ तर उसको भित्री आवेग र सत्यलाई बदल्न सक्दैन भन्ने तथ्यलाई माटियाकी बाल्यकालकी साथी धानासँगको उनको प्रेम र शारीरिक आकर्षणले पुष्टि गर्छ । माटियाको रूपमा बाँच्नु बेकियाका लागि स्वतन्त्रता नभई कारागार हो ।

उपन्यासको संरचनामा चिट्ठीहरूको ठूलो महत्त्व छ । सालेले माटियालाई बुल्गेरियाबाट लेखेका चिट्ठीहरूले कथाको अतीत र वर्तमानलाई जोड्छन् । साले एउटा यस्तो पात्र हुन् जो अल्बानियाको हिंस्रक परम्परालाई अस्वीकार गरेर भाग्न सफल भए । उनले चिठीमा आफ्नी दिदीलाई भन्छन्, ‘जसरी तिमीले स्वोर्न भर्जिन बन्ने निर्णयमा पछुतो मानेकी छैनौ, त्यसरी नै म भागेकोमा पछुतो मान्दिनँ ।’

सालेका चिट्ठीहरूमा क्षमा, आक्रोश र सत्यको खोजी छ । उनले बेकियालाई प्रश्न गर्छन्, ‘ किन उनले सालेलाई मृत्युदण्डको रूपमा त्यो कालो पट्टी बाँधिदिइन् ?’ यो उपन्यासको एउटा महत्त्वपूर्ण मनोवैज्ञानिक पाटो हो जहाँ दिदी र भाइले एकअर्कालाई बुझ्ने प्रयास गरेको देखाइएको छ ।

उपन्यासको उत्तरार्धमा एउटा ठूलो खुलासा हुन्छ । माटियाको पेटमा वर्षौंदेखि एउटा ट्युमर जस्तो मासुको डल्लो थियो जसले उनलाई निरन्तर पीडा दिइरहेको थियो । पछि अस्पतालमा शल्यक्रिया गर्दा थाहा हुन्छ त्यो त उनकै जुम्ल्याहा भाइको अवशेष थियो जसलाई उनले आमाको गर्भमै हुँदा आफूमा समाहित गरेकी थिइन् ।

यो ‘फिटस इन फिटु’ (भ्रूणभित्र भ्रूण) को प्रसंग निकै प्रतीकात्मक छ । मुराशलाई छोरो चाहिएको थियो तर उनको ‘छोरो’ त बेकियाको शरीरभित्रै मृत अवस्थामा वर्षौंदेखि थियो भन्ने कुरा उनले थाहा पाएनन् ।

यस प्रसंगले बेकियाको अपराधबोधलाई झन् गहिरो बनाउँछ । उनले अस्वैच्छिक रूपमा गर्भमै आफ्नो एउटा भाइलाई मारिन् र बाहिरको संसारमा आफ्नो अर्को भाइ सालेको जीवन पनि बर्बाद गरिन् । यसले कथालाई नयाँ मनोवैज्ञानिक र अस्तित्ववादी मोड दिन्छ ।

काराबाशको लेखन शैली काव्यिक छ । उनले लामा–लामा वाक्यहरूको साटो साना, प्रभावशाली र बिम्बात्मक वाक्यहरू प्रयोग गरेकी छन् । गद्य भन्दा पनि पद्यको आभास ती वाक्यहरूले दिन्छन् । उपन्यासमा प्रयोग गरिएका बिम्बहरू जस्तै रगत लतपतिएको ढुंगा, चिसो हावा, ढुकुरको पखेटा र आमाको लुगाले पाठकको मनमा अमिट छाप छोड्छन् ।

अनुवादक इजिडोरा एन्जेलले अल्बानियाली र बुल्गेरियाली परिवेशको कठोरतालाई अंग्रेजीमा निकै कुशलताका साथ उतारेकी छन् । भाषामा एउटा खास प्रकारको ‘ट्रमा’ र ‘मौनता’ महसुस हुन्छ र त्यो नै यस उपन्यासको आत्मा हो ।

‘शी हु रिमेन्स’ ले पाठकलाई एउटा यस्तो संसारमा पुर्याउँछ जहाँ प्रेमलाई ‘मृत्यु’ र स्वतन्त्रतालाई ‘शपथ’ सँग साटिन्छ । यसले पाठकलाई प्रश्न सोध्न बाध्य बनाउँछ: परम्पराहरू मानिसको नियमनका लागि हुन् कि स्वतन्त्रतालाई निमोठ्ने साधन हुन् ?
उपन्यासको अन्त्यतिर बेकिया/माटिया र धानाको मिलनले केही आशा जगाउँछ । धानाको प्रेम र क्षमाले बेकियालाई आफ्नो अस्तित्व स्वीकार गर्न मद्दत गर्छ । ‘तिमी महिला भएर जन्मिनुमा तिम्रो कुनै दोष छैन’ भन्ने धानाको वाक्यले हजारौं वर्षको पितृसत्तात्मक बोझलाई एकै झट्कामा उतारिदिन्छ ।

यो उपन्यास अल्बानियाको कथा मात्र होइन । यो विश्वभरि जहाँसुकै पनि महिलामाथि हुने दमन, लैंगिक विभेद र पहिचानको संकटको विश्वव्यापी कथा हो ।

रेने काराबाशले अल्बानियाको एउटा सानो गाउँको कथाबाट मानव सभ्यताको ठूलो र कुरूप पाटोलाई उजागर गरेकी छन् । सरल तर गहिरो, काव्यिक तर यथार्थपरक यो उपन्यास समकालीन विश्व साहित्यको महत्त्वपूर्ण उपलब्धि हो ।

पहिचानको खोज, सामाजिक बन्धन र मानवीय संवेदनाका जटिलता बुझ्न चाहने पाठकका लागि ‘शी हु रिमेन्स’ उत्तम रोजाइ हुन सक्छ । यस पुस्तकले पाठकलाई लामो समयसम्म झकझकाइरहनेछ ।